ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कांग्रेसद्वारा प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता

कोरोना नियन्त्रणको लागि सरकारले गरिरहेको काम र तयारीका बारेमा जवाफ माग

२०७७ असार, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार ३, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको छ । 

बुधवार संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल र सांसद गगन थापाले ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हुन् । मंगलवार मात्र कांग्रेसले केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्रीहरु र ७७ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र दर्ता गराएको थियो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकार संवेदनशील नभएकाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७२ बमोजिम जरूरी सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण गराएको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । 

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका सन्दर्भमा यस अघि नै संसदमा अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव मार्फत ध्यानाकर्षण गराइएको स्मरण गराउँदै कांग्रेसले संसदको ध्यानाकर्षण र निर्देशनका बाबजुत सरकारले संवेदनशिलताका साथ कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी र व्यवस्थापन नर्गनुले सरकारको गैरजिम्मेवारीपनको उजागर भएको तर्क गरेको छ । 

ध्यानाकर्षण प्रस्तावमा परीक्षण सम्बन्धि मापदण्डको परिमार्जन गर्न, पीसीआर विधीबाट हुने परीक्षणको गतिमा तिव्रता र दायरा फराकिलो बनाउन, आरडीटी विधिबाट गरिएको परीक्षण तत्काल बन्द गर्ने माग गरेको छ । 

यस्तै क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोतसाधन तथा जनशक्ति उपलब्ध गराउन, कन्ट्याक्ट ट्रेसिङ क्षमतालाई सबलीकरण र विस्तार गर्न माग गरिएको छ । 

यस्तै कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेशन बेड र जनशक्तिको पर्याप्तता तथा आवश्यक अक्सिजन प्लान्ट, दुर्गम ठाँउमा समेत सघन उपचारको सहज बनाउन क्रिटिकल केयर तालिम दिनुपर्ने प्रस्तावमा उल्लेख छ ।

कांग्रेसले स्वास्थ्य सामग्री खरीद, विदेशबाट नागरिक उद्दार, क्वारेन्टाइन व्यवस्थापन, राहात वितरण लगायतका विषयमा भएका अनियमिततका घटना र हालसम्म भएको भनिएको १० अर्बको खर्चको विवरणका सम्बन्धमा समेत सदनलाई जानकारी गराउनु पर्ने बताएको छ । 

‘एकातर्फ जनताको स्वास्थ्य माथिको खेलवाड र अकोतर्र्फ राज्यस्रोतको दुरुपयोग अक्षम्य छ । पछिल्लो समयमा सरकारले कोरोना भाइरस परीक्षणका सम्बन्धमा बनाएको मापदण्ड परिमार्जन नहुने हो र क्वारेन्टाइन व्यवस्थापन सम्बन्धि मापदण्ड पालना नगर्ने हो भने कोरोना महामारीले अझै भयावह अवस्था सिर्जना गर्नसक्छ’ ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

कांग्रेसले परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, विदेशबाट नेपाली नागरिकको उद्धार र व्यवस्थापन, कोरोना भाइरस बाहेकका बिरामीको नियमित औषधिउपचार तथा अस्पताल केन्द्रित तयारीका लागि आवश्यक उपकरण जनशक्तिको पर्याप्त व्यवस्थापन लगायतका विषयमा सरकारले गरिरहेको काम र तयारीका बारेमा संसदमार्फत स्वास्थ्यमन्त्रीको जवाफ माग गरेको छ । 

ध्यानाकर्षण पत्रमा हाल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित देहायका विषयहरूमा नेपाल सरकारको तर्फबाट गरेका काम र तयारीका सम्बन्धमा सदनलाई स्पष्ट पार्न र जनस्वास्थ्यमा थप संकट आउन नदिन तत्काल सदनले सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य भएकोले ध्यानाकर्षण प्रस्ताव पेश गरेको उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)