ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आफ्नै नीति विपरीत नयाँ पुलमा बजेट

४७३ नयाँ पुलको सम्भाव्यता अध्ययन गर्न रू.६६ करोड बजेट

२०७७ असार, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । स्थानीय र रणनीतिक सडक पुलको संख्या अत्यधिक भई आर्थिक व्ययभार बढेपछि सडक विभागले तत्कालका लागि पुलका नयाँ योजनामा काम नगर्ने बताए पनि आगामी आवको बजेटमा नयाँ पुलका लागि भने बजेट छुट्ट्याइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रणनीतिक सडक पुलहरूको विस्तृत सम्भाव्यता अध्ययन तथा सर्वे गर्न आर्थिक वर्ष २०७७/७८ का लागि ६६ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मन्त्रालयले आगामी आवको वार्षिक कार्यक्रममा ‘रणनीतिक सडक पुलहरूको विस्तृत सम्भाव्यता अध्ययन’ शीर्षकको नयाँ योजना राख्दै ४७३ ओटा नयाँ सडक पुलहरूको अध्ययन गरिने उल्लेख गरेको छ । यद्यपि यी पुलको निर्माण यो वर्ष नै शुरू नभए पनि निर्माण गर्न दबाब आउन सक्ने आकलन गरिएको छ ।

सडक विभागले ६ महीनाअघि नयाँ पुलहरू निर्माण केही वर्ष स्थगित गरी हाल निर्माणाधीन पुलहरू नै सम्पन्न गरिसक्ने र मर्मतसम्भारलाई अघि बढाउने रणनीति लिएको थियो ।

विभागका एक अधिकारीले राजनीतिक दबाबका कारण यो वर्ष यी पुलको अध्ययन गर्ने गरी योजना ल्याइएको बताए । ‘आगामी वर्षका लागि नयाँ पुलका योजना ल्याउने कुनै तयारी थिएन । तर, विभिन्न पक्षबाट दबाब आएका कारण पुलहरूको अध्ययन गर्न बजेटसमेत विनियोजन भइसकेको छ,’ उनले भने । चालू आवकै योजनाहरूमाथि छलफल हुँदा थप पुलका योजना नल्याउने र केही वर्षलाई पुल निर्माण (अत्यावश्यकबाहेक) स्थगित गरी निर्माणाधीन पुल सम्पन्न गर्ने योजना बनाइएको भए पनि कार्यान्वयन गर्न नसकिएको उनले बताए ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले स्थानीय सडक पुलकै संख्या बढी भइरहेको बताए । निर्माणाधीन पुलहरूको संख्या धेरै हुँदा अहिले लागत र दायित्व बढेको भए पनि नयाँ पुलको सर्वे गर्ने योजना अघि बढाइएको उनको भनाइ छ । ‘सर्वे गर्न कुनै समस्या छैन,’ उनले भने, ‘यद्यपि अहिले संख्या बढी भएका बेला अध्ययन गरेर मात्रै राखे अत्यावश्यक भएका बेला निर्माण गर्न सहज हुनेछ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौलाले हालको स्रोतसाधनअनुसार पुलको संख्या पर्याप्त रहेकाले नयाँ योजना ल्याउन आवश्यक नभएको बताए । नयाँ पुलको सम्भाव्यता अध्ययन हुनु नराम्रो नभए पनि अहिलेको अवस्थामा अत्यावश्यक नभएको उनको टिप्पणी छ ।‘निर्माणमा लैजाने भनिएको त छैन तर पनि अध्ययन भइसक्ने हुँदा दबाबमा निर्माण हुने सम्भावना धेरै हुन्छ ।’

विभागका अनुसार चालू आर्थिक वर्षमा १५० भन्दा बढी पुल निर्माण भइसकेका छन् भने ३०० ओटामा काम जारी रहेको छ । विभागअन्तर्गतको पुल महाशाखाका अनुसार अहिले मुलुकभर १ हजार ५०० भन्दा बढी पुल निर्माणाधीन अवस्थामा छन् । यीमध्ये ठूलो संख्याका पुल स्थानीय सडक पुल निर्माण योजनाअन्तर्गत पर्छन् ।

आगामी आवका लागि समग्र पुल निर्माणका लागि मन्त्रालयले ११ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । हाल मुलुकभर १ हजार १०१ स्थानीय सडक पुल रहेका छन्, जसका लागि सरकारले आगामी आवमा ६ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण शीर्षकमा मन्त्रालयले ४ अर्ब ५ करोेड बजेट विनियोजन गरेको छ । यो रकम ४१५ ओटा सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणमा खर्च हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)