ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टुंगो लाग्यो महासंघको साधारणसभाको मिति

साउन २६ र २७ गते काठमाडौंमा हुने

२०७७ असार, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरसका कारण दुईपटक स्थगित नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आगामी साउन २६ र २७ गते काठमाडौंमा हुने भएको छ । महासंघको सोमवार जुममार्फत भएको कार्यसमितिको बैठकले नयाँ मितिमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

कार्यसमितिका पदाधिकारीको आइतावारको बैठकले साउन २५ र २६ गते साधारणसभा गर्ने प्रस्ताव गरे पनि प्राविधिक समस्या देखिएपछि साउन २६ र २७ गते गर्ने निर्णय गरिएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उक्त मितिमा साधारणसभा गर्ने निर्णय गरिएको बताए ।

गत चैत २८ र २९ गते नै महासंघको साधारणसभा गर्ने तयारी थियो । तर, कोरोना भाइरसले उब्जाएको परिस्थितिका कारण त्यो साधारणसभा जेठ ७ र ८ गतेका लागि सारिएको थियो । लकडाउनका कारण दोस्रोपटकको मितिमा पनि साधारणसभा हुन सकेन । त्यसपछि साधारणसभा कहिले गर्ने भनेर मिति नतोक्दा महासंघमा आन्तरिक विवाद बढ्दै गएको थियो । सोमवार कार्यसमितिको झन्डै ६ घण्टासम्म जारी बैठकले सर्वसम्मत रूपमा नै नयाँ मितिमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

विधानअनुसार महासंघले चैतभित्र नै साधारणसभा गर्नुपर्ने थियो । त्यो समयमा गर्न नसकिए ३ महीनाभित्र साधारणसभा गर्न सकिने विधानमा उल्लेख छ । त्यसअनुसार असारभित्र नै महासंघको साधारणसभा गर्नुपर्ने थियो । विधानले गरेको बाधा अड्चनको व्यवस्थामार्पmत साउनमा साधारणसभा गर्न लागिएको हो ।

कोरोना भाइरसको संक्रमण भयावह भयो भने साधारणसभा पुनः स्थगित हुन सक्ने महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । ‘साउनसम्म परिस्थिति सामान्य हुन्छ भन्ने आशा छ । भएन भने साधारणसभा पुनः स्थगित हुन सक्छ,’ उनले भने, ‘अहिले महासंघको साधारणसभा र चुनावभन्दा कोरोनाबाट बच्नु महत्त्वपूर्ण हो । साधारणसभा फेरि पनि गर्न सकिन्छ । त्यहीअनुरूप आवश्यक निर्णय लिन सकिन्छ ।’

कोरोना भाइरसको महामारीलाई दृष्टिगत गरी महासंघका केही पदाधिकारीले साधारणसभा नगर्ने प्रस्ताव राखेका थिए । विशेषगरी महासंघकी अध्यक्ष भवानी राणाले बाधा अड्काउनको प्रस्ताव ल्याएर केही समय साधारणसभा नगर्ने प्रस्ताव गरेकी थिइन् । केही पदाधिकारीले भने विधानको व्यवस्थालाई समातेर असारभित्र नै साधारणसभा गर्न दबाब दिँदै आएका थिए । यही विषयमा महासंघमा आन्तरिक विवाद बढ्दै गएको थियो । साधारणसभाको मिति तय भएसँगै महासंघको आन्तरिक विवाद साम्य हुने देखिएको छ ।
अब हुने महासंघको साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने छ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ, जसअनुसार अबको अबको साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठमा उपाध्यक्षका लागि भने उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरेका छन् । उनीहरू दुईमध्ये विजयी हुने उम्मेदवार नै अर्काे पटकका लागि अध्यक्ष बन्नेछन् ।

सोमवारको कार्यसमितिको बैठकले यस बीचमा पदाधिकारीहरूले गरेको निर्णयलाई पनि पारित गरेको छ । पूर्वअध्यक्ष चण्डीराज ढकालविरुद्धको खेद प्रस्ताव पनि पारित गरेको छ । ढकालले महासंघ अध्यक्ष भवानी राणाको प्रतिष्ठामा खलल आउने गरी विभिन्न मिडियामा आपत्तिजनक अभिव्यक्ति दिँदै आएको भनी पदाधिकारी बैठकले उनीविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।

यो पनि हेर्नुस् :

महासंघको साधारणसभा साउनको चौथो साता गर्ने प्रस्ताव

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)