ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्ट सिटी, रामायण पार्क र युद्ध पोल संग्रहालय बनाउँदै बेनी नगरपालिका

२०७७ असार, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि साढे ५८ करोड बजेट सार्वजनिक गरेको बेनी नगरपालिकाले बेनीलाई स्मार्ट सिटी, नगरपालिकाभित्र रामायण पार्क र युद्ध पोल संग्रहालय संग्रहालय बनाउने भएको छ । बेनी नगरपालिकाको सातौं नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा उक्त योजना घोषणा गरिएको हो ।

नगरपालिकाले बेनीलाई स्मार्ट सिटीको रूपमा विकास गर्न आवधिक योजना, क्षेत्रगत गुरुयोजना तयार पार्ने नीति लिएको छ । बेनीदेखि वडाहरूको केन्द्र जोड्ने सडक स्तरोन्नति गरी बाह्रै महीना सवारीसाधन सञ्चालन गर्न सडक स्तरोन्नतिलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरमा खरका छाना र काठका विद्युत्का पोल विस्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

यसैगरी नगरको महत्त्वाकांक्षी योजना मानिएको रामायण पार्क निर्माण प्रक्रिया शुरू गर्ने र सशस्त्र द्वन्द्वका बेला बेनी आक्रमणमा गोली लागेर छियाछिया भएको विद्युत् पोललाई संग्रहालयमा राख्ने बेनी नगरपालिकाको
योजना छ ।

पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा प्रवद्र्धन गर्न गलेश्वरधाम, पुलहाश्रम, जगन्नाथ, कपिलाश्रम स्वर्गाश्रम, ज्यामरुककोट, बेनीकोट भण्डार, गुफाराम मन्दिर, शिवालय मन्दिर समेटेर धार्मिक सर्किट र तातोपानीलाई प्राकृतिक उपचारस्थलका साथै पर्यटकीय स्थल बनाउन जोड दिइएको छ ।

आन्तरिक स्रोतको पहिचान तथा परिचालन, करदातालाई सम्मान, बेरुजू फर्छ्योटमा प्राथमिकता, घर बहाल करलाई व्यवस्थित बनाउने, कृषि बीमा गर्ने, ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिने, अण्डा, दूध र मासुमा नगरलाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै सिँचाइ सुविधा विस्तार, चौतारी पोखरीको संरक्षण, भूमि बैंक स्थापना, सार्वजनिक जग्गाको संरक्षण, स्थानीय कच्चा पदार्थमा आधारित उद्यमको प्रवद्र्धन गर्ने नीति नगरले लिएको छ ।

सामाजिक क्षेत्रतर्फ विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान, अंग्रेजी माध्यमबाट पढाउने विद्यालयलाई प्रोत्साहन, बालमैत्री शिक्षण विधि, ‘एक वडा एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन, विपन्न जेहेनदार दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान, निजी छात्रावासलाई नियमन र ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ । साथै ‘एक विद्यालय एक नर्स’, खानेपानी सुविधा विस्तार गर्न ‘एक घर एक धारा’ अभियान, छाडा पशुको व्यवस्थापन, सडक छेउछाउका पाखोमा बिरुवा रोपण, सडक स्तरोन्नति, बेनीको ढल निकास र फोहोर व्यवस्थापन, नदी नियन्त्रणका लागि अन्य निकायसँग समन्वय र आमा समूह तथा युवा क्लबलाई एकीकृत गर्ने नीति नगरले लिएको छ ।

यसैगरी कोरोना नियन्त्रणका साथै विकास र सेवा प्रवाहलाई निरन्तरता दिइने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । नगरले निजी, सहकारी र सार्वजनिक निकायको साझेदारीमा विकास योजना सञ्चालन, रोजगारी सृजना, कृषिको आधुनिकीकरण तथा विविधीकरण र ‘एक वडा एक युवा क्लब तथा एक खेलमैदान’को नीति अघि सारेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)