ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खिम्ती जलविद्युत् आयोजना : स्वामित्व हस्तान्तरणको तयारी तीव्र

२०७७ असार, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको शेयर स्वामित्व नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने मिति नजिकिँदै गर्दा अहिले दुवै पक्ष त्यसलाई टुंगोमा पुर्‍याउने तयारीमा जुटेका छन् ।

सरकार र खिम्तीको प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडबीच भएको पूर्वसम्झौता अनुसार आगामी असार २७ गतेदेखि आयोजनाको ५० प्रतिशत शेयर विद्युत् प्राधिकरणको हुँदैछ । सोहीअनुसार प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच सहमति जुटाउने प्रयास भइरहेको हो ।

हाल प्रवर्द्धक कम्पनीका आधिकारिक अधिकारीहरू नर्वेमा नै रहेकाले उनीहरू तथा प्राधिकरणबीच भर्चुवल बैठकमार्पmत नै यसका लागि छलफल भइरहेको प्राधिकरणले बताएको छ ।

खिम्तीको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरण र हिमाल पावर दुवैको स्वामित्व रहने संयुक्त कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । त्यसैले अहिले प्राधिकरणले संयुक्त कम्पनी स्थापना गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

यसका लागि निर्देशक वेलप्रसाद शर्माको संयोजकत्व गठित एक समितिले संयुक्त कम्पनीको प्रबन्धपत्र र नियमावली बनाएर प्राधिकरणको सञ्चालक समितिमा पेश गरिसकेको छ । उक्त प्रबन्धपत्रबारे प्राधिकरणको सञ्चालक समितिले गत बिहीवार प्रारम्भीक छलफल गरेको थियो ।

आयोजनाको विद्युत् खरीद विक्री दर सम्झौता (पीपीए), आर्थिक विश्लेषण तथा स्वामित्व हस्तान्तरणको विषयमा पनि छुट्टाछुट्टै समिति बनाइएको थियो । ती समितिले तयार गरेका प्रतिवेदनका विषयमा पनि गत बिहीवारको बोर्ड बैठकमा प्रारम्भिक छलफल भएको थियो ।

अब आगामी सञ्चालक समितिको बैठकले ती प्रतिवदेन पारित गरी ऊर्जा मन्त्रालयमा पठाइनेछ । यस विषयमा मन्त्रालयमा गठित एक समितिले उक्त प्रतिवदेन पारित गरेर पछि स्वामित्व हस्तान्तरणको थप प्रक्रिया अगाडि बढ्ने प्राधिकरणको भनाइ छ ।

आयोजना हस्तान्तरण मिति नजिकिँदै गर्दा पनि दुई पक्षबीच पीपीए दरमा सहमति जुट्न नसकेको प्राधिकरण स्रोतको भनाइ छ । प्रवद्र्धक कम्पनीले प्राधिकरणसँग वर्षात्मा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा पीपीए गर्ने माग राखेको छ । यस विषयमा दुवै पक्ष सहमत भइसकेका छैनन् ।

विगतमा डलरमा पीपीए गरेका कारण आलोचित हँुदै खिम्तीको नयाँ पीपीए अब नेपाली रुपैयाँमा हुनेछ । सय मेगावाट भन्दा कम क्षमताका जलविद्युत््् आयोजनाको पीपीए डलरमा गर्न नपाइने गरी नयाँ कानूनी व्यवस्था आइसकेकाले खिम्तीको नयाँ पीपीए नेपाली रुपैयाँमा नै हुने भएको हो । प्राधिकरण र हिमाल पावरको संयुक्त स्वामित्वमा स्थापना हुने कम्पनीले प्राधिकरणसँग नयाँ पीपीए सम्झौता गर्नेछ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले पनि प्रवद्र्धकसँग छलफल गरेर प्राधिकरणले प्राथमिकताका साथ काम अगाडि बढाएको बताए । ‘प्राधिकरणले नै आवश्यक प्रक्रिया अगाडि बढाएको छ । धेरै काम अन्तिम चरणमा पनि पुगेको छ,’ उनले भने ।

हिमाल पावरले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको खिम्ती आयोजना निजीक्षेत्रको लगानीमा निर्माण गरिएको पहिलो जलविद्युत् आयोजना हो । यसमा बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको लगानी छ ।

तत्कालीन सरकार र कम्पनीबीच उत्पादन शुरू भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने गरी सम्झौता गरिएको थियो । उक्त आयोजनाबाट विद्युत्् उत्पादन हुन लागेको आगामी जुलाईमा २० वर्ष पुग्दै छ । साथै, पूर्वसम्झौता अनुसार नै अबको ३० वर्षपछि सो आयोजनाको शतप्रतिशत स्वामित्व प्राधिकरणको नै हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)