ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ढिकी तथा जाँतो संरक्षणमा बेनी नगरपालिका

२०७७ असार, १०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । परम्परागत प्रविधि र शीपमा आधारित रहेर बनाइएका पुराना घरेलु साधनहरू गाउँबाट हराउँदै जान थालेपछि संरक्षण गर्न लागिएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाले वडास्तरमा रहेका पुराना हाते शीपका ढिकी तथा जाँतोलगायत घरायसी साधनहरूलाई जोगाउन थालेको हो ।

बढ्दो आधुनिकतासँगै डिजेलको सहयोग तथा विद्युत्बाट चल्ने मील गाउँगाउँमा पुगेपछि घरेलु प्रविधिका साधनहरू लोप हुने अवस्थामा छन् । तर, पछिल्लो समय बेनी नगरपालिका र केही वडामा योजना नै बनाएर ढिकी जाँतोलगायत साधनको संरक्षण तथा सदुपयोग गर्ने अभियान शुरू गरिएको छ । अघिल्लो आर्थिक वर्षको कार्यक्रममा बेनी नगरपालिका–१० पात्लेखेत वडाले ढिकी तथा जाँतो संरक्षणको योजना अगाडि सारेको थियो ।

त्यसैगरी गत वर्ष बेनी नगरपालिका–९, घतानको वडा कार्यालयले पनि वडाबाट योजना र बजेट विनियोजन गरेर समुदायस्तरमा आवश्यक पर्ने ढिकी तथा जाँतो संरक्षण गर्ने कार्यक्रम अगाडि सारेको थियो । त्यस्तै चालू आर्थिक वर्षमा बेनी नगरपालिका–४ सिंगाले पनि राक्से र तातोपानी बजार क्षेत्रलाई लक्षित गरेर ढिकी जाँतो संरक्षणको कार्यक्रम सञ्चालन गरेको छ ।

वडामार्फत लेतेखोला ढिकी तथा जाँतो निर्माण तथा संरक्षण भवनसम्बन्धी योजना बनाएर रू. ४ लाख ५० हजार लागतमा भवनसहित ढिकी तथा जाँतो निर्माण गरी सञ्चालनमा ल्याइएको छ । ढिकी तथा जाँतो भवन निर्माण तथा संरक्षण उपभोक्ता समितिका अध्यक्ष तुलप्रसाद श्रेष्ठले वडाबाट प्राप्त बजेट रू. ४ लाख तथा स्थानीयको रू. ५० हजार बराबरको जनश्रमदानमा ढिकी तथा जाँतो संरक्षण गरिएको जानकारी दिए ।

ग्रामीण भेगबाट ढिकी, जाँतोलगायत परम्परागत हाते शीपमा आधारित भएर निर्माण गरिएको घरेलु प्रविधिहरू हराउँदै जान थालेपछि तिनको संरक्षण गर्न योजना माग गरी कार्यान्वयन गरिएको उनले बताए ।

आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेको रैथाने प्रविधि लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेशिनहरू हराउँदै गएपछि पर्यटकीय जिल्ला म्याग्दीको ग्रामीण पहिचान पनि मेटिने खतरा बढेको छ ।

अघिल्लो पुस्तासम्म निर्माण तथा प्रयोगमा रहेका साधनहरू हराउँदै जान थालेको हुँदा संरक्षण गर्न परेको स्थानीयको भनाइ छ । गाउँघरमा ढिकी, जाँतोबाट कुटेको र पिँधेको खाने कुरा स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । लोप हुन थालेको ढिकी, जाँताको संरक्षण गरी निर्माण गरेपछि स्थानीयलाई कुटानी, पिसानीका लागि धेरै सहज भएको सिंगाकी स्थानीय लक्ष्मी पौडेलले बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)