धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय नयाँ उद्योग व्यवसाय खुल्ने क्रम बढेको छ । निजीक्षेत्रबाट १ करोडदेखि ३ अर्ब रुपैयाँसम्मको लगानीमा केबुलकारदेखि चिनी मिलसम्मका उद्योग व्यवसाय खुल्न थालेका हुन् ।
लामो समय उद्योग विकासमा पछाडि परेको सुदूरपश्चिम पछिल्लो समय भने राष्ट्रियस्तरका उद्योगी व्यवसायीको लगानीको नयाँ केन्द्रबिन्दु बन्न थालेको छ । दार्चुलामा शिशाखानीदेखि कैलालीमा खडीढुंगा उद्योगसम्म सञ्चालनमा आएका छन् । प्रदेशमा १ करोडभन्दा बढी लगानीका उद्योगको संख्या करीब १ दर्जन पुगेको छ ।
कैलालीको गोदावरी नगरपालिका–१ बिजौरामा ३० करोड लगानीमा एभरेष्ट ग्यास ग्रूपले हालै ग्यास उद्योग सञ्चालनमा ल्याएको छ । सैपाल ब्राण्डमा दैनिक १० हजार सिलिण्डर ग्यास उत्पादन गर्ने यो एभरेष्ट ग्रूपको सातौं उद्योग हो । कम्पनीका ६ ओटा उद्योगग काठमाडौं लगायत क्षेत्रमा सञ्चालित छन् । प्रदेशमा एलपी ग्यासको ठूलो सम्भावना देखेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । पहिलो वर्ष ५६ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको उद्योगले बिहीवारदेखि बजारमा ग्यास पठाउन थालेको उनले जानकारी गराए । आफ्नो ग्रूपले मात्र महीनामा ४ लाख सिलिन्डर ग्यास उत्पादन गर्दै आएको उनको भनाइ छ ।
सुदूरपश्चिममा उद्योग व्यवसायको ठूलो सम्भावना भएकाले पछिल्लो समय लगानी आउन थालेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए । प्रदेशभित्र पहिलोपटक चन्द्रागिरि केबलकारका अध्यक्ष चन्द्र ढकालले साढे २ अर्ब रुपैयाँ लगानीमा चिसापानीदेखि राजकाँडासम्म जाल्पादेवी केवुलकार प्रालि नामबाट केवुलकार सञ्चालनमा ल्याउने भएका छन् । यसअघि नै कञ्चनपुरमा निजीक्षेत्रकै सक्रियतामा ४० करोड रुपैयाँ लगानीमा महाकाली सुगर मिल तथा भागेश्वर ग्रूपमार्फत झण्डै ३ अर्ब रुपैयाँ लगानीमा भागेश्वर सुगर मिल सञ्चालनमा ल्याइएको छ ।
त्यसैगरी प्रदेशभित्र जलविद्युत्मा पनि निजीक्षेत्रको अर्बौं लगानी भइसकेको छ । बझाङ र दार्चुलाका जलविद्युत् आयोजनामा निजीक्षेत्रको लगानी झण्डै २० अर्ब पुगिसकेको छ । बझाङमा सानीगाड हाइड्रो प्रालि, कालंगा हाइड्रो प्रालि, बुंगल हाइड्रो प्रालि र दार्चुलामा अपी हाइड्रोपावर गरी प्रदेशको जलविद्युत्मा ठूलो लगानी रहेको छ । दार्चुला र बझाङमा गरी ११५ मेगावाट विद्युत् उत्पादनका लागि निजीक्षेत्रले लगानी गरेको हो । यसबाहेक प्रदेशमा बिस्कुट, ह्याचरी, साबुन, शीत भण्डार, कत्था रोजिन, पाइप, खानेतेल, मैदा पीठो, चामल, डिटर्जेन्ट पाउडर लगायत उद्योगमा पनि निजीक्षेत्रको लगानी बढ्दै गएको देखिन्छ । प्रदेशमा विस्तारै लगानीको वातावरण बन्दै गएकोमा कोभिड–१९ का कारण प्रभावित हुने चिन्ता यहाँका उद्योगी व्यवसायीको रहेको नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले बताए ।