ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेठ महीनामा औसतभन्दा बढी विप्रेषण भित्रियो

१ खर्ब विप्रेषण भित्रिएको अनुमान छ : राष्ट्र बैंक

२०७७ असार, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित अधिकांश श्रम गन्तव्य मुलुकमा लगाइएको लकडाउनका कारण चैत र वैशाखमा घटेको विप्रेषण आप्रवाह जेठमा ह्वात्तै बढेको छ । जेठमा सामान्य अवस्थामा भन्दा बढी विप्रेषण भित्रिएको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

नेपालमा सामान्य अवस्थामा मासिक औसत ७३ अर्ब रुपैयाँ हाराहारीमा विप्रेषण भित्रिने गरेको छ । तर, जेठ महीनामा भने करीब १ खर्ब रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंक तथा रेमिट कम्पनीहरूको अनुमान छ ।

श्रम गन्तव्यमा कोरोना महामारी र लकडाउनका कारण चालू आवको चैतमा ३४ अर्ब र वैशाखमा ५४ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो, जुन औसतभन्दा कम हो ।

जेठमा औसतभन्दा पनि बढी विप्रेषण आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता  डा. गुणाकर भट्ट समेत स्वीकार्छन् । ‘यद्यपि, पूर्ण तथ्यांक अझै आइसकेको छैन । बैंक तथा रेमिट कम्पनीले जेठमा उल्लेख्य मात्रामा विप्रेषण आएको बताएका छन्,’ उनले बताए, ‘प्राप्त तथ्यांकका आधारमा जेठमा १ खर्ब नजीक विप्रेषण आएको अनुमान छ ।’
नेपाल भित्रिने विप्रेषण बढ्नुमा विशेषगरी यो अवधिमा हुण्डीको कारोबारमा कमी आउनु तथा विदेशमा होल्ड भएको पैसा लकडाउन खुला भएपछि एकैचोटि नेपाल आउनु प्रमुख कारण रहेको भट्टको बुझाइ छ । ‘श्रम गन्तव्यहरूमा लकडाउन कडा हुँदा पैसा पठाउन सक्ने अवस्था थिएन । अहिले लकडाउन खुकुलो भएपछि विप्रेषण आप्रवाहमा सुधार आएको हुन सक्छ,’ उनले बताए ।

नेपाल रेमिट्यान्स एशोसिएशनका अध्यक्ष सुमन पोखरेलका अनुसार पनि जेठमा सामान्य अवस्थामा भन्दा बढी विप्रेषण आप्रवाह भएको पाइएको छ । ‘जेठमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ,’ उनले बताए ।

असारका पहिलो २ सातामा भने जेठमा जसरी विप्रेषण आप्रवाह नभएको पोखरेलको भनाइ छ । ‘जेठमा जुन रूपमा विप्रेषण आएको थियो, असारको पहिलो २ सातामा त्यो अनुसार भएको छैन । यो महीना औसत रूपमै विप्रेषण आउला,’ उनले बताए, ‘असारमा ६०–७० अर्ब रुपैयाँ हाराहारीमा विप्रेषण भित्रने अनुमान गरेका छौं ।’

विश्वव्यापी कोरोना महामारीका कारण विश्व श्रम बजार नै प्रभावित भएपछि विप्रेषण आप्रवाहमा धक्का लाग्ने अनुमान गरिएको थियो । तर, चालू आर्थिक वर्षमा भने अनुमान गरे अनुसार विप्रेषण आप्रवाह प्रभावित नहुने नेपाल राष्ट्र बैंक तथा रेमिट कम्पनीहरूको बुझाइ छ ।

चालू आवको वैशाखसम्ममा विप्रेषण आप्रवाहमा ६ प्रतिशत कमी आइसकेको थियो । असारसम्म पुग्दा विप्रेषण आप्रवाह १० प्रतिशत कमी आउने अनुमान गरिएको थियो ।

तर, अहिले भने विप्रेषण आप्रवाह १० प्रतिशतभन्दा कम मात्रामा संकुचन हुने अनुमान गरिएको छ ।

आईएमई रेमिट्यान्सकासीईओ समेत रहेका पोखरेलले विप्रेषण आप्रवाहमा सोचेजस्तो असर नदेखिएको बताए । ‘कोरोनाका कारण विप्रेषण आप्रवाह नमज्जाले खुम्चने आशंका थियो । तर, हालसम्म त्यस्तो देखिएन, जसकारण चालू आवमा २÷३ प्रतिशतले मात्र यसमा कमी आउन सक्छ,’ उनले बताए, ‘तर, आगामी आवमा विप्रेषण आप्रवाहको स्थिति के हुन्छ, भन्न सकिने अवस्था छैन ।’ त्यस्तै बुझाइ राष्ट्र बैंकका प्रवक्ता डा. भट्टको पनि छ ।

गत आवको जेठसम्म रू. ७ खर्ब ९९ अर्ब विप्रेषण आप्रवाह भएको थियो । चालू आवको वैशाखसम्म रू. ६ खर्ब ८१ अर्ब विप्रेषण आप्रवाह भएको थियो । त्यसमा जेठ महीनाको अनुमानित तथ्यांक (१ खर्ब) जोड्दा चालू आवको जेठसम्ममा ७ खर्ब ८० अर्ब रुपैयाँ भित्रिएको अनुमान छ, जसअनुसार जेठसम्म आउँदा विप्रेषण आप्रवाह २ दशमलव ३७ प्रतिशत घटेको देखिन्छ ।

यसैगरी असारमा करीब ७० अर्ब रुपैयाँ र चालू आवमा बढीमा रू. ८ खर्ब ५० करोड विप्रेषण आउने अनुमान गरिएको छ । त्यसो भएमा चालू आवमा विप्रेषण आप्रवाह ३ दशमलव २९ प्रतिशत मात्र घट्नेछ, जुन सरकारको अनुमानभन्दा कम हो । राष्ट्र बैंकका अनुसार गत आवमा रू. ८ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)