ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब रू. २ खर्ब लगानीका सात परियोजना स्वीकृत

औद्योगिक पार्कसहित चार परियोजनाको डीपीआर बुझाउने समय थप

२०७७ असार, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । झन्डै ५ महीनापछि बसेको लगानी बोर्ड नेपालको ४४ औं बैठकले रू. १ खर्ब ८५ अर्ब ४३ करोड लगानीका सातओटा परियोजना स्वीकृत गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधामन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार बसेको बोर्ड बैठकले पाँचओटा जलविद्युत् र दुईओटा सिमेन्टसम्बन्धी परियोजनाको लगानी स्वीकृत गरेको हो । साथै, विभिन्न चारओटा परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाउने समयावधिसमेत थप्ने निर्णय बैठकले गरेको छ ।

बोर्ड २ महीनासम्म कार्यकारी प्रमुख (सीईओ) विहीन हुँदा यी परियोजना र लगानी स्वीकृत हुनसमेत ढिलाइ भएको थियो । सीईओ नभए पनि प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले यी परियोजना र लगानी स्वीकृत गरेको हो । बोर्डले स्वीकृत गरेका पाँचओटा जलविद्युत् आयोजनाको उत्पादन क्षमता ६८८ दशमलव ४ मेगावाट (मेवा) रहेको छ । यीमध्ये माथिल्लो मस्र्याङ्दी–२ बाट ३२७, कालिगण्डकी गर्जबाट १६४, इसुवा खोलाबाट ९७ दशमलव २, म्याग्दीखोलाबाट ५७ दशमलव ३ र आँखुखोला जलविद्युत् आयोजनाबाट ४२ दशमलव ९ मेवा रहेको छ ।

बैठकले दाङ सिमेन्ट र सम्राट सिमेन्ट इन्डस्ट्रिजको लगानीसमेत स्वीकृत गरेको छ । यी दुई सिमेन्ट उद्योगमा कुल रू. ४७ अर्ब ५५ करोडको लगानी रहेको छ । यसमध्ये सबैभन्दा धेरै लगानी दाङ सिमेन्टको रू. ३२ अर्ब ५० करोड लगानी स्वीकृत भएको छ ।

बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा सञ्चालन हुने २० मेवा स्टोरेज क्षमतासहितको १२५ मेवाका सौर्य ऊर्जा परियोजनाको अध्ययन गर्ने निर्णय गरेको छ । त्यसका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी)मा विकास तथा सञ्चालन अध्ययन गर्नका लागि अध्ययन गर्न रिसेन इनर्जी सिंगापुर जेभी पीटीईलाई सर्वेक्षण अनुमति दिएको छ ।

झापाको दमकमा बन्ने चिनियाँ लगानीको चीन–नेपाल फ्रेन्डशिप इन्डस्ट्रियल पार्क, मुक्तिनाथ केबलकार, मल्टीमोडल लजिस्टिक पार्क र निजी वस्तुहरूका लागि टर्मिनल र ब्लक सुविधा परियोजनाको डीपीआर बुझाउने समय पनि थप्ने निर्णय बैठकले गरेको बोर्डका प्रवक्ता बलराम रिजालले बताए । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण असहज परिस्थिति देखिएको भन्दै यी आयोजनाको डीपीआर बुझाउने समय थपिएको उनले बताए । बैठकमा अर्थ, ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सहभागिता थियो । योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर र निजीक्षेत्रका तीनओटै छाता संगठनका अधिकारीको सहभागिता थियो ।

२ महीनापछि सीईओ नियुक्तिको प्रक्रिया शुरू

लगानी बोर्ड नेपाल प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन भएको २ महीनापछि सरकारले नयाँ सीईओ नियुक्तिका लागि प्रक्रिया शुरू गरेको छ । महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गरेपछि खाली रहेको उक्त पदका लागि सरकारले उक्त प्रस्ताव आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सीईओ नियुक्तिीका लागि सिफारिश समितिको सचिवालयले शुक्रवार १५ दिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । सोहीअनुसार अबको १५ दिनभित्र योग्यता पुगेकाले सीईओ पदका लागि निवेदन दिन सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)