ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकी बीमाशुल्क असार १५ गतेभित्र तिर्नुपर्ने

२०७७ असार, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा समितिले बन्दाबन्दीको अवधिमा तिर्न बाँकी रहेको जीवन बीमाशुल्क आगामी असार १५ गतेभित्र उठाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । समितिले आइतवार एक परिपत्र जारी गर्दै तोकिएको अवधिमा विनाब्याज बाँकी रहेको बीमाशुल्क उठाउन कम्पनीहरूलाई निर्देशन दिएको हो ।

बीमितले १५ गतेपछि बीमाशुल्क तिर्दा भने तोकिएको मात्रामा ब्याज लाग्ने व्यवस्था गरिएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ गतदेखि बन्दाबन्दी लगाएयता समितिले पटकपटक परिपत्र जारी गर्दै बन्दाबन्दी अवधिमा तिर्नुपर्ने जीवन बीमाशुल्कको किस्ता अन्तिम पटक जेठ मसान्तसम्म तिर्न सकिने बताएको थियो । आइतवार उक्त म्याद पनि सकिएको र बन्दाबन्दी पनि खुकुलो बनाइएकाले समितिले यस्तो निर्णय गरेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब सम्बद्ध बीमितहरूले असार १५ गतेभित्र विनाब्याज बीमाशुल्कको किस्ता तिर्न सक्ने बताए । ‘सरकारले बन्दाबन्दीलाई खुकुलो बनाइसकेको छ भने बीमा कम्पनीहरूलाई पनि दुई सिफ्टमा सञ्चालन गर्न दिने बताएको छ ।

त्यसैले बीमाशुल्क तिर्ने म्याद थप गरेनौं,’ उनले भने, ‘यदि सरकारले फेरि बन्दाबन्दी थप गरेमा हामीले यस विषयमा पुनः उपयुक्त निर्णय गर्न सक्छौं ।’

सरकारले बन्दाबन्दी खुकुलो गर्दै बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूलाई पनि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरेर दुई सिफ्टमा सञ्चालन गर्न दिने निर्णय गरेकाले समितिले बीमा कम्पनीहरूलाई सोहीअनुसार नै आफ्नो कार्यालय सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

समितिले बन्दाबन्दीमा तलब सुविधासहित कर्मचारीले लिएको बिदालाई सार्वजनिक बिदाका रूपमा कायम गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ । सरकारले गत वैशाख १५ गते राजपत्रमा एक सूचना जारी गर्दै त्यस्तो बिदालाई सार्वजनिक बिदाका रूपमा कायम गर्ने बताएको थियो । बीमा कम्पनीहरूले पनि सोहीबमोजिम कर्मचारीको बिदा व्यवस्थापन गर्नुपर्ने समितिको निर्देशन छ ।

समितिले अर्काे परिपत्र जारी गर्दै अबका दिनमा सञ्चालनमा नआउने सवारीसाधनको विषयमा गाडी धनीले कम्पनीलाई पूर्व जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । समितिले यसअघि एक परिपत्र जारी गर्दै बन्दाबन्दीमा थन्किएर बसेका गाडीलाई वार्षिक बीमाशुल्कको दुई तिहाइ रकमबाट समानुपातिक रूपमा छूट दिने घोषणा गरेको थियो । कम्पनीले वार्षिक बीमाशुल्कको २ तिहाइ रकमलाई ३६५ भाग गरेर १ दिनको बीमाशुल्क गणना गर्नुपर्नेछ । सोही १ दिनको बीमाशुल्क लकडाउन भएको दिनको आधारमा सम्बद्ध सवारीधनीले बीमाशुल्कमा छूट पाउनेछन् । उक्त सुविधा पाउन सवारी धनीले कम्पनीमा अग्रिम रूपमा जानकारी दिनुपर्ने परिपत्रमा उल्लेख छ । बन्दाबन्दी खुकुलो भएसँगै अहिले अधिकांश सवारीसाधन सञ्चालनमा आइसकेका छन् । तर, सार्वजनिक सवारीसाधन भने अझै सञ्चालनमा छैनन् । त्यस्ता गाडीहरूलाई नै लक्षित गरेर यस्तो व्यवस्था गरिएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ । उनले भने, ‘अब त्यस्ता सवारी धनीले आफ्नो गाडी सञ्चालनमा छैन भनेर कम्पनीमा पहिले नै जानकारी गराउनुपर्ने छ । त्यसपछि मात्रा उनीहरूले यो सुविधा पाउनेछन् ।’ आगामी दिनमा सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै सुविधा पनि ल्याउन सकिने समितिले बताएको छ । ‘सरकारले आगामी आवको बजेटमार्फत सार्वजनिक यातायात क्षेत्रका लागि पनि सहुलियत दिने बताएको छ । हामीले पनि निकट भविष्यमा सोहीअनुसार आवश्यक सहुलियत ल्याउन सक्छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

achyut

[Jun 27, 2020 06:14am]

yesti ho bhnye bima garne manxye parti bitrisna aauxaa ..



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)