ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तङ्ग्रिन सकेन वैदेशिक व्यापार : निर्यात वृद्धिदरमा झड्का, आयात पनि घट्यो

२०७७ असार, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनले प्रभावित बनेको मुलुकको वैदेशिक व्यापार अझै पनि तङ्ग्रिन सकेको छैन । सीमा नाकाहरू अझै पनि निर्बाध सञ्चालनमा आउन नसकेको र हवाई उडान रोकिएको कारण नेपालको वैदेशिक व्यापारमा ठूलो असर परेको हो ।

मुलुकको पहिलो र दोस्रो ठूला व्यापारिक साझेदार भारत र चीन दुवैतर्फको आयात निर्यात नराम्ररी प्रभावित बन्दा चालू आर्थिक वर्षको जेठसम्ममा मुलुकको वैदेशिक व्यापारमा १४ प्रतिशत कमी आएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको तुलनामा नेपालको कुल वैदेशिक व्यापार घटेको देखिन्छ भने आयात निर्याततर्फका सूचकांकहरूमा आएको कमी उकासिन सकेको छैन । जेठसम्मको अवधिमा नेपालले कुल ११ खर्ब ८१ खर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँको आयात गरेको थियो ।

समीक्षा अवधिमा नेपालको कुल व्यापारमा निर्यातको हिस्सा गत आवको तुलनामा झिनो अन्तरले (१ दशमलव ७ प्रतिशत) बढेको छ । चालू आवको प्रथम ११ महीनामा नेपालबाट ८८ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । गत आवको यसै अवधिमा ८७ अर्ब ८३ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको थियो । गत आवमा कुल व्यापारमा निर्यातको हिस्सा ६ दशमलव ३३ प्रतिशत रहेकोमा यसपटक ७ दशमलव ४ प्रतिशत पुगेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चैतदेखि जेठसम्मको ३ महीनामा १ खर्ब ७६ अर्ब ५७ करोड रुपैयाँबराबरको वस्तु आयात र १३ अर्ब ९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । ५ महीनादेखि चीनतर्फको रसुवागढी अझै सञ्चालनमा आएको छैन । भारततर्फको काँकडभिट्टा भन्सारमा समेत पटक पटक अवरोध देखिँदै आएको छ । त्यसको असर नेपालको वैदेशिक व्यापारमा परेको छ ।

विभागको तथ्यांक अनुसार भारतसँगको आयात घटे पनि निर्यात व्यापारमा झिनो सुधार आएको छ भने चीनतर्फको व्यापार पूरै प्रभावित भएको छ । नेपालबाट भारततर्फ ६२ अर्ब ९५ करोड रुपैयाँबराबरको निर्यात भएको छ, जुन गतवर्षको तुलनामा ११ दशमलव २४ प्रतिशत बढी हो । गत आवको जेठ मसान्तसम्म भारततर्फ ५६ करोड ५९ लाख रुपैयाँको निर्यात भएको थियो ।

यसैगरी चीनबाट हुने आयात ९ प्रतिशत र त्यसतर्फको निर्यात ४२ प्रतिशत घटेको तथ्यांकले देखाउँछ । बन्दाबन्दीका कारण चैतको मध्यदेखि नै अन्तरराष्ट्रिय उडान ठप्प भएकाले त्यसको असर निर्यात क्षेत्रमा देखिएको हो । चीनतर्पmको रसुवागढी र भारततर्फका नाकाहरू रहेको अवरोधका कारण वैदेशिक व्यापारमा केही असहज भए पनि समस्या सुधारोन्मुख भएकाले अब पुरानै लय लिने भन्सार विभागको अपेक्षा छ । विभागका महानिर्देशक सुमन घिमिरेका अनुसार रसुवागढी नाका यसै हप्ता सञ्चालनमा आउनेछ । यस्तै भारततर्फका नाकाहरूमा रहेको अवरोध पनि विस्तारै हट्दै गएकोले वैदेशिक व्यापारमा सुधार आउने विभागका अधिकारीहरूको ठम्याइ छ ।

वैदेशिक व्यापारमा परेको असरको सन्दर्भमा सरकारले अनावश्यक वस्तुको आयातमा प्रतिस्थापन गर्दै आत्मनिर्भरको बाटो लिनुपर्ने अर्थविद् केशव आचार्य बताउँछन् । उत्पादकत्व बढाएर मुलुकमा भइरहेको खाद्यान्नजस्ता वस्तुको आयात घटाउन जरुरी रहेको उनको बुझाइ छ । भन्सार विभागको तथ्यांकमा चामल मात्र चालू वर्षको ११ महीनामा ३० अर्ब ८२ करोडको आयात भएको देखिन्छ । यस्ता वस्तुहरूको आयात घटाउन जरुरी रहेको उनी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)