ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सारले रोक्यो अनुमतिविना भित्रिएका मालसामान

केराउ, छोकडा, मरीच र सुपारी बोकेका ५०० कन्टेनर वीरगञ्जमा अड्किए

२०७७ असार, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नियमविपरीत आयात गरिएको ठूलो परिमाणको केराउ, छोकडा, मरीच र सुपारी वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति नलिई भित्र्याइएका ५०० कन्टेनर यस्ता मालसामान बन्दरगाह भन्सारले १ महीनादेखि रोकेर राखेको हो ।

सरकारले गत चैत १६ गते यस्ता वस्तुको आयात रोक्ने निर्णय गरेको थियो । त्यसअघिको डीएपी, सीएडी, ड्राफ्ट र टीटीमा आयात अनुमति लिइसकेको हकमा आयात गर्न दिइने व्यवस्था मिलाइएको थियो । ती प्रक्रियामा खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति अनिवार्य हुन्छ ।

प्रक्रिया चैत १६ अघिको भए पनि विभागको स्वीकृति नलिई आयात गरेको भेटिएपछि जाँचपास रोकिएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले बताए । ‘विभागको अनुमतिविनै आयात गरेको देखियो । त्यस्ता ५०० जति कन्टेनर बन्दरगाहमै थन्किएका छन्,’ श्रेष्ठले आर्थिक अभियानलाई बताए ।

तेस्रो मुलुकबाट आयात हुने यी वस्तुको अधिकांश परिणाम सुक्खा बन्दरगाहबाटै भित्रिन्छ । डीएपीमा आएका कन्साइन्मेन्टको जाँचपास रोकिएको भन्सारले बताएको छ । भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाह हुँदै रेलमार्फत वीरगञ्जसम्म आउने कन्साइन्मेन्टको भुक्तानी प्रक्रिया पनि वीरगञ्जमै हुन्छ । आयातकर्ताले वीरगञ्जमा मालसामान बुझेपछि भुक्तानी दिन्छन् ।

ती कन्टेनर धेरै दिनदेखि सुक्खा बन्दरगाहको कन्टेनर यार्डमा रोकिएपछि हिमालयन टर्मिनलले गोदाममा थन्क्याउने तयारी थालेको छ । ती कन्टेनरमध्ये धेरैमा केराउ रहेको बन्दरगाह व्यवस्थापनले बताएको छ । नियमविपरीत आएको मालसामान भन्सारले जफत गर्ने प्रावधान छ । केही दिनअघि वीरगञ्ज भन्सारमा आइपुगेको १ कन्टेनर सुपारी भन्सारले जफत गरेको थियो । भन्सारले जाँचपास रोकिदिएपछि निर्यातकर्ताले भुक्तानीका लागि ताकेता बढाएको एक आयातकर्ताले बताए ।

भारतीय बन्दरगाहमा थप ५/७ सय कन्टेनर मालसामान रोकिएको ती आयातकर्ताले जानकारी दिए । वीरगञ्जमा जाँचपास नभएपछि ती कन्टेनर ल्याउन अन्योल भएको उनको भनाइ छ ।

यस्ता वस्तुको आयात पछिल्लो समयमा अस्वाभाविक बढेपछि खपतको तुलनामा अत्यधिक आयात भएको र यसले विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पारेको भन्दै सरकारले आयात रोकेको हो ।

सबैभन्दा धेरै परिमाणमा केराउ आयात भएको भन्सारले बताएको छ । त्यसपछि क्रमशः छोकडा, मरीच र सुपारी भित्रिएको देखिन्छ ।

तेस्रो मुलुकबाट आयात हुने यस्ता वस्तु नेपाल भित्र्याएर अनधिकृत तरीकाले भारततर्फ निकासी हुने गरेको छ । केराउ अमेरिका, क्यानडा र इन्डोनेशियाबाट आउँछ । छोकडाको अधिकांश परिमाण पाकिस्तानबाट आयात हुन्छ । आयातकर्ताले मरीच भियतनामबाट मगाउँछन् । सुपारी इन्डोनेशिया र थाइल्यान्डबाट भित्रिने भन्सारले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)