ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरबजार सुधारमा पहल : राष्ट्र बैंकले हटायो दैनिक कारोबारको सीमा

२०७७ असार, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सुझावअनुसार राष्ट्र बैंकले धितोपत्र किनबेचको भुक्तानीका लागि हुने विद्युतीय रकमान्तरको दैनिक र मासिक सीमा हटाएको छ । विद्युतीय माध्यमबाट लगानीकर्ता र ब्रोकरबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न माग गरेपछि राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि दैनिक र मासिक कारोबारको यो सीमा हटाएको हो । तर, प्रतिकारोबार रकमको सीमा भने यथावत् रहेको छ ।

विद्युतीय माध्यम (इन्टरनेट र मोबाइल बैंकिङ) बाट कारोबार गर्दा प्रतिदिन मोबाइल बैंकिङबाट रू. १ लाख र इन्टरनेट बैंकिङबाट रू. १० लाखको सीमा भने यथावत् राखिएको छ । तर, राष्ट्र बैंकले दैनिक र मासिक कारोबारको संख्याको सीमा भने बढाइदिएको छ । अर्थात् एकभन्दा बढी पटक कारोबार गर्न पाइन्छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै विद्युतीय कारोबारमा रकमान्तरको सीमा हटाएको हो । शेयर किन्दाको भुक्तानी प्रतिकारोबार सीमा कायम भए पनि कारोबारको संख्यामा भने सीमा नहुने राष्ट्र बैंकको भनाइ छ ।

शेयर कारोबार पूर्ण अनलाइन बनाउन भुक्तानीमा समस्या रहेकोे भन्दै धितोपत्र बोर्डले शेयरबजार बन्द गराएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाबाट शेयर किन्दा भुक्तानी केही सहज भए पनि यो स्थायी समाधान नभएको लगानीकर्ताको भनाइ छ ।

यो व्यवस्था केही सहज भए पनि रू. १० लाख भन्दाको शेयर किन्दा भने अझै समस्या रहेको उनीहरूको भनाइ छ । राष्ट्र बैंकले दैनिक कारोबार सीमा हटाए पनि जोखिमका आधारमा बैंकहरूले निर्णय गर्न पाउने व्यवस्था गरेकाले बैंकहरूले यो सुविधा दिन बाध्यता देखिँदैन । धितोपत्र बोर्डले राष्ट्र बैंकसमक्ष मार्जिन कर्जाको सीमा बढाउने, शेयर धितो राखी कर्जा लिएकाहरूलाई ब्याज तिर्ने समय असोजसम्म बढाइदिने र मार्जिन कारोबारका लागि ब्रोकरहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने ऋणको ब्याजदर बैंक स्वयम्ले प्रत्यक्ष शेयर धितोमा प्रवाह गर्ने ब्याजदरभन्दा कम हुने व्यवस्था गरिदिन सुझाव दिएको छ । यी सुझाव आगामी मौैद्रिक नीतिमार्फत सम्बोधन हुने अपेक्षा बोर्डले राखेको छ ।

बोर्डले पूँजीगत लाभकरमा अन्तिम करको विषयमा पनि केही उपलब्धि प्राप्त गरेको छ । बोर्डको सुझावबमोजिम आन्तरिक राजस्व विभागले परिपत्र जारी गदैं व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम भएको स्पष्ट पारेको छ ।

बजार खोलेपछि विवाद भएर पुनः बन्द गर्नुपर्ने अवस्था नआओस् भनेर बोर्डले विभिन्न पहल थालेको हो । बजार खोल्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्न समिति पनि बनाएको छ । समितिको सुझाव आएपछि बोर्डले बजार खोल्ने संकेत दिएको छ ।

३ महीना पूरा
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि बन्द भएको शेयरबजार असार १० गते ३ महीना पूरा भएको छ । लकडाउनकै बीच अनलाइन कारोबार प्रणालीलाई आधार बनाई वैशाख ३० गतेदेखि बजार खोलिएको थियो । तर, २ दिनमै बजार बन्द गरियो । २ दिनमै लगानीकर्ताले रू.६३ अर्बभन्दा बढी सम्पत्ति गुमाएका थिए । त्यसपछि नियामक निकाय बोर्डले लकडाउन अवधिभर बजार सञ्चालन नगर्न नेप्सेलाई निर्देशन दियो र बजार बन्द छ । यो बीचमा बोर्डले आगामी सातादेखि बजार सुचारु गर्न आप्mनै नेतृत्वमा बजार सम्बद्ध सरोकारवाला निकायसहितको अध्ययन कमिटी बनाई काम गरिरहेको छ । असार १ गतेदेखि देशमा लकडाउन खुकुलो भई सबै व्यवसाय सञ्चालनमा आए पनि शेयरबजार बन्द हुनुको पछाडि सरकार पनि दोषी रहेको आरोप लगानीकर्ताको छ । रू. १५ खर्बको शेयरबजारलाई बेवास्था गरेको आरोप लगानीकर्ताले लगाएका छन् ।

कहिले बन्द नहुने गरी बजार सुचारु गछौं : अध्यक्ष ढुंगाना
बजार सुचारु भएपछि कहिले बन्द नहुने गरी खोल्ने तयारीमा बोर्ड जुटेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बजार बन्द गराउने नीति लिएको भन्दै लगानीकर्ताले आरोप लगाएका छन् । तर, बजार सुचारु भइसकेपछि लगानीकर्ताको मनोबल बढाउने खालका केही आधार तयार गर्न लागेको उनको भनाइ छ । अहिले ब्रोकर अफिसमै गएर कारोबार गर्न सकिने अवस्था छैन । हामीसँग भएको अनलाइन कारोबार प्रणाली पूर्णरूपमा सक्षम नभएको अवस्थामा त्यसमा सुधारका लागि नेप्सेलाई निर्देशन दिएको बताउँदै उनले सम्बद्ध सबै पक्ष यति बेला बजार सुधारका लागि आवश्यक काम गर्न लागिपरेका बताए । अनलाइन कारोबार प्रणालीसँग जोडिएका केही विषय र मार्जिन कर्जाको सीमालगायत राष्ट्र बैंकसँग जोडिएका विषयले बजार बन्द गरिएको बताइन्छ । ‘यी विषय क्रमशः सम्बोधन हुँदै छन् अब बजार खुल्दा कहिले बन्द नहुने गरी खुल्छ,’ अध्यक्ष ढुंगानाले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)