ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागीडाँडा विमानस्थल काठमाडौंको हवाई ट्राफिक व्यवस्थापनका लागि आवश्यक : पर्यटन मन्त्री

काभ्रेमा विमानस्थल आवश्यक छैन : विज्ञ

२०७७ असार, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । पटकपटक चर्चामा आउँदै सेलाउँदै गरेको काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल बन्ने विषय पुनः चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिएका पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले नागीडाँडाको विमानस्थलको स्केच राख्दै निर्माण कार्य हुने ट्वीट गरेपछि यो पुनः चर्चामा आएको छ ।

काठमाडौंनजिकै आन्तरिक विमानस्थल आवश्यक नभएको एकथरी विज्ञहरूले बताइरहँदा सरकारले भने आव २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटमा तेह«थुमको चुहानडाँडा र काभे्रको उपयुक्त स्थानमा वैकल्पिक विमानस्थलको आवश्यकता अध्ययन गरी सो कार्य अगाडि बढाइने उल्लेख गरेको छ ।

तर, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुदृढीकरण गरी करीब २४ घण्टा चलाउन सक्ने अवस्थामा पुगेको, भैरहवा तथा पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेकाले काठमाडौंनजिकै अर्को विमानस्थल आवश्यक नभएको उड्डयन क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् ।

त्यसो त, काभ्रेको प्र्रस्तावित विमानस्थल पर्यटन मन्त्रालयकै मापदण्डअनुसार पनि प्राथमकितामा देखिँदैन । मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माणको सम्बन्धमा नयाँ मापदण्ड अवलम्बन गरिएको बताउँदै आएका छन् ।

मापदण्डअनुसार विकट र दुर्गम स्थानका लागि विशेष प्राथमिकता (भरपर्दो सडक सञ्जाल नपुगेको क्षेत्र), प्रचुर पर्यटकीय सम्भाव्यता भएको क्षेत्र र व्यावसायिक प्रतिफल दिन सक्ने क्षेत्रमा मात्र विमानस्थल बनाइनेछ ।

तर, मन्त्रीको भनाइ र प्राथमिकतामा अन्तरविरोध देखिन्छ । मन्त्री भट्टराईले नागीडाँडा भने राज्यकै आवश्यकताअन्तर्गतको विमानस्थल भएको दाबी गरे । नागीडाँडा काठमाडौंको हवाई ट्राफिक व्यवस्थापनका लागि आवश्यक भएको उनको भनाइ छ ।

व्यावसायिक सम्भाव्यता नहेरी आन्तरिक विमानस्थल बनाइएकाले नै ५५ ओटा विमानस्थलमध्ये डेढ दर्जन विमानस्थल सञ्चालनमा नै छैनन् । सञ्चालनमा आएकामध्ये पनि दुई दर्जन विमानस्थल घाटामा छन् । यस्तोमा जथाभावी विमानस्थल बनाउन नहुने विज्ञहरूको भनाइ छ । अर्बांै रुपैयाँ खर्चेर नयाँ विमानस्थल बनाउनुभन्दा भएकै विमानस्थलको स्तर सुधार्नु उपयुक्त हुने विज्ञहरूको भनाइ छ ।

दीर्घकालका लागि काठमाडौंनजिकै आन्तरिक वैकल्पिक विमानस्थल आवश्यक भएकाले नै नागीडाँडामा विमानस्थल निर्माणका लागि थप अध्ययन भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । ‘हामीले सम्भाव्यता अध्ययन गरिसकेकामध्ये नागीडाँडा उपयुक्त स्थान हो । यसको थप अध्ययनका लागि जापानी सहयोग नियोग जाइकालाई अनुरोध गरेका छौं । उनीहरूले थप अध्ययन गरेपछि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्नेछ,’ उनले भने । नजिकको रामेछापको विमानस्थल काठमाडौंबाट टाढा भएकाले पनि नागीडाँडामा विमानस्थल बनाउनु परेको पोखरेलले बताए ।

तर, प्राधिकरणकै पूर्वमहानिर्देशक सञ्जीव गौतमको राय फरक छ । ‘कोभिडका कारण पहिलेको जस्तो हवाई यात्रु चाप बढ्न कम्तीमा ५ वर्ष लाग्न सक्छ । हाम्रा कतिपय विमानस्थल पाइपलाइनमा छन् । एअर स्पेस, लगानी र आवश्यकता तीनै दृष्टिकोणले काभ्रेमा तत्काल विमानस्थल आवश्यक हो जस्तो मलाई लाग्दैन,’ उनले भने ।
गौतमले विमानस्थल निर्माण गर्नुअघि वास्तविक आवश्यकता हो कि नेताका लागि चाहिएको हो त्यो निर्णय पहिले हुनेपर्ने बताए ।

प्राधिकरणका अनुसार नेपालमा करीब ५५ ओटा विमानस्थल रहेकोमा ३४ ओटा विमानस्थल कालोपत्र भएर सञ्चालनमा छन् भने अरू विमानस्थलको पनि विस्तारै स्तरोन्नति गर्ने, विस्तार गर्ने काम भइरहेको छ । प्रादेशिक राजधानीमा भएका विमानस्थलहरूलाई हब विमानस्थलका रूपमा विकास गर्ने प्रयत्न जारी छ । सरकारले बजेटमा अन्तरप्रदेश हवाई सम्पर्क विस्तार गर्न सुर्खेत र भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलका रूपमा स्तरोनन्नति गर्ने, विराटनगर र नेपालगञ्जमा नयाँ टर्मिनल भवन निर्माण शुरू गर्न तथा दाङको नारायणपुर र तेह्रथुमको चुहानडाँडालगायत आन्तरिक विमानस्थलको निर्माण कार्यअघि बढाइने उल्लेख गरेको थियो । यस्तै चन्द्रगढी, धनगढी र जनकपुरलगायत विमानस्थलको सुधार तथा स्तरोन्नति गर्न र ट्रंक रूटका विमानस्थलको स्तरोन्नति एवम् विस्तार गरी रात्रिकालीन उडान सञ्चालनयोग्य बनाउन सरकारले बजेट व्यवस्था गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा उड्डयन क्षेत्रका लागि नेपाल सरकारका तर्फबाट २० अर्ब ४५ करोड रुपैयाँ र प्राधिकरणको आन्तरिकतर्पm अनुमानित १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।


Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)