ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमका १० हजार किसानलाई व्यावसायिक तालीम

२०७७ जेठ, ३२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिमका १० हजार किसानलाई व्यावसायिक तालीम प्रदान गरिएको प्रदेश सरकारले बताएको छ । ‘एक घर एक : तालीमप्राप्त व्यक्ति कार्यक्रम’ अन्तर्गत किसानलाई व्यावसायिक तालीम प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत व्यावसायिक उत्पादनको विधि, बजार र कृषि क्षेत्रले सृजना गर्न सक्ने रोजगारी लगायत विषयमा किसानलाई व्यावसायिक तालीम प्रदान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बताएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट उत्पादनमूलक र नतीजामुखी नभएको आरोप लाग्दै आएकोमा प्रदेश सरकारले भने सो आरोपको खण्डन गर्दै आएको छ । प्रदेश सरकारले सिँचाइ कार्यक्रम अन्तर्गत १२३ ओटा योजनाको निर्माण सम्पन्न गरेर १०० हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यक्रम अन्तर्गत १७ योजनाको निर्माण पूरा गरेर ३ हजार ३०० नागरिक लाभान्वित भएको उनले बताए ।

आफ्नो मन्त्रालय अन्तर्गत रहेको प्रदेशको ९ ओटै जिल्लामा एक÷एकओटा प्रदेश गौरवका सडक समपूरक अनुदान अन्तर्गत १२ तथा प्रदेश अन्तर्गत २२ ओटा सडकको बहुवर्षीय ठेक्का सम्झौता गरिएको छ भने चारओटा सडक र पुल तथा सातओटा झोलुंगे पुल निर्माण सम्पन्न भएर हस्तान्तरण समेत गरिसकिएको उनले जानकारी गराए । मन्त्रालयका अनुसार कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा प्रस्तावित प्रदेशको स्थायी राजधानी निर्माणका लागि प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश २०७६ बमोजिम राजधानी पूर्वाधार विकास परियोजनाका लागि जग्गा प्राप्तिलगायत काम अघि बढाइएको छ ।

प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र निर्माणका लागि विषयगत मन्त्रालयबाट योजनाको खाका प्राप्त गरी मस्यौदा तर्जुमा भइरहेको बताएको छ । साथै आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रैथाने, घर पालुवा पशुपन्छीको आनुवंशिक स्रोतको पहिचान र संरक्षणका लागि कैलाली र कञ्चनपुरमा रैथाने कुखुरा फार्म स्थापना गरेको छ भने सरकारी–निजी साझेदारी अवधारणा अनुसार डोटी र डँडेलधुरामा भैंसी स्रोत केन्द्र स्थापना गरिएको मन्त्रालयका प्रवक्ता एवम् वरिष्ठ वागवानी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए । मुख्यमन्त्री एकीकृत विकास कार्यक्रम अन्तर्गत कैलाली, कन्चनपुर र डोटीमा सर्वेक्षणको काम शुरू गरिएको उनले बताए । हाल प्रदेशभर गरी १६५ विद्यालय, कलेज र छात्रावास भवनको समेत निर्माण भइरहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)