ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानेपानी विभागका इन्जिनियरसँग स्रोत नखुलेको पौने ११ करोड सम्पत्ति

अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२०७७ असार, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार १६, काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा कार्यरत इन्जिनियर राजकुमार शाक्यसँग स्रोत नखुलेको पौने ११ करोड रूपैयाँ बराबरको सम्पत्ति रहेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग स्रोत नखुलेको पौने ११ करोड रूपैयाँ बराबरको सम्पत्ति भेटेपछि मंगलवार विशेष अदालतमा काठमाडौंमा शाक्यविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले गरेको अनुसन्धानमा उनले रू. १० करोड ७७ लाख ५० हजार ४५३ रूपैयाँ बराबरको रकम गैरकानूनी तरिकाले आर्जन गरेको देखिन आएको छ । दायर गरिएको मुद्दामा शाक्यसँग १० करोड ७७ लाख ५० हजार ४५३ रूपैयाँ बिगो दाबी गरिएको छ । 

आयोगका अनुसार  इन्जिनियर शाक्यले कमिसन नलिई काम नगर्ने, आर्थिक वर्ष २०७५/७६ मा करीब १ करोड रूपैयाँ कमिशन असुलेको, ठेकदारहरूसँग ५० लाख रूपैयाँ आफ्नो खातामा राख्न लगाएको आरोप लगाई अख्तियारमा उजुरी परेपछि उनीमाथि अनुसन्धान शुरू गरेको थियो ।

२०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरेका शाक्य २०६४ माघ १ गते इन्जिनियर पदमा र २०७२ कात्तिक १० गतेदेखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएको अख्तियारले जानकारी दिएको छ । 

अख्तियारका अनुसार शाक्यले सार्वजनिक सेवामा रही काम गर्दा रू. १  करोड ६१ लाख ७३ हजार ५६१ रूपैयाँ वैधानिक रूपमा आर्जन गरेको देखिएको छ ।  तर, सोही अवधिमा उनले सम्पत्ति सिर्जना तथा लगानी गर्नमा १२ करोड ३९ लाख २४ हजार १४ रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोईरालले जानकारी दिए ।

अख्तियारले उनी सरकारी सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको अवधिमा उनको आयआर्जनको अनुसन्धान गरेको थियो । अनुसन्धानमा शाक्यले जाँच अवधिमा सार्वजनिक सेवामा रही एक करोड ६१ लाख ७३ हजार ५६१ रूपैयाँ वैधानिक रूपमा आर्जन गरेको देखिएको थियो । तर, सोही अवधिमा उनले सम्पत्ति सिर्जना तथा लगानी गर्नमा १२ करोड ३९ लाख २४ हजार १४ रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ । 

शाक्यको सम्पत्तिमध्ये १० करोड ७७ लाख ५० हजार ४५३ रूपैयाँ बराबरको भागलाई वैध आयस्रोतले नसमेटिने अख्तियारले ठहर गरेको छ । सार्वजनिक सेवामा प्रवेशपछि  शाक्यले आफू र श्रीमतीका नाममा जग्गा खरीद, घर निर्माण, सवारीसाधन खरीद गर्नुका साथै विभिन्न बैंक तथा वित्तिय संस्थाहरूमा खाता खोली मुद्दती निक्षेपमा अवैध रकमहरू राखेको अख्तियारले जानकारी दिएको छ । 

यस्तै नेपाल विद्युत प्राधिकरणको फोरमेन पदबाट अवकाश प्राप्त टहल बहादुर कार्कीले निज बहाल रहँदा गैरकानूनी रुपमा रू. १ करोड ९ लाख ७० हजार ६५८ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको देखिएकोले उनी विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ । 

२०३९ सालमा सेवा प्रवेश गरेका कार्कीले अवकाश भएको मिति २०७३ सालसम्ममा रू. २ करोड १२ लाख ४८ हजार ४७२ आय आर्जन गरेको र सोही अवधिमा अवधिमा उनले रू. ३ करोड २२ लाख ३६ हजार १३० खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जानकारी दिएको छ । 

उनलाई १ करोड ९ लाख ८७ हजार ६५८ रुपैयाँ बिगो कायम गरी जफतको लागि मागदाबी सहित विशेष अदालत, आरोपपत्र दायर गरिएको छ ।

यस्तै ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत जीवन कुमार यादव र सव डिभिजन वन कार्यालय फुङ्लिङ, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत वीरेन्द्र प्रसाद साहले जडिबुटी निकासी छूटपूर्र्जी दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा दुई लाख घुस बापतको रकम बुझेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ । 

उनीहरुलाई जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)