ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीटीएम नहुँदा सुदूरपश्चिममा स्वाब संकलन बन्द

२०७७ असार, ७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशमा भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट अभाव भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन रोकिएको छ । भीटीएम अभावकै कारण ५ दिनदेखि स्वाब संकलन गर्न नसकिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले बताएको हो ।

प्रदेशका नौओटै जिल्लामा गरी कोरोना संक्रमितको संख्या ८०० नजिक पुगेको छ । संक्रमितको संख्या बढिरहे पनि आवश्यकता अनुसार भीटीएम किट संघीय सरकारले उपलब्ध नगराउँदा पटक पटक स्वाब संकलन कार्य रोक्नुपरेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

प्रदेशको कैलालीमा सबैभन्दा बढी २११, डँडेलधुरा १३३, बैतडीमा १२२, कञ्चनपुरमा ९५, बाजुरामा ६९, अछाममा ५९, डोटीमा ५७, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । संक्रमितमध्ये १२४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने ११४ जनालाई विभिन्न अस्पतालमा राखिएको महाशखा प्रमुख प्रमुख कार्कीले जानकारी दिए । यस्तै कोरोना संक्रमणका कारण प्रदेशमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । संक्रमण उच्च देखिएका डँडेलधुरा सदरमुकाम अमरगढी र प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाका बजार पूर्णरूपमा बन्द गरिएको छ । यी दुवै बजार क्षेत्रमा स्थानीय सरकारले लकडाउन
गरेका हुन् ।

संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको अवस्थामा प्रदेशभर गरी आइसोलेसन बेड संख्या २३३ मात्र छ । त्यसैले संक्रमण पुष्टि भएकाहरूलाई अहिले प्रदेश तथा स्थानीय सरकारले घरमै बस्न दिएर घरवरिपरि सिल गर्दै आएका छन् । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सेती प्रादेशिक अस्पतालमा ७४, महाकाली अस्पतालमा ३३, टीकापुर अस्पतालमा ३२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा तीन, अछाम जिल्ला अस्पतालमा १७, वयलपाटा अस्पतालमा १३, बझाङ जिल्ला अस्पतालमा ३५, डोटी १०, बाजुरा १८, बैतडी ८, गोकुलेश्वर अस्पतालमा चार, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, डँडेलधुरा अस्पतालमा ४०, जोगबुढा अस्पतालमा ८, दार्चुला जिल्ला अस्पतालमा १३ र सुदूरपश्चिम प्रहरी अस्पतालमा २० ओटा आइसोलेसन बेड छन् । आइसोलेसन बेड कम र संक्रमित धेरै भएपछि अहिले अधिकांश संक्रमितलाई घरमै राख्न थालिएको हो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)