ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक सञ्जालसँग जोडियो मुदी गाउँ

२०७७ असार, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम मुदी गाउँ सडक सञ्जालसँग जोडिएको छ । धवलागिरि गाउँपालिका–४ को मुदी गाउँमा सडक जोडिएसँगै यहाँका स्थानीय खुशी भएका छन् । भीर र जंगलबाट सधैं जोखिमपूर्ण यात्रा गर्न बाध्य यहाँका स्थानीय अब आरामदायी र सहज यात्राको आशामा खुशीले पुरकित भएका हुन् ।

सडकमा गाडी गुड्न थालेपछि यहाँका वासिन्दाले भीरमा बनाइएका साघुँरा पदैलमार्ग र अनकन्टार जंगलको यात्रा गर्नु पर्ने छैन । विभिन्न समस्या र जोखिमबाट मुक्ति पाएको अनुभूति उनीहरूले गरेका छन् । भर्खरै ट्र्याक जोडिएको तथा मुलुकमा जारी बन्दाबन्दीका कारण पनि मुदीमा जोडिएको उक्त सडकमा अहिले नै गाडी गुड्ने अवस्था छैन । तर, मंगलवार सडक खन्दै गएको डोजर गाउँ प्रवेश गरेपछि नै उनीहरूमा खुशीयाली छाएको छ ।

गाउँपालिकाको केन्द्र रहेको मुनाको फलियागाउँ–दरसिमवाङ हुँदै अक्करे भीरमा जोखिमपूर्ण रूपमा काम गर्दै मुदी गाउँमा सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । ‘गाउँ सडक सञ्जालसँग जोडिएको छ । अब जनतालाई सहज आवतजावतको वातावरण बन्छ’, पुनले भनिन् । गाउँपालिकाको गौरवको योजना अन्तर्गत रहेको सडकलाई भविष्यमा आवश्यकता अनुसार स्तरोन्नती गरिने अध्यक्ष पुनको भनाइ छ । सडक सञ्जालमा दुर्गम बस्ती जोडिँदा आपूmले फरक अनुभूति गरेको भन्दै सडक नहुदाँ समुदायले धेरै कष्ट भोग्नुपरेको उनले बताइन् ।

दुर्गम बस्तीहरूमा सडक सञ्जाल पु¥याउने कामलाई प्राथमकिता दिएको गाउँपालिकाले बताएको छ । सडक सञ्जाल जोडिएपछि खाम्ला, खारा, हिलापोखरी, ताकमलगायत क्षेत्रबाट करीब ३ घण्टाको पैदलमा गन्तव्यतर्फ जाने गरेका मुदीवासीको त्यो यात्रा अब करीब ३० मिनेटमा छोट्टिएको पुनको भनाइ छ ।

सडक विस्तारले मुदी गाउँका २३० घरधुरीका साथै नेरवाङ, अर्चे, बारबाङ, खोरिया, खिवाङ, चेचुङ र बगरका ५५८ घरधुरी लाभान्वित हुनेछन् । गाउँपालिकाले मुदीमा सडक जोड्न रू. ५० लाख विनियोजन गरेकोमा करीब रू. ४६ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि विजय घर्तीले सडक सञ्जाल गाउँमा पु¥याउन कोरोनाको जोखिममा समेत निरन्तर काम गरेको बताए । सडक सञ्जाललाई मापदण्ड अनुसार ६ मीटर फराकिलो बनाउने गरी जोखिमपूर्ण स्थानमा आवश्यकता अनुसार थप काम गरिने उनको भनाइ छ ।

गाडी चढ्ने रहरसँगै सहज ढुवानी सेवा पनि पाउने भएपछि स्थानीय खुशी देखिएका हुन् । यसैबीच धवलागिरि–५ मल्कबाङमा पनि पूर्वाधार विकास कार्यालयमार्फत सडक सञ्जाल विस्तारको काम भइरहेको छ । मराङ–मल्कबाङ–पाखापानी सडक, ताकमको कापलडाँडा हुँदै छिमेकी मालिका गाउँपालिकाको देवीस्थान जोड्जे सडकसमेत विस्तार भएको छ ।
सडक सञ्जालका लागि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा र पूर्वमन्त्री थममाया थापा लगायतको भूमिका महŒवपूर्ण रहेको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

यसैबीच गाउँपालिकाको वडा नं. २ लम्सुङ र लुलाङ गाउँलाई बेवास्ता गरी खोरिया हुँदै सडक सञ्जाल जोडेपछि स्थानीयले चर्को विरोध गरेका छन् । स्थानीयको विरोधकै कारण रू. २ करोड बजेट फ्रीज हुने जोखिम पनि बढेको छ । ठूलो वस्तीलाई उपेक्षा गरिएको भन्दै लम्सुङ र लुलाङबासीले विरोध गरेका हुन् ।

त्यस्तै छिमेकी वडाबाट तत्काल सडक जोडिने सम्भावना नभएपछि गूर्जामा आन्तरिक सञ्जाल जोड्ने गरी सडक विस्तारको काम भइरहेको छ । सडक सञ्जालको पहुँच नहुँदा औषधिमुलो गर्नसमेत महँगोमा हेलिकोप्टर मार्फत् आवतजावत गर्ने गरेका गूर्जाबासीले सडक सञ्जाललाई देउराली हुँदै ल्याउन सकेमा सहज हुने बताउँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)