काठमाडौं/वीरगञ्ज । विद्युत् नियमन आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको विद्युत् महसुल खारेज गरेर माथिल्लो भोल्टेज (१३२ र ६६ केभी) बाट आपूर्ति लिएका औद्योगिक ग्राहकको महसुल बढाएकोमा उद्योगीहरूले असन्तुष्टि पोखेका छन् । माथिल्लो भोल्टेजका ग्राहकले बढी दरको महसुल बढाउँदा उत्पादन लागत बढ्ने उद्योगीहरूको भनाइ छ । यद्यपि केही उद्योगीहरूले भने डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको शुल्क हटाउँदा यस्तो महसुल वृद्धिले असर नगर्ने बताएका छन् ।
प्राधिकरणले लोडशेडिङको समयमा औद्योगिक ग्राहकलाई ६५ प्रतिशतसम्म महँगो प्रिमियम दरको महसुल लगाएको थियो । आयोगले प्रिमियम हटाएर सामान्य दरमा ७ दशमलव ५ देखि १४ प्रतिशतसम्म महसुल बढाएको छ । बढी विद्युत् खपत गर्र्ने अधिकांश उद्योगले माथिल्लो भोल्टेजको लाइनबाट आपूर्ति लिएका छन् । फलाम, सिमेन्टजस्ता बढी विद्युत्् चाहिने उद्योग महसुल वृद्धिको मारमा पर्ने उद्यमीहरू बताउँछन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले औद्योगिक लाइनको विद्युत् महसुल दर बढाएकोमा आपत्ति व्यक्त गरे । उनले भने, ‘आयोगले जारी गरेको महसुलदर स्वागतयोग्य भए पनि माथिल्लो भोल्टेजका ग्राहकलाई महसुल बढाउँदा उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ । महसुलदर नबढाएको भए राम्रो हुने थियो ।’
प्राधिकरणको ३३ र ११ केभी प्रसारण लाइनमा फिडरको कमजोर क्षमताका कारण बढी विद्युत्् खपत गर्ने उद्योगले ६६ र १३२ केभीबाट लाइन लिनुपर्ने बाध्यता छ । ‘यो लाइनका लागि ग्राहकले आफ्नै खर्चमा ट्रान्समिटर लगाउनुपर्छ । यसका लागि कम्तीमा ५ करोड रुपैयाँ अतिरिक्त व्ययभार थपिने भएकाले पनि महसुलमा सहुलियत दिइनुपर्छ भन्ने हाम्रो आग्रह हो,’ उद्योगी राजेश क्यालले भने ।
यही खर्चलाई ध्यानमा राखेर विगतमा ६६ केभीबाट आपूर्ति लिने ग्राहकको महसुल तल्लो भोल्टेजका औद्योगिक ग्राहकको तुलनामा ४० प्रतिशतसम्म सस्तो भएको संघका महासचिव माधव राजपालले बताए ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले आयोगद्वारा जारी नयाँ विद्युत् महसुलदर स्वागतयोग्य भएको बताए । ‘डेडिकेटेड फिडर र ट्रंक लाइनबापत महसुल लिने व्यवस्था खारेज गर्नुपर्छ भन्ने नै हाम्रो मुख्य माग हो, त्यो पूरा भएको छ, उनले भने, ‘महसुल सामान्य रूपमा वृद्धि भएको छ । यसले हामीले त्यस्तो खास असर गर्दैन ।’ यद्यपि, यस्तो विद्युत् महसुलदर नबढाएको भए राम्रो हुने उनको भनाइ छ ।
उनले थप भने, ‘नेपाल विद्युत् प्राधिकरणको प्रस्तावअनुसार नै महसुलदर निर्धारण गरेको भए हामी साँच्ची नै समस्यामा पर्ने थियौं । तर, आयोगले उद्योगीहरूको मागलाई उचित रूपमा सम्बोधन गरेको छ ।’ नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा विद्युत् नियमन आयोगले असारदेखि नै लागू हुने गरी हालै बिजुलीको नयाँ महसुलदर जारी गरेको थियो । डेडिकेटेड फिडर र ट्रंक लाइनबापत लिइँदै आइएको विद्युत् महसुलसम्बन्धी व्यवस्था खारेज गरिएको छ भने औद्योगिक विद्युत् महसुलदर बढाइएको छ ।
सरकारले उद्योग क्षेत्रबाट डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको उठाउँदै आएको विद्युत् महसुलदर खारेज गरे पनि विगतदेखि नै पेचिलो बन्दै आएको यसबापतको महसुल विवाद अझै अन्योलमा छ । औद्योगिक क्षेत्रमा २०७५ वैशाख ३१ गतेदेखि नै लोडशेडिङ अन्त्य भएको छ । तर, प्राधिकरणले भने त्यसपछि पनि डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको विद्युत् महसुलको बिल काट्दै आएको छ ।
उद्योगीहरूले त्यसबापतको रकम अझै तिरेका छैनन् भने नतिर्ने पनि दाबी गर्दै आएका छन् । प्राधिकरणका अनुसार त्यसबापत १० अर्ब रुपैयाँभन्दा बढी पैसा उठ्न बाँकी छ । उद्योगीहरूले उक्त रकम नतिर्ने बताए पनि प्राधिकरणले भने असुल गर्ने अडान कायमै राखेको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लोडशेडिङ डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको बक्यौता तिर्न नसकिने दाबी गरे । ‘लोडशेडिङको अन्त्यपछि त्यसमार्पmत विद्युत् प्रयोग नगर्दा पनि पनि उद्योगहरूमा बिल आइरहेको छ, जुन सम्बद्ध कार्यविधि र नियमअनुसार छैन,’ उनले भने, ‘तसर्थ, यसबापत विद्युत् महसुल उठाउनु आवश्यक छैन । यसले निजीक्षेत्रलाई पनि बदनाम गरेको छ । यसलाई खारेज गर्नुपर्छ ।’ सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले पनि त्यसबापतको बक्यौता खारेज गर्नुपर्ने बताए । उनले भने, ‘आयोगले यही असारदेखि डेडिकेटेड फिडर र टं«क लाइनबापतको विद्युत् महसुलदर खारेज गरेको छ । यो व्यवस्था औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य भएको मितिदेखि नै लागू गर्नुपर्छ ।’
यस विषयमा प्राधिकरण र उद्यागीबीच सहमति हुन नसकेपछि गतवर्ष नै मन्त्रिपरिषद्ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवको सयोजकत्वमा समिति गठन गरेको थियो । तर, महीनौं बित्दा पनि उक्त समितिले आवश्यक प्रतिवदेन सार्वजनिक भने गर्न सकेको छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने उक्त समितिको प्रतिवेदनको आधारमा नै यस विषयमा आवश्यक निर्णय गरिने बताए । समितिका संयोजक तथा मन्त्रालयका सचिव दिनेश घिमिरेले भने यस विषयमा अभैm पनि अध्ययन भइरहेको बताए । उनले भने, ‘हाल यस विषयमा अध्ययन भइरहेको छ । तर, अध्ययन कहिले पूरा हुन्छ भनेर भन्न सक्ने अवस्था भने छैन ।’
Urja ra water resource ko sahi utilize bina desh bikas samvab xaina. Urja ko bill tirdina vanne udhyogi bikas birodhi ra deshdrohi hun.