ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेकपाको स्थायी समिति बैठक बुधवार बस्दै

एमसीसीको विषयमा टुंगो लगाउने सम्भावना

२०७७ असार, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बुधवार बस्ने भएको छ । बुधवार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ । यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।

नेकपाले कोभिड–१९ को महामारी र लकडाउनको कारण देखाउँदै बैठक स्थगित गरेको थियो । तर खासगरी एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक बस्न नसकेको हो । एमसीसीबारे पार्टीभित्र दुई धार स्पष्ट देखिएकाले यसलाई पार्टीभित्रबाट सर्वसम्मत गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो परिरहेको छ । प्रधानमन्त्रीले एमसीसीबारे नबुझी टिप्पणी गरिएको भन्दै आफ्ना पार्टीका सांसद तथा एमसीसीको विरोध गर्ने अन्य सांसदलाई एमसीसीमा भएका प्रावधान अध्ययन गर्न सदनमा पटक पटक आग्रह गर्नुभएको थियो ।

यद्यपि बैठकका एजेण्डाबारे भने मंगलवार साँझसम्म सदस्यहरूलाई कुनै जानकारी नदिइएको नेताहरूले बताएका छन् । एजेण्डाबारे कुनै जानकारी नआए पनि कोरोना महामारी, एमसीसी लगायत विषयमा बैठकमा छलफल हुने नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बताए । ‘बैठकका एजेन्डाहरू नआए पनि स्थायी समितिले आफ्नो एजेन्डा तय गरेरै छलफल गर्छ । मूलतः बैठकमा यसअघि भएका कार्यको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुने हो, त्यो हुन्छ,’ उनले भने ।

भुसालका अनुसार बैठकमा अहिले सबैभन्दा बढी चर्चामा रहेको र पार्टीभित्र समेत बहसको विषय बनेको एमसीसीबारे छलफल हुनेछ । सम्भवतः स्थायी समितिले यसलाई टुंगो लगाउनेछ । यस विषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेर प्रतिवेदन समेत दिइसकको अवस्थामा त्यसैको आधारमा छलफल गरी निष्कर्षमा पुगिने उनले बताए । पार्टी भित्रबाटै एमसीसीको विरोध भइरहँदा प्रधानमन्त्री ओलीले एमसीसी पास वा फेल जे गरे पनि संसद्ले गर्ने बताउँदै आउनुभएको थियो । प्रधानमन्त्रीको यो भनाइप्रति नेकपाभित्रै असन्तुष्टि छ । ‘पार्टीभित्रै छलफल गरेर मात्र संसद्मा लैजानुपर्छ भन्ने कुराको नजीर त नागरिकता ऐन संशोधन विधयेक भइसक्यो,’ भुसालले भने, ‘अब यसलाई पनि त्यसैगरी टुंग्याउनुपर्छ  ।’
सरकारले आगामी आवको नीति तथा कार्यक्रममा समेत समावेश गरेको एमसीसी परियोजनाबारे सत्तारूढ दल नेकपा अझै अनिर्णीत बनेको छ । यसअघि नेकपाका शीर्ष नेताहरूले यस विषयमा छलफल गरे पनि एमसीसी हुबहु पारित गर्ने कि संशोधन गरेर पारित गर्ने भन्ने विषयमा एकमत देखिएन । एमसीसीलाई हेर्ने दृष्टिकोणमा विवाद आएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाएको थियो । उक्त कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीलाई प्रतिवेदन बुझाएको थियो । खासगरी एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत हो वा होइन भन्ने विषयमा नेकपाले ठोस निर्णय लिन सकेको छैन ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)