ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दैनिक १० हजारको कोरोना परीक्षण गर्ने सरकारको तयारी

मेडिकल सामग्री खरीदका सबै काम स्वास्थ्य मन्त्रालयलाई

२०७७ असार, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले असार १५ गतेदेखि दैनिक १० हजारको कोरोना परीक्षण गर्ने तयारी गरेको छ । सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता र जनशक्ति बढाउँदै उक्त संख्यामा पीसीआर परीक्षणको तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी प्रयोगशाला र प्रदेशमा स्थापित प्रयोगशालाको क्षमता विस्तार गरी परीक्षण दायरा बढाइने जानकारी दिए ।

यसका लागि थप जनशक्ति व्यवस्थापन, ल्याब चौबीसै घण्टा सञ्चालन र निजीक्षेत्रबाट परीक्षणको तयारी अगाडि बढाइएको मन्त्री ढकालले बताए । सरकारले प्रतिप्रदेश प्रतिदिन १ हजार र निजीक्षेत्रबाट ३ हजारका दरले परीक्षण हुनेगरी तयारी गरिरहेको उनको भनाइ छ ।

यसैबीच मन्त्री ढकालले स्वास्थ्य सामग्री खरीदमा कुनै अनियमितता नभएको समेत बताएका छन् । सबै खरीद प्रक्रिया विधि र प्रक्रिया अनुसार नै भएको दाबी उनले गरे । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेरै विशेष अवस्थामा खरीद गर्ने विधि तय गरिएको र सोही प्रक्रिया अनुसार नै स्वास्थ्य सामग्री खरीद गरिएको उनले बताए ।

यसैगरी सरकारले मेडिकल सामग्री खरीदका सबै काम स्वास्थ्य मन्त्रालयलाई दिने निर्णय गरेको छ । सीसीएमसीको शुक्रवार बसेको बैठकले सेनाले खरीद गरेको सवा २ अर्ब बराबरको मेडिकल सामग्री खरीद प्रक्रिया विवादमा परेपछि पुनः विभागीय मन्त्रालयबाटै खरीद गर्ने निर्णय भएको हो । पछिल्लो समय सेनाले जीटूजीमार्फत चीनबाट खरीद गरेको मेडिकल सामग्रीको विषयमा समेत प्रश्न उठेपछि सरकारले पुनः स्वास्थ्य मन्त्रालय मार्फत नै मेडिकल सामग्री खरीद गर्ने निर्णय गरेको हो ।

यसैबीच, नेपालमा शनिवार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ४९ जना महिला र २८२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै, शनिवार १८ जना महिला र १५८ जना पुरुष गरी १७६ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना उपचारपछि १ हजार ५७८ जना घर फर्किएको मन्त्रालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)