ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशबाट ऋण ल्याउने अग्रस्थानमा एनएमबि बैंक

आज साढे २ अर्बको सम्झौता गर्दै

२०७७ असार, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । राष्ट्र बैंकले बैंकहरूलाई विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन बाटो खुला गरेसँगै एनएमबि बैंक सबैभन्दा बढी ऋण ल्याउन सफल भएको छ । हालसम्म तीनओटा विदेशी वित्तीय संस्थाबाट ऋण ल्याइसकेको बैंकले आज (मंगलवार) विश्व बैंक समूहको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बाट साढे २ अर्ब रुपैयाँ (२५ मिलियन डलर) भित्र्याउन ऋण सम्झौता गर्दै छ । राष्ट्र बैंकले तरलता अभावको समस्या बढेपछि विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन बैंकहरूलाई बाटो खुला गरिदिएको छ ।

आईएफसीसँग एनएमबिको दोस्रोपटक ऋण सम्झौता हुन लागेको हो । उक्त सम्झौतापछि ऋण रकम प्राप्त गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइने एनएमबि बैंक स्रोतको भनाइ छ । बैंकले मंगलवार भर्चुअल प्रेस सम्मेलनमार्फत उक्त ऋण सम्झौताबारे विस्तृत जानकारी दिइने बताएको छ ।

यसअघि एनएमबिले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बाट डेढ अर्ब रुपैयाँभन्दा बढी (१५ मिलियन डलर) ल्याइसकेको छ । यसबाहेक स्वीट्जरल्यान्डको सिम्वायोटिक्स इन्भेस्टमेन्ट कम्पनीबाट करीब १ अर्ब रुपैयाँ र बेलायतको कमन वेल्थ डेभलपमेन्ट को–अपरेशनबाट करीब १ अर्ब रुपैयाँ ऋण भित्र्याएको थियो ।

एनएमबि बैंकमा विदेशी साझेदार संस्था भएकाले विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन सहज भएको अनुमान सरोकारवालाहरूले गर्दै आएका थिए । यद्यपि यस्तो ऋण ल्याउन केन्द्रीय बैंकले सूचना जारी गर्नुपूर्व नै पहल गरिरहेकाले यसअघि ऋण लिन सजिलो भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बताए । विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउने प्रक्रिया खासै झन्झटिलो नभएको उनको भनाइ छ ।

गत साता मात्र लक्ष्मी बैंकले दोहा बैंकबाट करीब २ अर्ब ४४ करोड (२० मिलियन अमेरिकी डलर) बराबरको ऋण भिœयाएको थियो । गत वैशाख १५ गते लक्ष्मी बैंक र दोहा बैंकको नेपालस्थित कन्ट्री हेड सुरज विक्रम शाहीबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

एनएमबि बैंकको पछिल्लो विदेशी ऋण सम्झौता र लक्ष्मी बैंकले भिœयाएको ऋणबाहेक वाणिज्य बैंक र लघुवित्तहरूलाई हालसम्ममा ६ करोड ६ लाख अमेरिकी डलर बराबरको कर्जा ल्याउन राष्ट्र बैंकले स्वीकृति दिइसकेको बताइएको छ । तरलता अभावको समस्या बढेसँगै केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाका लागि प्राथमिक पूँजीको शतप्रतिशत यस्तो ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

 

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)