ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजीक्षेत्रको स्वामित्वमा पुनर्बीमा कम्पनी स्थापना गर्ने तयारी

२०७७ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी स्थापना भएको केही समयमै निजीक्षेत्रको सक्रियतामा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने भएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरू र विभिन्न व्यावसायिक घरानाको प्रस्तावमा नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

हाल नेपालमा सरकारको मुख्य स्वामित्वमा नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । अब भने निजीक्षेत्रको मुख्य स्वामित्व हुने गरी नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न लागिएको हो । यद्यपि, त्यसमा सरकारी निकायको पनि स्वामित्व हुने प्रस्ताव गरिएको छ । प्रस्तावित कम्पनीको नाम अन्नपूर्ण रि–इन्स्योरेन्स कम्पनी लिमिटेड हुने बताइएको छ ।

नयाँ कम्पनी स्थापनाका लागि आवश्यक कानूनी प्रक्रिया साकार ल फर्मले तयार पारिरहेको छ । साकार ल फर्मका कर्पाेरेट अधिवक्ता भानुभक्त पोखरेलले नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रारम्भिक प्रक्रिया अगाडि बढाइएको बताए ।

‘विशेषगरी बीमा कम्पनीहरू र केही व्यावसायिक घरानाहरूको पहलमा नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न लागिएको हो । सबै बीमा कम्पनी, केही बैंक तथा व्यावसायिक घरानाहरूलाई लगानी गर्न पत्र पठाइसकेका छौं,’ उनले भने, ‘अब उनीहरूबाट लगानीको प्रतिबद्धता आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।’ बीमा कम्पनीहरूका सञ्चालकहरूको सक्रियतामा नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न लागिएको हो ।

बीमा कम्पनी, बैंक तथा व्यावसायिक घरानाबाट लगानीको प्रतिबद्धता आएपछि सम्बद्ध लगानीकर्ताबीच प्रारम्भिक छलफल गरिनेछ । त्यसपछि कम्पनीको प्रबन्धपत्र नियमावली बनाएर बीमा समितिमा सैद्धान्तिक सहमतिका लागि निवेदन दिइनेछ ।

समितिबाट सैद्धान्तिक सहमति पाएपछि कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गरी थप प्रक्रिया अगाडि बढाइने अधिवक्ता पोखरेलले जानकारी दिए । उनका अनुसार अबको २ सातामा लगानीको प्रतिबद्धता आउन सक्नेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ पुनर्बीमा कम्पनी खोल्न दिने मन्तव्य केही दिनअघि दिएका थिए । उनकै सहमतिमा नयाँ पुनर्बीमा कम्पनी खोल्न लागिएको बताइएको छ ।

प्रस्तावित कम्पनीको शेयर संरचना रू. १० अर्बको बनाउने प्रस्ताव गरिएको छ । त्यसमा ७५ प्रतिशत संस्थागत शेयर बनाउने तयारी गरिएको छ भने बाँकी २५ प्रतिशत शेयर भने सर्वसाधारणलाई विक्री गरिनेछ । अधिवक्ता पोखरेलका अनुसार कम्पनीमा बीमाक्षेत्रको ३० प्रतिशत शेयर बनाउने प्रस्ताव गरिएको छ । विभिन्न व्यावसायिक घरानालाई २५ प्रतिशत, बैंक तथा वित्तीय संस्थालाई १० प्रतिशत र सरकारी निकायलाई १० प्रतिशत शेयर विक्री गर्ने प्रस्ताव गरिएको छ ।

तर, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले लगानीका लागि कम्पनीहरूमा प्रस्ताव आएको बताए । उनले भने, ‘नयाँ पुनर्बीमा कम्पनी स्थापना हुँदै छ, लगानी गर्नुहोस् भनेर प्रस्ताव आएको छ । उक्त प्रस्तावमा संस्थागत लगानीकर्ता कोको हुने भनेर स्पष्ट खुलाइएको छैन, त्यसैले यस विषयमा अझै निर्णय गरेका छैनौं ।’

बीमा समितिमा पनि यस सम्बन्धमा अझै आधिकारिक जानकारी पुगेको छैन । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बजारमा नयाँ बीमा कम्पनी आउने भनिए पनि बीमा समितिमा कुनै जानकारी नआएको बताए । अधिवक्ता पोखरेलले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै समितिमा जाने बताए ।

नेपालमा थप पुनर्बीमा कम्पनी आवश्यक भएर नै नयाँ कम्पनी स्थापना गर्न लागिएको उनको भनाइ छ । ‘पुनर्बीमामार्फत धेरै रकम बाहिरियो । त्यसलाई न्यूनीकरण गर्न आवश्यक छ । साथै, नयाँ कम्पनी स्थापना हुँदा बजार पनि प्रतिस्पर्धात्मक र स्वस्थ हुन्छ,’ उनले भने, ‘तसर्थ, नयाँ कम्पनी स्थापना हुन लाग्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)