ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ महीनामा ४ ओटा वित्तीय संस्थालाई ऋण दिंदै आईएफसी

नेपालमा थप ६ करोड डलर लगानी गर्ने आईएफसीको योजना

२०७७ असार, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

असार १६, काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थालाई विदेशी ऋण उपलब्ध गर्दै आएको विश्व बैंक समूहको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले अबको ६ महीनाभित्र थप ६ करोड लगानी गर्ने योजना बनाएको छ । 

आईएफसीले मंगलवार एनएमबी बैंकलाई करीब २ अर्ब ७५ करोड रुपैयाँ (२ करोड ५० लाख डलर) बराबरको विदेशी ऋण उपलब्ध गर्न सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) गर्नेक्रममा यस्तो जानकारी दिएको हो ।

एमओयू गर्दै आईएफसीका नेपालस्थित कार्यवाहक प्रतिनिधि सन्तोष पाण्डेले ६ महीनाभित्र दुई ओटा वाणिज्य बैंक र दुई ओटा लघुवित्त वित्तीय संस्थामा ऋण लगानी गर्ने योजनामा रहेको जानकारी दिए । 

उनकाअनुसार आगामी आर्थिक वर्ष २०७७/ ७८ भित्र ५ करोड डलरदेखि ६ करोड डलर (५०–६० लाख डलर) सहयोग गर्ने सम्भावना छ ।

आईएफसी लघु, साना तथा घरेलु व्यवसाय –एमएसएमई) मा केन्द्रित भएर लगानी गर्ने संस्था भएकोले आफूहरुले प्रत्यक्ष लगानी गर्न सम्भव नहुने कारणले बैंक वित्तीय संस्थामार्फत यस्तो लगानीमा जोड दिएको उनको भनाइ छ ।
 ‘हामीले गरेको लगानी नीजि क्षेत्र अन्तर्गत लघु, साना तथा घरेलु व्यवसाय (एमएसएमई) मा  गर्ने गरी मात्र दिएका छौं । अब पाइपलाइनमा भएकालाई पनि यसै आधारमा ऋण उपलब्ध गर्छौं,’ उनले भने, ‘नेपालमा रजिष्टर्ड कम्पनीमा दर्ता भएका करीब ९० प्रतिशत कम्पनीहरु लघु, साना तथा घरेलु व्यवसायका छन् । यस्ता संस्थामा लगानी गर्दा रोजगारी सृजना गर्ने, निर्यातमा सहायता गर्ने, मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा योगदान दिने भएकाले हाम्रो जोड यसमा हो ।’ 

एनएमबीले आईएफसीबाट साढे २ करोड डलर ऋण लिन गर्‍यो सम्झौता 

एनएमबी बैंकले विश्व बैंक समूहको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) बाट  झण्डै रू.२ अर्ब ७५  करोड (साढे २ करोड डलर) बराबरको विदेशी ऋण प्राप्त गर्ने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र आईएफसीको नेपालस्थित कार्यवाहक प्रतिनिधि सन्तोष पाण्डे बीच मंगलवार सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) पछि एनएमबीले सो रकम बराबरको विदेशी ऋण प्राप्त गर्ने भएको हो । 

बैंकले मंगलवार वेबिनार प्रेस सम्मेलनमार्फत सार्वजनिक गरेको उक्त कार्यक्रममा सीईओ केसीले आईएफसीबाट प्राप्त ऋणलाई साना तथा घरेलु उद्यमीलाई केन्द्रित गरी कर्जा लगानी गर्ने बताए । 

दुई वर्षअघि पनि आईएफसीबाट १५ लाख डलर लिएको स्मरण गर्दै सीईओ केसीले अहिले लकडाउनले सबै क्षेत्रमा प्रभाव पारेपनि विषेश गरेर साना तथा घरेलु उद्यमी थप संकटमा परेकाले अबको लगानी यसैमा केन्द्रित हुने बताए ।

 ‘आईएफसीले ३ वर्षको लागि ‘ट्रम लोन’ अन्तर्गत उपलब्ध गरेको हो । सो ऋणलाई भित्र्याउन अब नेपाल राष्ट्र बैंकमा स्विकृतीका लागि आवेदन दिने छौं,’ उनले थप्दै भने, ‘पछिल्लो समय राष्ट्र बैंकबाट विदेशी रकम ल्याउन स्विकृतीको प्रक्रिया सहज भएको छ । शुरुका दिनमा अलि अफ्ठ्यारो थियो ।’

प्राथमिकताका हिसावले बैंकले एसएमईमा कर्जा प्रवाह गर्ने योजना भएको बताउँदै उनले यो योगदानले लकडाउनले खस्किएको मुलुकको अर्थतन्त्र माथि उठ्न मद्दत पुग्ने बताए ।

यसअघि उक्त कम्पनीले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) बाट करीब रू. १ अर्ब ५० करोडभन्दा बढी (१५ मिलियन डलर) ल्याइसकेको छ । 
यसबाहेक सोही कम्पनीले स्वीट्जरल्यान्डको सिम्वायोटिक्स इन्भेस्टमेन्ट कम्पनीबाट  करीब रू.१ अर्ब र बेलायतको कमन वेल्थ डेभलप्मेन्ट को–अपरेशनबाट करीब रू.१ अर्ब ऋण भित्रयाइसकेको छ ।

हालसम्म बैंक तथा वित्तीय संस्थामधये विदेशी ऋण ल्याउने मध्येमा अगपंक्तिमा रहेको एनएमबी बैंक विदेशी साझेदारी संस्था भएकोले आईएफसीले दोस्रो पटक पनि कर्जा दिन पत्याएको होत ? भन्ने अभियान संवाददाताको प्रश्नमा आईएफसीका प्रतिनिधि पाण्डेले स्विकार गर्दै भने, ‘एनएमबीमा एफएमओको लगानी भएकाले पनि सहज भएको हो । साथै यो बैंकको वासलात, डीडीए (सम्पत्ती दायित्व मुल्यांकन) सञ्चालक सदस्य, गुणस्तर, लगानी क्षेत्र लगायत सबै पाटो हेरेर पनि फेरी ऋण  उपलब्ध गराएका हौं ।’ 

तर यस बाहेक ग्लोवल आईएमई बैंक, निर्धन उत्थान र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई समेत ऋण उपलब्ध गरिसकेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)