ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सिल्टेसन ड्याम’ निर्माण अन्तिम चरणमा

२०७७ असार, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पर्यटकीय नगरी पोखरास्थित फेवातालको संरक्षणका लागि तालको सिरान क्षेत्रमा थालिएको ‘सिल्टेसन ड्याम’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फेवातालको उत्तरतर्फ पर्ने सिरान क्षेत्रका हर्पन, बेत्यानी र अँधेरीखोला लगायत अन्य खोलाले बगाएर ल्याउने ढुंगा, गिट्टी, माटो, बालुवालगायत गेगर रोक्न सिल्टेसन निर्माण गरिएको हो ।
ड्यामको करीब ९९ प्रतिशत काम सम्पन्न भएको छ । बगेर आएको बालुवा माटो सिधै फेवातालमा नगइ पोखरीमा जम्मा गर्ने गरी उक्त ड्याम निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको रू. २८ करोड ९६ लाख लागतमा सिल्ट पोखरी र ड्याम तयार भएको हो । २०७५ भदौमा सम्झौता भई २०७६ असारदेखि निर्माण थालिएको ड्याम निर्माण कार्य लगभग पूरा भएको पोखरा महानगरपालिकाले बताएको छ ।

बेत्यानी खोला, अँधेरीखोला र हर्पनखोलामा ड्याम निर्माणको काम ९५ प्रतिशत सकिएको छ भने लौरुक खोलामा ८५ प्रतिशत काम सकिएको पोखरा महानगरका इन्जिनीयर बिमल आचार्यले बताए । ‘पोखरा महानगर र प्रदेश सरकरको रू. २८ करोड ९६ लाखको संयुक्त लगानीमा निर्माण गरिएका ड्यामको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’, उनले भने । तीन ओटा खोलामा निर्माण गरिएका ड्यामाको ९९ प्रतिशत काम सकिएपछि सिल्ट जम्मा हुने क्रम शुरू भएको उनको भनाइ छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत फेवाताल संरक्षणका लागि १० ओटा ड्याम निर्माण गर्ने योजना छ । सोहीअन्तर्गत पहिलो चरणमा यी ४ ओटा ड्याम निर्माण गरिएका हुन् । कोरोना संक्रमणका कारण भौतिक पूर्वाधार निमार्णका काम ठप्प भएको अवस्थामा समेत ड्याम निर्माणको काम निरन्तर चलिरहेको छ । प्रत्येक वर्ष वर्षातमा आउने बाढीसँगै फेवातालको क्षेत्रफल साघुरिँदै जान थालेपछि प्रदेश सरकार र महानगरको लगानीमा ड्याम निर्माण थालिएको हो ।

तालको सिरान क्षेत्रमा रहेका ४ ओटा खोलामा सिल्ट पोखरी र ड्याम निर्माण गर्न कुल रू. ३४ करोड ४९ लाख अनुमान गरिए पनि रू. २८ करोड ९६ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । इन्जिनीयर आचार्यका अनुसार बेत्यानी र लौरुक खोलामा ५० मिटर लम्बाई, ५० मिटर चौंडाइ र ४ मिटर उचाइको ड्याम बनाइएको छ । त्यसैगरी अँधेरीखोला र घाँटीछिनास्थित हर्पनखोलामा १०० मिटर लम्बाई र चौंडाई तथा ४ मिटर उचाईको ‘सिल्टेसन ड्याम’ बनाइएको छ ।

फेवाताल जलाधार संरक्षण अभियान अन्तर्गत बेत्यानी खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ गीता/जयनेपाल ईश्वर जेभीले रू. ५ करोड ४६ लाख ५८ हजार ९७५ लागतमा निर्माण गरेको हो । त्यस्तै खड्का कृष्ण÷पि.के जेभीले निर्माण गरेको लौरुक खोला, अँधेरीखोला र हर्पनखोलास्थित ड्यामको लागत क्रमशः रू. ५ करोड ७४ लाख ८४ हजार ९९८, रू. ९ करोड ६ लाख ४ हजार ५५८ र रू. ७ करोड ८८ लाख ६२ हजार ५४१ छ ।

तालको सिरान क्षेत्रका खोलाहरूबाट बगेर आउने ढुंगा, गिट्टी, माटो, बालुवालगायतका गेगर सिल्ट पोखरीमा जम्मा भएर पानीमात्र तालमा मिसिने हुँदा ताल पुरिनबाट जोगिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । तीनै तहका सरकारको सहकार्यमा प्राकृतिक सम्पदाहरूको संरक्षण हुनु पर्ने उनको भनाइ छ ।

सिल्ट पोखरी र ड्याम निर्माणपछि पोखरीमा जम्मा भएको सिल्ट निकालेर बेच्दा वार्षिक रू. ३ करोड भन्दा बढी आम्दानी हुने महानगरपालिकाका इन्जिनीयर विमल आचार्य बताउँछन् । उनका अनुसार वार्षिक रू. २ करोड ७६ हजार घनमिटर सिल्ट (गिट्टीबालुवा) निस्कन्छ । अहिले १ घनमिटरको बजारमूल्य रू. १४२ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)