ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि कर्ममा छैन लकडाउन

२०७७ जेठ, ३२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका शस्तवीर आलेलाई ब्याडमा राखेको बीउ काढ्न भ्याइनभ्याई छ । छेउ कै ठूलो खोलाबाट सिंचाइका लागि नहरमार्फत ल्याइएको पानीले खेतका गह्रा भरिएका छन् । दुई हल गोरुले खेत जोतेर हिल्याइसक्यो । रोपाहार तयार भएर बसेका छन् । उनीहरूलाई बीउ पुर्‍याउन आलेसहित ३ जना महिलाले पनि बीउ काढिरहेका छन् ।

देशभर कोरोना महामारीबाट बच्न लागू गरिएको लकडाउन (बन्दाबन्दी) को शनिवार ८१ दिन पुगेको छ । बन्दाबन्दीका कारण अन्य दैनिकीमा प्रभाव परे पनि उपल्लो म्याग्दीका किसान यतिबेला धान रोप्ने चटारोमा छन् । आकाशे पानीको भर पर्नु नपर्ने खेतमा धमाधम रोपाइँ भइरहेको छ । कोही आली मिलाउँदै त कोही ब्याड गोड्दै छन् । कृषि कर्ममा बन्दाबन्दीको कुनै प्रभाव देखिएको छैन । म्याग्दीका बेनी नगरपालिका सहित ६ ओटै स्थानीय तहको उपल्लो क्षेत्रमा यतिबेला धमाधम रोपाइँ शुरू भएको छ । समयमा नै पानी परेकाले खेतमा पानीको कुनै समस्या छैन । बुधवार ज्यामरुककोटको विमिराबोटमा खेत हिल्याउँदै गरेका नारायण शर्माले यस वर्ष पानीको अभाव नहुँदा रोपाइँ सजिलो भएको बताए ।

नियमित वर्षा र पानीको सुविधा भएपछि रोपाइँ गर्न थालेको किसानहरूले बताएका छन् । ‘कोरोनाको डर भएपनि भौतिक दूरी र स्वास्थ्य सतर्कता अपनाएर रोपाइँं गर्न थालेका छौं,’ बरञ्जाका रेशम रोकाले भने, ‘छिमेकमा अर्मपर्म गरेर रोपाइँ गरेका छौं । पानी परिरहेकाले सजिलो भएको छ ।’ बगरफाँट, रत्नेचौर सिंगा, अर्मनको छिसवाङ, पिपलबोट, खोप्टी, पिपलबोट, सेराफाँट, पुलाचौर म्याग्दीमा धेरै धान खेती हुने ठाउँ हुन् । गहुँखेती लगाएको र हिउँदे बाली नलगाएको खेतमा यहाँ जेठको अन्तिम साताबाट रोपाइँ गरिन्छ ।

उपल्लो म्याग्दीका अधिकांश स्थानमा सामाजिक दूरी कायम गर्दै किसानहरू धान रोपाइँमा व्यस्त रहेका स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । मालिका गाउँपालिका–५ देवीस्थानका वडाअध्यक्ष पिपला बुढाले रोपाइँको समय भएकाले सामाजिक दूरी कायम गरेर किसानहरूले काम गरिरहेको बताइन् ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष धान रोपाइँ गर्न निकै सहज भएको किसानहरूको भनाइ छ । लामो बन्दाबन्दीका कारण शहरबजार र घरबाट बाहिर रहेका व्यक्तिहरू पनि गाउँमा फर्किएकाले कृषि मजदुरका लागि कुनै समस्या नभएको ज्यामरुककोटका किसान ज्ञान सापकोटाले बताए । उनले भने, ‘यस वर्ष खेताला र पानीको अभाव नहुँदा सजिलैसँग रोपाइँ भइरहेको छ ।’ विगतका वर्षमा मजदुरको अभावका कारण बाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । अध्ययन, रोजगारी र व्यापार व्यावसायका लागि शहरी क्षेत्रमा गएकाहरू लकडाउनपछि गाउँ फर्किएका छन् ।

पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगका साथै किसानहरूले परम्परागत प्रविधिको भरपुर प्रयोग गरिरहेका छन् । खेत जोत्नका लागि मिनिटिलर वा ट्याक्टर प्रयोग गरिए पनि हलगोरु नारेर रोपाइँ गर्नुको मज्जा नै बेग्लै हुने युवा किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांक अनुसार जिल्लाभर ३ हजार ८९२ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । म्याग्दीमा गौरीया, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे , अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायत उन्नत जातका धानखेती हुने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा वार्षिक ४ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)