ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ महीनादेखि शेयरबजार बन्द : धितोपत्र बोर्ड अध्ययनमै रुमलिँदै

२०७७ असार, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । झन्डै १७ लाख लगानीकर्ता रहेको र पछिल्लो कारोबारअनुसार १५ खर्बभन्दा बढी पूँजीकरण भएको नेपालको शेयरबजार ३ महीनाभन्दा बढी समय बन्द रहे पनि यसलाई खुलाउन नियामक निकाय धितोपत्र बोर्ड र तालुकदार मन्त्रालय दुवैले कुनै चासो देखाएका छैनन् ।

राजस्व घट्यो भनेर करमा कडाइ गर्ने अर्थ मन्त्रालयसमेत कर प्राप्त गर्ने एउटा बजार बन्द हुँदा बेखबर बन्नु रहस्यमय भएको लगानीकर्ताको भनाइ छ । सरकारले बन्दाबन्दीलाई खुकुलो बनाई केही सीमित व्यवसायमा मात्र सञ्चालनमा रोक लगाएको अवस्थामा समेत पूँजीबजार जस्तो संवेदनशील क्षेत्र नखुल्दा लगानीकर्ता आक्रोशितसमेत बनेका छन् ।

बोर्डले सोमवार शेयरबजार सुचारू गराउन सकिने वा नसकिने विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ । समितिमा बोर्डको नेतृत्व रहने गरी सरोकारवाला निकायहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र लगानीकर्ता संघका एक जना सदस्य छन् ।

केही अत्यावश्यक सेवाबाहेक सबैजसो व्यवसाय सुचारू भएको अवस्थामा नियामक निकायले समिति बनाउने र अरूलाई सोध्ने गर्नु आवश्यक नभएको सरोकारवालाहरूको भनाइ छ । लगानीकर्ता एवं शेयर विश्लेषक दिलीप मुनकर्मी यसलाई नियामक निकायको कमजोरी बताउँछन् ।

धितोपत्र बोर्ड भने बैंक इन्टिग्रेशन, टी प्लस वन (एकै दिनमा राफासाफ गराउने) जस्ता धेरै कुरा सुधार गरेर मात्रै बजार खोलाउने पक्षमा देखिन्छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बजार सुचारू भई फेरि बन्द गर्नुपर्ने अवस्था नआओस् भन्ने उदेश्यले आफूले काम गरिरहेको बताए ।

हालको बजारको अवस्था र सुधारका कामहरू पहिचान गरेर मात्र अघि बढ्ने बोर्डको योजना रहेको अध्यक्ष ढुंगानाको भनाइ छ ।उनका अनुसार कमिटीले शुक्रवारसम्म बोर्डमा प्रतिवेदन पेश गर्नुपर्नेछ । ‘बजार लामो समय बन्द भइसक्यो । यसले हाम्रा भावी योजनामा पनि असर पर्ने हुँदा जतिसक्दो चाँडो सुचारू गर्न पहल गरिरहेका छौं,’ ढुंगानाले भने, ‘समितिको प्रतिवेदनको आधारमा बजार सुचारू हुनेछ ।’

लगानीकर्ता भने ३ महीनासम्म बजार बन्द हुँदा यसमा सुधार ल्याउने विषयमा केही नगर्ने तर अहिले बजार खोल्न दबाब परेपछि सुधार गरेर मात्रै खोल्ने भन्ने कुरा तर्कसंगत नभएको बताउँछन् । आफूहरूले बजार पनि खोल्ने र देखिएका कमजोरी सुधार गर्दै जानुपर्छ भने पनि बोर्डले वास्ता नगरेको उनीहरूको भनाइ छ ।

लगानीकर्ता एवं शेयर विश्लेषक प्रकाश तिवारी यसरी अनिश्चित कालसम्म बजार बन्द गराउँदा पूँजी निर्माण र तरलता नहुने बताउँछन् । गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने तयारी गरिरहेका बेला यस्तो बन्दले विश्वबजारमै नराम्रो सन्देश जाने तिवारीको भनाइ छ । ‘बोर्डले ९० दिनसम्म बजार बन्द हुँदा के गर्‍यो ? अहिले आएर सुधार नगरी बजार खोल्दिन भन्नु गलत हो,’ तिवारीले भने ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नभएको बताउँदै आएका छन् ।

बोर्डले निर्देशन दिनेबित्तिकै आफूहरू बजार खोल्न तयार रहेको साउदको भनाइ छ । प्रणालीमा जोडिन लगानीकर्ता आफैले युजर नेम र पासवर्ड लिनुपर्ने भएकाले त्यसका लागि नेप्सेले आग्रह गरिरहेको उनले बताए । कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै राफसाफ गरी विदेशबाट धेरैले कारोबार गरिरहेको जानकारी दिँदै उनले सबै लगानीकर्तालाई बैंक खाता इन्ट्रिग्रेशन गर्न अनुरोध गरेका छन् ।

बजार खुलाउनुपर्ने शेयर दलालहरूको भनाइ छ । ‘पहिले नै खोल्नुपथ्र्यो, रोक्न नहुने थियो । तर, अहिले धेरै व्यवसाय सञ्चालनमा आइसकेकाले शेयरबजार पनि खोल्नुपर्छ,’ नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरी रिमालले भने, ‘बजार घट्छ भनेर रोक्नु हुँदैन । २७ वर्षदेखि चलिआएको शेयरबजार यसरी बन्द गर्दा नराम्रो सन्देश जान्छ ।’ बजार बन्द हुँदा सरकारले दैनिक लाखौं राजस्व गुमाइरहेको उनको कथन छ ।

बजार खोल्न हुने र नहुनेमा लगानीकर्ता विभाजित छन् । शेयर लगानीकर्ता संघ (नेपाल) का अध्यक्ष उत्तम अर्यालले कुनै व्यक्तिको चाहनाभन्दा पनि नीति र नियमलाई आधार बनाएर बजार सञ्चालन हुनुपर्नेमा जोड दिए । शेयर कारोबारमा सहभागी करीब ३ लाख लगानीकर्तामध्ये ५१ प्रतिशत सहभागी हुने गरी अनलाइन कारोबार प्रणालीमा आबद्ध गराउन सरोकारवाला निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

बन्दाबन्दीका बीच २ दिन खुलेको कारोबारले ६३ अर्बभन्दा बढी सम्पत्ति गुमाएका लगानीकर्ता पुनः बजार सुचारू हुँदा मार्जिन कलको मारमा पर्ने भएकाले यसो हुन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने माग उनको छ ।

शेयर बजार सुचारू गर्न अर्थसमितिको निर्देशन

संघीय संसद्को अर्थसमितिले ३ महीनादेखि बन्द शेयरबजार सुचारू गर्न धितोपत्र वोर्डलाई निर्देशन दिएको छ । सोमवार धितोपत्र बोर्डको कार्यालयमै पुगेको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालसहितको टोलीले शेयरबजार सुचारू गर्न निर्देशन दिएको हो । सो टोलीले बजार खोल्न भएको ढिलाइ र समस्याका विषयमा जानकारी लिएको थियो ।

बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारण, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका वारेमा स्पष्ट पारेका थिए । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरूको चर्चा गर्दै केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)