ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइसोलेसन वार्ड भरिएपछि संक्रमितलाई मेडिकल वार्डमै राखिँदै

२०७७ असार, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । गण्डकी प्रदेशको कोरोना डेडिकेटेड अस्पतालको रूपमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्ड भरिएपछि विकल्पको रूपमा अस्पतालकै मेडिकल वार्ड प्रयोग गरिने भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या तीवरूपमा बढेपछि अस्पताल प्रशासनले बाध्य भएर मेडिकल वार्ड हटाएर कोरोना संक्रमितका लागि २५ बेडको आइसोलेसन वार्ड तयार पारेको हो ।

कोरोना महामारी फैलिएको ३ महीना बितिसक्दा समेत सरकारले संक्रमितका लागि भरपर्दो व्यवस्था नगरेपछि प्रदेशकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार पारिएको थियो । अस्पतालको आइसोलेसन वार्डमा अहिले ९ संक्रमित उपचाररत छन् ।

अस्पतालको आइसोलेसन वार्ड भरिन थालेपछि अस्पतालको मेडिकल वार्ड खाली गराई संक्रमित राख्ने वैकल्पिक व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । दैनिक एक हजारभन्दा बढी बिरामी अपचारका लागि आउने यस अस्पतालमा कोरोना संक्रमितको उपचार शुरू भएपछि सेवा लिने आउने बिरामी ह्वात्तै घटेको उनको भनाइ छ । ‘हामीले कोरोना संक्रमितको उपचार थालेपछि अस्पताल आउने अन्य रोगका बिरामी आउनै छाडेका छन्,’ उनले भने, ‘आकस्मिक र गम्भीर प्रकृतिका बिरामीको उपचार सेवा भने नियमित नै छ ।’

एउटै भवनमा विभिन्न वार्ड भए पनि कोरोना संक्रमितको उपचार गर्नुपर्ने अस्पतालको बाध्यता रहेको उनले बताए । क्षेत्रीय अस्पतालमा १२ बेडको आईसीयूसहित चारओटा भेन्टिलेटर छन् । यसमध्ये एउटा हाल संक्रमितको उपचार भइरहेको आइसोलेसन वार्डमा राखिएको छ । संक्रमितको उपचारमा ६ नर्स, २ मेडिकल अफिसर र ३ जना सहयोगी खटिएका छन् ।

स्वाब परीक्षण सुस्त
प्रदेशमा कोरोना संक्रमित बढ्दै गएपछि स्वाब परीक्षण सुस्त हुन थालेको छ । जनस्वास्थ्य कार्यालयले दुईओटा पीसीआर मेशिनबाट कोरोना परीक्षण भइरहेको बताए पनि परीक्षणको गति बढ्न सकेको छैन । प्रदेशका विभिन्न जिल्लाबाट आएका करीब २ हजार स्वाबको नमूना अझै ‘पेन्डिङ’मा छन् । हालसम्म प्रदेशमा ८ हजार ५०० भन्दा धेरै जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये ६ हजार २ सय ९५ जनामा कोरोना नेगेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

हालसम्म ३२४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ । प्रदेशको मुस्ताङबाहेक १० जिल्लामा संक्रमित भेटिएका छन् ।

यता, पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउन पुगेका एक ९० वर्षीय वृद्धमा कोरोना पुष्टि भएपछि उनको सम्पर्क आएका ६५ जनाको स्वाब संकलन गरिएको छ । संक्रमितको उपचारमा संलग्न सामुदायिक अस्पतालका डाक्टर, कर्मचारी र परिवारका सदस्य गरी ६५ जनाको स्वाब संकलन गरिएको हो । ती वृद्धको स्वास्थ्यावस्था सामान्य रहेको क्षेत्रीय अस्पतालले बताएको छ । संक्रमित वृद्ध कोरोनाबाट मृत्यु भएका वालिङका ५८ वर्षे पुरुषसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा बसेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)