ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खेतीपातीमा बढ्दो प्रविधिको प्रयोग : गोरुको पुच्छर छोडेर ट्र्याक्टरको एक्सिलेटर बटार्दै किसान

२०७७ असार, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । यो असारको महीना, मानो रोपेर मुरी उब्जाउने समय हो । किसानहरू कोरोनाको संत्रासका बीच पनि यतिबेला रोपाइँमा व्यस्त छन् । असार १५ पनि नाघिसकेकाले म्याग्दीका प्रायः सबै ठाउँमा यतिबेला धमाधम रोपाइँ भइरहेको छ ।

विगतका वर्षहरूमा भन्दा यस वर्षको रोपाइँ धेरै किसिमले महŒवपूर्ण र रोचक पनि मानिएको छ । विगतमा कृषि मजदुरको अभाव र समयमा नै वर्षा नभएका कारण रोपाइँ गर्न ढिला हुने गर्दथ्यो । तर, यस वर्ष भने त्यो समस्या छैन । समयमै पानी परिरहेको छ भने लकडाउनका कारण गाउँ फर्किएका युवायुवती खेतीपातीमा परिचालित भएका कारण यो वर्ष सहज महसुस गरिएको हो ।

त्यसैगरी विगतका वर्षहरूमा खेतका गह्रामा हलगोरु नारेर जोत्ने गरिन्थ्यो भने यस वर्ष गोरु नारेर गोरुको पुच्छर निमोठ्दै जोतेर होइन अधिकांश ठाउँमा मिनी टिलरको एक्सिलेटर बटारेर खेतमा ट्र्याक्टर गुडाइँदै रोपाइँ भइरहेको दृश्य यत्रतत्र देखिन्छ ।

हिमाली जिल्ला म्याग्दीको कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको छ । खेत जोत्न हाते ट्र्याक्टर (मिनी टिलर) को प्रयोग हुन थालेपछि गाउँघरबाट गोरु करीब विस्थापित हुन थालेका छन् । विगतका वर्षहरूमा गह्रैपिच्छे गोरु नारेर पुच्छर निमोठ्दै रोपाइँ गर्ने कृषकहरू अहिले ट्र्याक्टरको एक्सिलेटर बटारेर खेतका गह्राहरू हिल्याउन र साउन व्यस्त छन् ।

स्थानीय सरकारले कृषिलाई उच्च प्राथमिकता दिँदै किसानहरूलाई विभिन्न किसिमका सहुलियत र सहयोग गर्न थालेपछि म्याग्दीका विकट गाउँहरूमा समेत कृषि प्रविधि भित्रिनुका साथै प्रयोग समेत बढेको छ ।

गाउँगाउँमा प्रविधि (मिनी टिलर)को पहुँच बढेसँगै किसानहरू गोठमा पालेका गोरु बेचेर मिनी टिलर भित्र््याउन थालेका छन् । म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतका सागर खत्री गोरु पाल्दा घाँस खुवाउनु पर्ने, स्याहार गर्नु पर्ने र वर्षमा ५÷७ दिनको कामका लागि वर्षभरी स्याहार गर्न झन्झट हुने भएकाले गोरु बेचेर मिनी टिलरबाट काम गर्न थालेको बताउँछन् ।

गत वर्षसम्म गोरु नारेर पुच्छर निमोठ्दै खेत जोत्ने मंगला गाउँपालिका सल्यानका पृथबहादुर बिक अहिले ट्र्याक्टरको एक्सिलेटर बटार्न व्यस्त छन् । गोरुले ४÷५ दिन लगाएर जोत्ने ठाउँमा ट्र्याक्टरले एकैदिन जोतिदिने हुँदा सजिलो र परिश्रम पनि कम हुने भएकाले गोरुको तुलनमा ट्र्याक्टरको प्रयोग बढेको बिकले बताए । उनले भने, ‘गोरुको भन्दा ट्र्याक्टर जोत्न निकै सजिलो छ, खर्च पनि कम लाग्छ ।’

खेत जोत्ने हाते ट्र्याक्टर रू. ३५ हजारदेखि ४० हजारसम्ममा पाइने गरेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकामा रोपाइँका लागि ४० प्रतिशत भन्दा बढी मिनी टिलरको प्रयोग भएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

म्याग्दीका ६ ओटा स्थानीय तहले किसानलाई यस वर्ष ३०० को हाराहारीमा ५० प्रतिशत अनुदानमा मिनी टिलर (यान्त्रिक हलो) वितरण गरेका छन् । यसले किसानहरू प्रविधितर्फ आकर्षित भएका छन् भने काममा सहजता ल्याइदिएको छ ।

यहाँ मिनी टिलरले प्रतिघण्टा रू. ६०० मा जोत्ने नियम बनाइएको छ । गोरुले जोत्दा रू. ३ हजार खर्च हुने ठाउँमा ट्र्याक्टर प्रयोग गर्दा रू. १ हजार २०० ले नै पुग्ने गरेको अर्मनका किसान पूर्णलाल सापकोटाले बताए । ‘दुई हलको मेलो ट्र्याक्टरले २ घण्टामै सकाइदियो’, उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)