जेठ ३२ पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका ८ जनाको शव फेला परेको छ । एकजना अझै बेपत्ता छन् । गएराती ८ बजे भीषण वर्षासँगै आएको पहिरोमा पुरिएको दुई घरका ९ जनामध्ये अहिलेसम्म ५८ वर्षीय तुलबहादुर थापा, ५७ वर्षीया मीनाकुमारी थापा, ३४ वर्षीया दिर्पा थापा, १४ वर्षीय विवेक थापा, ४ वर्षीय विविसा थापा र ११ वर्षीय सम्राट, ३० वर्षीया कमला विक र उनकी छोरी ८ वर्षीय जेनिसा विकको पनि शव भेटिएको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका कमला विकका १२ वर्षीय छोरा जेनिस विकको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । पहिरोमा बेपत्ता भएका ३ जनाको हिजो बेलुका नै शव फेला परेको थियो भने विहान बाट खोजी गर्दै जाँदा अहिलेसम्म थप ५ जनाको शव फेला पारिएको रेग्मीले बताए । वेपत्ताको खोजीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, नेपाली सेना सहित स्थानीय जुटिरहेका छन् ।
घरभन्दा १ किलोमिटर माथिबाट आएको लेदो पहिरोले दुई पुर्नाका साथै ५ ओटा घरमा क्षति पुर्याएको छ । पहिरोले करीब २०ओटा घर जोखिममा रहेको कुश्मा नगरपालिकाका नगरप्रमुख जोशीले बताए । घटनाका कारण सिंगो गाउँ शोकमग्न छ ।