काठमाडौं । लकडाउन खुकुलो भएसँगै बैंकहरूमा नयाँ कर्जाका लागि आवेदन पर्न थालेको छ । यद्यपि वाणिज्य बैंकको कर्जा प्रवाहमा संकुचन भने यथावत् रहेको छ । गत वैशाखमा कुल कर्जामा १६ अर्ब रुपैयाँले ऋणात्मक भएको थियो । तर गत जेठमा कुल कर्जामा १३ अर्ब रुपैयाँले मात्र नकारात्मक भएको थियो । असार लागेपछि कर्जाको माग बढ्न थालेको बैंकरहरूको भनाइ छ ।
असार दोस्रो सातासम्ममा २७ ओटा वाणिज्य बैंकको रू. २८ खर्ब ९ अर्ब कर्जा उठ्न बाँकी छ । गत जेठ मसान्तसम्ममा यस्तो कर्जा २८ खर्ब १९ अर्ब रुपैयाँ थियो ।
बैंकबाट प्रवाहित कर्जामा संकुचन भए पनि निक्षेप भने बढेको छ यद्यपि वैशाखको दाँजोमा निक्षेप कम संकलन भएको छ । वैशाखमा वाणिज्य बैंकहरूले ३० अर्ब रुपैयाँ थप निक्षेप संकलन गरेका थिए भने जेठमा बढेर ७५ अर्ब रुपैयाँ थप निक्षेप संकलन भएको छ ।
हालसम्म वाणिज्य बैंकबाट थप नयाँ कर्जा नगइसकेकाले पनि कर्जा ऋणात्मक देखिएको हो । अझै नयाँ कर्जा प्रवाह नभइसकेको कारण वाणिज्य बैंकको कर्जा स्थिति ऋणात्मक रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । ‘अधिकांश व्यवसायीले चैतदेखि असारसम्मकै कर्जाको किस्ता तिर्न थालेका छन् । जसरी पनि तिर्नुपर्ने रकम भएकाले पुराना कमाइबाट पनि ऋणीले तिरेका छन्,’ उनले भने, ‘तर यातायात, पर्यटन जस्ता बढी प्रभावित क्षेत्रका ऋणीले तिर्न सक्ने अवस्था छैन । उनीहरूलाई राष्ट्र बैंकले पनि अब केही व्यवस्था गर्ला । यस्ता व्यवसायलाई हामीले पनि कर्जा तिर्न दबाब दिएका छैनौंं ।’
यस अवधिमा आम्दानी गर्न सकेका खाद्यान्न, सिमेन्ट जस्ता उद्योगहरूले भने २ वर्षपछिको ब्याजसमेत अग्रिम भुक्तानी गरेको उनले जानकारी दिए । उनका अनुसार अहिले बैंकमा फाट्टफुट्ट नयाँ कर्जाको आवेदन आउन थालेको छ । तर प्रवाह भइसकेको छैन ।
उद्योग, व्यापार व्यवसाय पहिलाको जस्तै पूर्णरूपमा सञ्चालन नहुँदासम्म कर्जाको माग बढ्न नसक्ने बैंकरहरू बताउँछन् । एकातिर कर्जा प्रवाह हुन सकेको छैन, अर्कोतर्फ निक्षेप बढिरहेको छ । यसले बजारमा अत्यधिक तरलताको अवस्था छ । गतवर्ष यही समयमा कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) कसिलो अर्थात् ७९ प्रतिशत हुँदा चाहेर पनि थप कर्जा प्रवाह गर्न नसकिएको गुनासो बैंकहरूले गर्थे । तर कोरोना महामारीले भने यसपटक सीसीडी करीब ७२ प्रतिशत हाराहारीमा रहेको अध्यक्ष दाहालले बताए । नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशतको सीसीडी खुकुलो अवस्थामा रहँदा बजारमा अधिक तरलताको स्थिति छ ।
तरलता बढिरहँदा निक्षेपको ब्याजदर क्रमशः घटाउनुपर्ने बाध्यता रहने दाहालको भनाइ छ । जापान जस्ता कतिपय मुलुकमा नकारात्मक ब्याजदर समेत भएको सुनाउँदै उनले भने, ‘तरलता लामो समयसम्म रहेमा निक्षेपको ब्याजदर शून्य पनि नहोला भन्न सकिँदैन ।’ नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले रू. ८३ अर्ब निक्षेप संकलन र रू. २२ अर्ब कर्जा लगानी गरेको अपरिष्कृत तथ्यांक छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा बैंकिङ प्रणालीमा सुविधाजनक तरलता छ । अधिक तरलता प्रशोचन गर्न तथा सरकारको आन्तरिक ऋण उठाउन ट्रेजरी बिल, नागरिक बचतपत्र लगायत सरकारी ऋणपत्र जारी गरिरहेको राष्ट्र बैंकले बताएको छ ।