ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रमा कोरोनाको असर : ६ प्रतिशत घट्यो विप्रेषण आप्रवाह

२०७७ असार, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेपालको अर्थतन्त्रको मुख्य आधार मानिएको विप्रेषण आप्रवाह ओरालो लाग्न थालेको छ । चालू आर्थिक वर्षको ९ महीना (जेठ मसान्तसम्म)मा विप्रेषण आप्रवाह ४ प्रतिशत घटेको हो । गत वैशाखमा ६ दशमलव १ प्रतिशत घटेको थियो । तर, जेठमा भने चैत र वैशाखको दाँजोमा विप्रेषण आय बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको मासिक प्रतिवेदन अनुसार उक्त अवधिमा रू. ६ खर्ब ८० अर्ब ८४ करोड विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशत बढेको थियो । विदेशी मुद्रामा विप्रेषण आप्रवाह पनि खुम्चिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशलव ४ प्रतिशत घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९ दशमलव ३ प्रतिशत बढेको थियो ।

तथ्यांक अनुसार चैतसम्म रू. ६ खर्ब २६ अर्ब ९० करोड विप्रेषण नेपाल भित्रिएको थियो । अघिल्लो आवका सो अवधिमा विप्रेषण आप्रवाह करीब २१ प्रतिशत बढेको थियो । तर चालू आर्थिक वर्षको शुरूदेखि कोरोना भाइरसका कारण विप्रेषण आप्रवाह प्रभावित बनेको छ । विश्व बैंकले कोरोना भाइरसका कारण चालू आवमा नेपालको विप्रेषण आप्रवाह १४ प्रतिशत घट्ने अनुमान समेत गरेको छ ।

विशेषगरी कोरोना भाइरसको प्रभावका कारण नै यस अवधिमा विप्रेषण घटेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । उनका अनुसार श्रम गन्तव्य मुलुकमा पनि लकडाउन लगाएकोले त्यसको प्रभाव विप्रेषणमा परेको हो ।

मूल्यवृद्धि ५.८३ प्रतिशत
लकडाउनका कारण खाद्य वस्तुको मूल्य भने ठूलो अन्तरले बढेको छैन । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेकोले समग्रमा वैशाखमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५ दशमलव ८३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ५ दशमलव २९ प्रतिशत थियो । तथ्यांक अनुसार समीक्षा महीनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ८ दशमलव ६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६७ प्रतिशत छ ।

निर्यातमा ४.५ प्रतिशत वृद्धि, आयात ह्वात्तै घट्यो
पछिल्ला २ महनीामा लकडाउनले कारोबारमा प्रभाव परेपछि आयातको तुलनामा निर्यातमा न्यून सुधार भएको छ । आर्थिक वर्ष २०७६/७७ को १० महीनामा कुल वस्तु निर्यात ४ दशमलव ५ प्रतिशत बढेर रू. ८२ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८ दशमलव ९ प्रतिशत बढेको थियो । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एमएस पाइप लगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुस लगायत वस्तुको निर्यात घटेको छ । लकडाउनले आयात १३ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७६/७७ को १० महीनामा कुल वस्तु आयात १३.० प्रतिशत घटेर रू. १० खर्ब २५ अर्ब १४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव ६ प्रतिशत बढेको थियो ।

१०.८ महीना आयात धान्ने विदेशी विनिमय सञ्चिति
कोरोना महामारी तथा लकडाउनले गर्दा आयात घटेपछि विदेशी विनिमय धेरै खर्च हुन पाएको छैन । यसकारण आर्थिक वर्ष २०७६/७७ को १ महीनासम्मको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ दशमलव २ महीनाको वस्तु आयात र १० दशमलव ८ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ । तथ्यांकअनुसार २०७६ असार मसान्तमा रू. १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव ९ प्रतिशत बढेर २०७७ वैशाख मसान्तमा रू. १२ खर्ब ३५ अर्ब २५ करोड पुगेको छ ।

भ्रमण आयमा १२.४ प्रतिशत कमी
लकडाउनका कारण विदेशी पर्यटक नआउँदा भ्रमण आय मार्फत हुने आम्दानीको वृद्धिदरमा पनि ह्रास आएको छ । चालू आवको समीक्षा अवधिमा खुद सेवा आय रू. ३ अर्ब १३ करोडले घाटामा छ । सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा १२ दशमलव ४ प्रतिशत कमी आएर रू. ५६ अर्ब ६२ करोड कायम भएको छ ।

शोधनान्तर स्थिति १२० अर्ब बचतमा
गत वैशाखसम्ममा शोधनान्तर स्थिति रू. १ खर्ब २० अर्ब ९० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू. ६८ अर्ब २० करोड घाटामा थियो । तर, समीक्षा अवधिमा चालू खाता घाटा रू. १ खर्ब ५ अर्ब ७४ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रू. २ खर्ब २१ अर्ब ७७ करोड थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)