ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुप्से झरनामा पहिरो : बेनी–जोमसोम सडक अवरुद्ध

२०७७ असार, १०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

असार १०, म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड बुधवार बिहानैदेखि अवरुद्ध भएको छ । 

अन्नपूर्ण गाउँपालिका-३ दानको रुप्से झरनाको माथिबाट ढुंगामाटो सहितको लेदो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिए ।

अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ । सडक खण्डको गलेश्वर पारी घुमाउने तालदेखि नै हिलाम्ये सडकका कारण साना ठूला सवारी साधन आवतजावतमा समस्या भइरहेको स्थानीयले बताएका छन् ।

सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर, ब्रेकर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारी साधन हिलोमा घण्टौंसम्म फस्ने गरेका छन् । सडक सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताए । ‘सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरेपनि पुनः पहिरो खस्ने गरेको छ’ उनले भने ।

उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सर्तकता उपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ ।

मुस्ताङ जोड्ने सडक रघुगंगा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभीरमा धेरै समस्या रहेको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडक खण्ड अन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ ।

वर्खाको समयमा यात्रुले वर्षैनी ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडकखण्ड अन्तरर्गत गत शनिवार चमेरेदेखि मुस्ताङको सिमाना घाँसासम्म करीब आधादर्जन स्थानमा अवरुद्ध भएको थियो । 

अवरुद्ध सडक खुलाएर यातायातका साधन सञ्चालन गरेको तीन दिन वित्न नपाउँदै बुधवार बिहानदेखि पुनः सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम सडकमा असारदेखि भदौसम्म नियमित सडक सञ्चालनमा समस्या हुने गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)