ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आउँदो ६ महीनामा ४ वित्तीय संस्थालाई ऋण दिँदै आईएफसी

२०७७ असार, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले अबको ६ महीनाभित्र थप ६ करोड डलर लगानी गर्ने भएको छ । मंगलवार एनएमबि बैंकलाई झण्डै पौने ३ अर्ब रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) बराबरको ऋण उपलब्ध गर्न सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) गर्ने क्रममा आईएफसीले यस्तो जानकारी दिएको हो ।

आईएफसी ६ महीनाभित्र नेपालका दुईओटा वाणिज्य बैंक र दुईओटा लघुवित्त वित्तीय संस्थामा ऋण लगानी गर्ने योजनामा रहेको आईएफसीका नेपालस्थित कार्यवाहक आवासीय प्रतिनिधि सन्तोष पाण्डेले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७्७८ भित्र ५–६ करोड अमेरिकी डलर लगानी गर्ने सम्भावना छ । ‘हामीले गरेको लगानी निजीक्षेत्र अन्तर्गत लघु, साना तथा घरेलु व्यवसाय (एमएसएमई)मा गर्नेगरी मात्र दिएका छौं ।

अब पाइपलाइनमा भएकालाई पनि यसै आधारमा ऋण उपलब्ध गर्छौं,’ उनले बताए, ‘नेपालमा रजिष्टर्ड कम्पनीमा दर्ता भएका करीब ९० प्रतिशत कम्पनीहरू लघु, साना तथा घरेलु व्यवसायका छन् । यस्ता संस्थामा लगानी गर्दा रोजगारी सृजना, निर्यातमा सहायता र मुलुकको कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने भएकाले हाम्रो जोड यसमा हो ।’

एनएमबिसँग साढे २ करोड डलर ऋण सम्झौता
एनएमबि बैंकले आईएफसीबाट झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको विदेशी ऋण प्राप्त गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र आईएफसीको नेपालस्थित कार्यवाहक आवासीय प्रतिनिधि सन्तोष पाण्डेबीच मंगलवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एनएमबिका सीईओ केसीले आईएफसीबाट प्राप्त ऋणलाई साना तथा घरेलु उद्यमीलाई केन्द्रित गरी कर्जा लगानी गरिने बताए । २ वर्षअघि पनि आईएफसीबाट १५ मिलियन डलर लिएको स्मरण गर्दै उनले अहिले लकडाउनले सबै क्षेत्रमा प्रभाव पारे पनि विशेषगरी साना तथा घरेलु उद्यमी थप संकटमा परेकाले बैंकको अबको लगानी यसैमा केन्द्रित हुने बताए ।  ‘आईएफसीले यो रकम ३ वर्षका लागि टर्म लोन अन्तर्गत उपलब्ध गराएको हो । अब सो ऋणलाई भित्र्याउने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिनेछौं,’ उनले बताए, ‘विदेशी रकम ल्याउन पछिल्लो समय राष्ट्र बैंकले स्वीकृति प्रक्रिया सहज बनाएको छ ।’ बैंकले एसएमईमा कर्जा प्रवाह गर्ने योजनालाई प्राथमिकतामा राखेको भन्दै उनले यसले लकडाउनका कारण खस्किएको अर्थतन्त्र पुनरुत्थानमा मद्दत पुग्ने बताए । यसअघि एनएमबिले आईएफसीका अतिरिक्त स्वीट्जरल्यान्डको सिम्वायोटिक्स इन्भेस्टमेन्ट कम्पनीबाट करीब १ अर्ब र बेलायतको कमनवेल्थ डेभलपमेन्ट को–अपरेशनबाट करीब १ अर्ब रुपैयाँ ऋण ल्याइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)