ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत अनुमोदन

पारित भयो नयाँ नक्सा समेटेको निशान छाप, राष्ट्रियताका पक्षमा सबै राजनीतिक दल एक ठाउँमा, अब भारतसँग वार्ता हुने प्रधानमन्त्री ओलीको भनाइ

२०७७ जेठ, ३२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौ । प्रतिनिधिसभाले नेपालको  संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको छ । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि शनिवार संविधान संशोधनका लागि भएको मतदानमा संशोधन विधेयकको पक्षमा प्रतिनिधिसभामा उपस्थित सबै २५८ सांसदको मत खसेको थियो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी भएपछि सरकारको निशान छापमा यो नक्सालाई समावेश गर्न संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा संसद्मा रहेका सबै राजनीतिक दलबीच अभूतपूर्व एकता देखियो ।

सत्तारूढ दलका अतिरिक्त प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दल संशोधनको पक्षमा उभिँदा दुई तिहाइ बहुमतले संशोधन विधेयक पारित भएको हो ।

‘संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८, हुन्न भन्ने पक्षमा शून्य र दिन्न भन्ने पक्षमा शून्य मत रहकाले २७५ सदस्यीय संसद्मा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतले पारित भएको’ प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

संसद्मा सहभागी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन् । उनले राखेको संशोधन प्रस्ताव सभामुख सापकोटाले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधिसभाको बैठकबाटै बाहिरिएकी थिइन् ।

भारतले विवादित कालापानी क्षेत्रमा सडक उद्घाटन गरेपछि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो । नयाँ नक्सालाई निशान छापभित्रको नक्सामा राख्न सविधान सशोधन विधेयक जेठ ९ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो । अब राष्ट्रिय सभाबाट पनि यो पारित भएर राष्ट्रपतिबाट लालमोहर लागेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।

संविधान संशोधन विधेयक पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादका विषयमा भारतसँग वार्ता अघि बढ्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताउनुभएको हो । ‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो कुरा हो । केही साथी अनुपस्थित हुनु बेग्लै कुरा हो

विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ, उहाँले भन्नुभयो, ‘अब छिट्टै वार्ता हुनेछ ।’ भारतले गतवर्ष आप्mनो नयाँ नक्सा जारी गर्दा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको भूभागलाई समेत आफ्नो नक्सामा समेटेको थियो । 

गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको कालापानी, लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेपछि त्यसको चर्को विरोध नेपालमा भयो । त्यसलगत्तै नेपाल सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट थमाएको थियो । नेपालले सीमा विवादका बारेमा वार्ता गर्न राखेको प्रस्ताव भारतले कोरोना महामारीको कारण देखाउँदै टार्दै आएको थियो । यद्यपि यही समयमा भारतले चीनसँग सीमा विवादका बारेमा वार्ता गरेको छ ।

राष्ट्रियताको पक्षमा अभूतपूर्व एकता
आन्तरिक मुद्दामा असहमति भए पनि संसद्मा रहेका सबै दलले राष्ट्रियतको पक्षमा शनिवार एकता देखाए । विधेयकमाथिको दफावार छलफलमा बोल्ने सबै शीर्ष नेता संशोधनको पक्षमा देखिए ।

सत्तारूढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक एकतालाई सुदृढ गर्ने समय आएको उल्लेख गर्दै नेपालको स्वाधीनता र राष्ट्रियताका सवालमा सबै दल एक भएको बताए । ‘राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको छ,’ उनले भने । भारतलाई अप्ठ्यारोमा पार्न यो विधेयक नल्याएको बताउँदै दाहालले नेपाली जनताको भावनालाई बुझ्न भारतलाई आग्रहसमेत गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक तथ्यका आधारमा काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको बताउँदै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको बताए । कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनको पक्षमा पूर्ण समर्थन गर्ने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानका बारेमा आफूहरूका केही असहमति रहे पनि राष्ट्रियताको सवालमा आफूहरू एकै ठाउँमा रहेको बताए । उनले मधेशीहरूलाई सधैं राष्ट्रियताको सवालमा प्रश्न उठाउने गरेको गुनासो गर्दै सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात भएको बताए । सुगौली सन्धिअनुसार महाकाली पश्चिमको भूमि भारतको भने पनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख गरिएकाले महाकाली सन्धि गर्नेहरूले माफी माग्नुपर्ने जिकीर गरे ।

जनता समाजवादीकै अर्का नेता राजेन्द्र महतोले पनि राष्ट्रियताको सवालमा मधेशी जनतामाथि सधैं प्रश्न उठाउने गरे पनि वास्तविक सीमारक्षक मधेशी जनता भएको बताए । उनले नक्साले मात्रै गुमेको भूमि फिर्ता नआउने भएकाले अविलम्ब भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिए । महतोले संविधानका कतिपय विषयमा आफ्ना असहमति जारी रहे पनि राष्ट्रियताको सवालमा समाजवादी पार्टी संसद्मा संविधान संशोधनको पक्षमा रहेको बताए ।

अबको बाटो कूटनीतिक वार्ता
परराष्ट्रविद्हरूले अब सरकारले भारतसँग सीमा विवाद सुल्झाउन वार्ता अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्वराजदूत एवम् परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठले प्रतिनिधिसभाबाट संविधान संशोधन विधयेक पारित भएकाले अब तत्काल राजनीतिक, कूटनीतिक र आवश्यक परे सैन्य कूटनीति प्रयोग गरेर भए पनि सीमा फिर्ता लिनुपर्ने बताए ।

उनले नेपाल दुवै छिमेकीको सुरक्षा स्वार्थमा प्रयोग नहुने कुरा स्पष्ट पार्दै अब भारतलाई प्रमाणका आधारमा नेपाली भूमि छोडेर जाने वातावरण सृजना गर्नुपर्ने प्रतिक्रिया दिए । त्यस्तै भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि शान्त कूटनीतिको माध्यमबाट भारतलाई वार्तामा बसालेर कालापानी क्षेत्रबाट बर्हिगमन गराउनुपर्ने बताए । ‘हामीले दुवै देशको राष्ट्रिय सुरक्षा चासोमा आफ्नो भूमि प्रयोग गर्न नदिने कुरामा आश्वस्त पार्दै वार्ताका माध्यमबाट समस्या समाधानको उपाय खोज्नुपर्छ,’ उनले भने ।

समझदारीको उल्लङ्घन : भारत
नेपालको संविधान संशोधनले सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लंघन भएको प्रतिक्रिया भारतले दिएको छ । प्रतिनिधिसभाले दुई तिहाइबाट संविधान संशोधन गरेपछि भारतीय विदेश मन्त्रालयका तर्फबाट आएको प्रतिक्रियामा भारतले शनिवार गरिएको संविधान संशोधनप्रति असहमति व्यक्त गरेको छ ।

‘नेपालको संसद्ले भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लंघन भएको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘कृत्रिम तरीकाले भूभागको विस्तार ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले उक्त नक्सा मान्य नभएको’ समेत भारतले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)