ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्टमा दुई ठूला कम्पनीको उदय

२०७७ असार, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । बन्दाबन्दीले व्यवसायीहरू लगानी गर्न ‘पर्ख र हेर’को अवस्थामा रहेको समयमा दुई सिमेन्ट उद्योगले भने अर्बौं लगानी थप गरेका छन् । विगत १५ वर्षदेखि दर्तामा मात्रै सीमित दाङ सिमेन्टले ३ वर्षभित्र सिमेन्ट र क्लिंकर उत्पादन गर्ने लक्ष्यसहित रू. ३२ अर्ब ५० करोड लगानी स्वीकृत गराएको छ भने सम्राट सिमेन्ट उद्योगले क्लिंकर र सिमेन्ट उत्पादन क्षमता विस्तार गर्न रू. ८ अर्ब ५ करोड थप गरेर रू. १५ अर्ब ५ करोड लगानी स्वीकृत गराएको छ ।

सिमेन्ट तथा क्लिंकर उद्योगमा नेपाल आत्मनिर्भर भएको भनिइरहेका बेला अहिले पुराना यी दुई उद्योग अघि आएका हुन् । यी दुई सिमेन्ट उद्योग प्रदेश नं. ५ को दाङ जिल्लामा रहेका ठूला सिमेन्ट उद्योगमध्येमा पर्छन् । लगानी बोर्ड नेपालले यी दुई ठूला उद्योगको लगानी असार ५ गते स्वीकृत गरिसकेको छ । यससँगै सिमेन्ट उद्योगमा कुल रू. ४७ अर्ब ५५ करोड लगानी थपिँदै छ ।

२०७० मा उद्योग विभागमा दर्ता भएको सम्राट सिमेन्टले त्यति बेला क्लिंकरसमेत उत्पादन गर्ने भन्दै रू. ७ अर्बको लगानी स्वीकृत गराएको थियो । हाल सिमेन्ट मात्रै उत्पादन गर्दै आएको यस कम्पनीले अहिले लगानी थप गरेसँगै उद्योगले क्लिंकरसमेत उत्पादन गर्ने बताएको छ । उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सिनाले ३ वर्षअघि क्लिंकर किनेर सिमेन्ट उत्पादन थालिएको भए पनि पूर्ण क्षमतामा सञ्चालन नभएको बताए । यसमा दाङका स्थानीयको ५० प्रतिशत शेयर रहेको छ ।

‘उद्योगबाट प्रतिदिन ३० हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ,’ तिमिल्सिनाले भने, ‘क्लिंकर उत्पादन गर्ने तयारी अन्तिम चरणमा पु¥याएका छौं, ३ महीनामा क्लिंकर उत्पादन गर्दै छौं ।’ उद्योगबाट साढे ६ मेगावाट बिजुलीसमेत उत्पादन हुने र त्यो बिजुली उद्योगमै खपत हुने उनले जानकारी दिए । दर्ताको ७ वर्षपछि उद्योगले दोब्बरभन्दा बढी लगानी थप गरेर क्षमतासमेत विस्तार गरेको छ ।

सम्राटकोे पहिला दर्ता हुँदा प्रतिदिन १८ सय टन सिमेन्ट उत्पादन क्षमता थियो । लगानी वृद्धि भएसँगै यसले प्रतिदिन ४५ सय टन क्लिंकर र ३६ सय टन सिमेन्ट उत्पादन गर्ने तिमिल्सिनाको भनाइ छ । कम्पनीले हाल ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको छ । जनशक्ति, कच्चा पदार्थको व्यवस्थापन र भारतबाट प्राविधिक आएपछि पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।

सम्राटले क्लिंकर उत्पादनका लागि दाङ र रोल्पामा चुनढुंगा खानीसमेत लिइसकेको छ । हाल कम्पनीले १५० जनालाई रोजगारी दिएको छ भने क्षमता विस्तारपछि ५०० जनाले रोजगारी पाउनेछन् ।

दाङ सिमेन्टले लगानीका लागि सैद्धान्तिक सहमति पाए पनि शून्यबाट काम शुरू गर्नुपर्ने छ । कानूनी प्रक्रिया पूरा गरेर ३ वर्षसम्ममा उत्पादन शुरू गर्ने लक्ष्य दाङ सिमेन्टले लिएको छ । तत्कालीन दाङ सिमेन्टले परियोजना ल्याउन नसकेपछि भारतीय कम्पनी अम्बु्जा सिमेन्टले यस कम्पनी को ९० प्रतिशत बढी शेयर किनेको थियो।

द्वन्द्व कालमा काम गर्ने वातावरण नभएपछि उक्त कम्पनीले काम नै रोकेको थियो । सो समयमा केही जग्गा खरीद र कम्पनी दर्ताबाहेक केही काम हुन नसकेको उद्योगका एक अधिकारीले बताए ।

भारतीय कम्पनी अम्बुजा ग्रूपको लगानी रहेकोमा अहिले यसको शेयर चिनियाँ कम्पनी होङसी सिमेन्टसँग आबद्ध भएको हङकङ रेडलाइनले किनेको छ । लगानीसमेत उल्लेख्य वृद्धि भएको यस उद्योगले ६ हजार टन प्रतिदिन उत्पादन गर्ने लक्ष्य राखेको छ । उद्योग दर्ता गर्दा प्रतिदिन १२ सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको उक्त उद्योगले थप लगानीबाट क्लिंकर बनाएर सिमेन्ट उत्पादन गर्ने ती अधिकारीको भनाइ छ ।

क्लिंकर उत्पादन गर्ने र बढी भएमा अन्य कम्पनीलाई विक्री गर्ने योजनासमेत बनाएको छ । उनले भने, ‘अहिले हामीले शून्यबाट काम गर्नेछौं, अहिले बोर्डबाट सैद्धान्तिक सहमति मात्रै पाएका छौं ।’

उनका अनुसार कम्पनी दर्ता भए पनि काम नभएको र अहिले पश्चिम क्षेत्रमा विकासको सम्भावना पनि उच्च रहेकाले लगानी गर्न उक्त कम्पनी इच्छुक देखिएको हो । लगानी चुनौतीपूर्ण देखिए पनि उच्च प्रविधिको प्रयोग हुने भएकाले कम लागतमा सिमेन्ट तथा क्लिंकर उत्पादन गर्न सकिने र अरूको तुलनामा कम मूल्यमा पनि विक्री गर्न सकिने उनको भनाइ छ । अहिले निर्माणको कुनै काम भएको छैन भने कारखानाको काम पनि हुन सकेको छैन । उद्योग सञ्चालनमा आउँदा ५०० भन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाउने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)