ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्भेष्टमेन्ट बैंकले फिर्ता पायो काउन्टर ग्यारेन्टीमा फसेको रकम

२०७७ असार, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतबाट मुद्दा जितेपछि इन्टेसा सानपाउलो एस्पीए नामक इटालियन बैंकबाट २ अर्ब रुपैयाँ फिर्ता पाएको छ । बैंकले ८५ करोड रुपैयाँ र ८७ लाख ५० हजार यूरो गरी उक्त रकम बुधवार फिर्ता पाएको हो ।

बैंकले काउन्टर बैंक ग्यारेन्टीबापत पाउनुपर्ने रकम मुद्दामामिलाका कारण लामो समय रोकिएको थियो । रकम फिर्ता आएसँगै बैंकको सञ्चित कोष बढेको छ । रकम फिर्ता आएपछि बैंकको खराब कर्जा (एनपीए) घटेको छ भने यसका लागि प्रोभिजनिङ गरेको रकम पनि फिर्ता पाउने भएको छ ।

मुद्दा जितेपछि काउन्टर ग्यारेन्टी बापतको रकम बुधवार दुई किस्तामा प्राप्त गरेको बैंकका डेपुटी जनरल म्यानेजर वीरेन्द्र सुवालले जानकारी दिए । ‘काउन्टर ग्यारेन्टीको रकम इटालियन बैंकले दिनुपर्थ्यो । सीएमसीको मुद्दा जायज थिएन । हामीले  मुद्दा जित्यौं,’ उनले अभियानसँग भने, ‘फिर्ता रकम असारसम्म नआएको भए थप रकम प्रोभिजनिङमा राख्नुपर्थ्यो, जसले गर्दा खराब कर्जा केही बढी देखिन्थ्यो ।’

बैंकले उक्त रकम फिर्ता ल्याएपछि बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै इटालीबाट मुद्दा जितेर रकम ल्याउन सफल हुनु देश नै सफल भएको बताएको छ । साथै, यो सफलताले अन्तरराष्ट्रिय बैंकिङ अभ्यास, ग्राहकले प्रयोग गर्ने जमानत जस्ता बैंकिङ उपकरणप्रति विश्वास कायम गर्ने बताएको छ । नेपाली बैंकिङ इतिहासमा अन्तरराष्ट्रिय अदालतबाट मुद्दा जितेर ग्यारेन्टी बापतको रकम फिर्ता ल्याएको यो नै पहिलो उदाहरण भएको दाबी समेत बैंकको छ । काउन्टर ग्यारेन्टीमै हिमालयन बैंक र बैंक अफ काठमाण्डूको रकम अहिलेसम्म फिर्ता आउन सकेको छैन ।  

इटालियन ठेकेदार कम्पनी  कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले ठेक्का लिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ बनाउने काम बीचैमा छाडेको थियो । तनहुँ जलविद्युत् आयोजनाले सीएमसीसँग खरीद सम्झौता गरेको थियो । तर ठेक्काको बैंक ग्यारेन्टी लिएको सीएमसी भागेपछि आयोजनाले इन्भेष्टमेन्ट बैंकबाट ग्यारेन्टीबापतको रकम लिएको थियो ।

सीएमसीले भने जमानतबापत बैंकलाई पैसा दिन नसक्ने भन्दै इटालीको स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’मा नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रो र इटालीको इन्टेसा सानपाउलो एस्पीए बैंकविरुद्ध मुद्दा हालेको थियो । इटालीको बैंकले स्टे अर्डर पाएको भन्दै इन्भेष्टमेन्टलाई रकम फिर्ता दिन मानेको थिएन । अदालतले जमानतबापतको रकम दिन नपर्ने फैसला गरेको थियो । फैसलापछि इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको मुद्दा गत जेठ २७ गते फैसला भएको थियो । तीनजना न्यायाधीशको संयुक्त इजलाशले बैंकको पक्षमा फैसला गरको थियो ।  मुद्दा जितेपछि जमानतबापतको २ अर्ब रकम फिर्ता ल्याउन बैंक सफल भएको डेपुटि जनरल म्यानेजर सुवालले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)