ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक सुधारमा विश्व बैंकको रू. ५४ अर्ब

२०७७ जेठ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालका सडक सुधार र सडक सुरक्षाका लागि विकास साझेदार विश्व बैंकले रू. ५४ अर्ब २८ करोड (४५० मिलियन अमेरिकी डलर) ऋण सहायता स्वीकृत गरेको छ । विश्व बैंकले कोरोना भाइरस (कोभिड—१९) पछि आर्थिक सुधारमा क्रश बोर्डर व्यापार, थप रोजगारी र यसमा विशेष गरी महिला सहभागिता एवम् सडक सुरक्षालाई सघाउने भन्दै उक्त ऋण सहायता स्वीकृत गरेको हो । उक्त रकम नेपालका रणनीतिक सडक नागढुंगा–नौबीसे–मुग्लिन र कमला–ढल्केवर–पथलैया सडकमा खर्च हुनेछ ।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले ६ वर्षका लागि यो ऋण सहायता प्राप्त भएको जानकारी दिए । उक्त रकम विभिन्न चारओटा प्याकेजमा रहेका कार्यक्रममा प्रयोग हुने उनको भनाइ छ । पहिलो प्याकेज नागढुंगा, दोस्रो कमला, तेस्रो राष्ट्रिय राजमार्गमा ओभर ले गर्ने र चौथोमा सडक सुरक्षाका विषयमा यो रकम खर्च हुनेछ ।

सडक विभागले अहिले ९६ किलोमीटर (किमी)को नागढुंगा–नौबीसे–मुग्लिन सडकखण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाइसकेको छ । डीपीआरअनुसार यो खण्डमा हालको सडकलाई सुधार गरी चार लेनमा विस्तार गर्ने र २२ ओटा नयाँ पुल बनाइनेछ । यसका लागि रू. १० अर्ब लगानी हुुने प्रारम्भिक आकलन गरिएको छ । पहिलो चरणमा उक्त ऋणबाट यो सडक बन्नेछ ।

यो सडकमा पर्ने नौबीसे, मुग्लिनजस्ता शहरी क्षेत्रमा चार लेनको सडक बनाइनेछ भने भित्ता काट्दा नबिग्रने स्थानमा एक लेन थप्ने र कृष्णभीर, जोगीमाराजस्ता संवेदनशील भूभाग रहेका स्थानमा अहिलेकै सडक लेन कायम गरिनेछ । उनका अनुसार यो खण्डमा बन्ने पुलहरूको संरचनालाई मिलाएर दूरी पनि छोटो गरिनेछ ।

१३० किमीको कमला सडक पनि चार लेनमा स्तरोन्नति गरिनेछ । यो सडक अहिले २ लेनको छ । यो खण्डको डीपीआर बनाउन अझै डेढ वर्ष लाग्ने पनि थापाले जानकारी दिए । यस सडकमा पनि ७६ ओटा नयाँ पुल बनाइनेछ ।

तेस्रो प्याकेजमा १८ सय किमी सडकलाई ओभर ले गरिनेछ । यो राजमार्गहरूमा मात्रै प्रयोग हुनेछ । सुरक्षित सडक नहुँदा दुर्घटना बढेकाले यसलाई न्यूनीकरण गर्न पूmटपाथ, सडक मार्किङका साथै ओभरहेड ब्रिज र राजमार्गहरूमा फलामे ब्यारियरहरू पनि यही लगानीबाट बनाइनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)