ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्ट/स्टील उद्योग ४०% क्षमतामा उत्पादन

चुनढुंगा उत्खननमा सरकारको असहयोग

२०७७ असार, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । चैतदेखिको बन्दाबन्दीका कारण उत्पादन ठप्प भएको सिमेन्ट तथा फलामे छड उद्योगहरू केही सातायता ३० देखि ४० प्रतिशत क्षमतामा सञ्चालन हुन थालेका छन् । सरकारले बन्दाबन्दीलाई केही खुकुलो बनाई उद्योग सञ्चालन गर्न दिने रणनीति कार्यान्वयनमा ल्याएसँगै यी उद्योगले उत्पादन गर्न थालेका हुन् । निर्माण सामग्री खपतको याम सिद्धिएको, डिलरहरू खोल्ने सयम अझै अनिश्चित भएको र कारखानामा कामदारको कमीजस्ता समस्या भने यथावत् रहेको उत्पादकहरूले बताएका छन् ।

निर्माण सामग्रीको खपत हुने मुख्य समयमै कोरोना महामारी देखिएको र पछि सरकारले बन्दाबन्दी लागू गरेपछि सिमेन्ट र फलामे छड उत्पादनमा समस्या हुनुका साथै खपत पनि न्यून भएको थियो । यी सामग्री खपतका लागि साउन, भदौ, असोजलाई अफ सिजन मानिन्छ । यद्यपि असार मसान्तसम्ममा परियोजनाका कामहरू अघि बढेमा खपत पनि वृद्धि हुने आशामा व्यवसायीहरू छन् ।

सिमेन्ट तथा फलामे छड उत्पादनसमेत गर्दै आएको सौरभ ग्रूपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले उद्योग खोल्न केही मात्रामा भए पनि सहज वातावरण भएको बताए । उनले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन अझै केही समय लाग्ने भए पनि औसतमा क्षमताको ४० प्रतिशत उत्पादन गर्दै आएको बताए । ‘स्टील पनि यही अनुपातमा उत्पादन भएको छ,’ न्यौपानेले भने, ‘तर, सरकारले सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्दा कर्मचारी तथा श्रमिकहरू आवतजावतमा भने केही समस्या भएको छ ।’

उनले कोरोनाका कारण क्रयशक्ति नै कम हुँदा मागसमेत कम हुने भएकोले यो वर्षभन्दा आगामी वर्षमा यी वस्तुको खपत ७५ प्रतिशत खुम्चिने बताए । भारतबाट आयात गरिने फलामे छडको कच्चा पदार्थ बिलेट आयातमा केही समस्या नभए पनि ढुवानी महँगो भएको व्यवसायीहरूको गुनासो छ ।

सिमेन्टको कच्चा पदार्थ चुनढुंगा नेपालमै पाइने भए पनि उत्खननमा सरकारले रोक लगाएपछि क्लिंकर भारतबाट आयात हुने सम्भावना उच्च रहेको छ । कतिपयले क्लिंकर आयात गर्ने तयारी पनि गरेका छन् ।

अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपानेले पनि उद्योग व्यवसाय सञ्चालन गर्न केही सहज भएको बताए । ‘बन्दाबन्दीको २ महीनासम्म उत्पादन नै ठप्प भयो,’ उनले भने, ‘१५ दिनयता मात्रै यी निर्माण सामग्री उत्पादन शुरू गर्न थालिएको छ, अहिले चलेको जस्तो मात्र देखिएको छ ।’ बजारमा चहलपहल नहुँदा विक्री वितरण हुन नपाएको उनले बताए । अफ सिजन शुरू भएको र ठूला आयोजनाहरूको काम पनि रोकिएको अवस्थामा खपत पनि कम भएको उनको भनाइ छ । उनले अहिले कारखानामा ३०/४० प्रतिशत मात्रै कामदार रहेकाले उत्पादन ह्वात्तै वृद्धि नहुने बताए । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापाले सिमेन्टको कच्चा पदार्थ चुनढुंगा उत्खननका लागि सरकारले सहजीकरण नगर्दा अबको ३/४ महीनामै करीब रू. ३० अर्बभन्दा बढीको क्लिंकर आयात हुुने सम्भावना देखिएको बताए । पटकपटक चुनढुंगा उत्खननका लागि सहजीकरण गर्न आग्रह गर्दासमेत सरकारले सम्बोधन नगरेपछि क्लिंकर भारतबाट ल्याउने बाध्यता देखिएको उनको भनाइ छ । असार, साउन, भदौमा चुनढुंगा ल्याउन नसकिने भन्दै थापाले भने, ‘चुनढुंगाको स्टक १ महीनालाई धान्ने भए पनि अहिले उत्खनन कार्य शून्य छ ।’ बन्दाबन्दी हुनुपूर्व मुलुकभित्रका सिमेन्ट उद्योगले दैनिक ५० लाख टन उत्पादन गर्थे भने अहिले यो क्षमता ४० प्रतिशतसम्ममा झरेको संघको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)