ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरेलु उद्योग स्थापनाका लागि ९ करोड १५ लाख अनुदान

२०७७ असार, २४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ८८ ओटा स्थानीय तहमा घरेलु उद्योग स्थापनाका लागि ९ करोड १५ लाख रुपैयाँ पूँजीगत अनुदान दिने भएको छ । हरेक स्थानीय तहमा लघु तथा घरेलु उद्योग स्थापनाका लागि आर्थिक वर्ष २०७७÷७८ को बजेटमा पुँजीगत अनुदानको व्यवस्था गरेको हो ।

कोभिड–१९ का कारण स्थानीय लघु तथा घरेलु उद्योगमा परेको असर कम गर्दै यस्ता उद्योगको पुनरुत्थान मार्फत आम्दानी र रोजगारी सृजना हुनेगरी उत्पादनमा बढोत्तरी ल्याउने उद्देश्यले साना तथा घरेलु उद्योग स्थापनामा अनुदानको व्यवस्था गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ । मन्त्रालयले संघीय र स्थानीय सरकारको सहकार्यमा प्रदेशलाई औद्योगिकीकरणतर्फ उन्मुख गराउन ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’ स्थापनाका लागि थप ५ करोड रुपैयाँ बजेट प्राप्त गरेको मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले जानकारी दिए । ‘सम्भाव्यता अध्ययनको आधारमा औद्योगिक ग्राम स्थापना गरिनेछ,’ उनले भने । मन्त्रालयले वनपैदावारमा आधारित लघु तथा साना उद्योग स्थापना एवम् सञ्चालनका लागि पनि अनुदानको व्यवस्था गरेको छ । वनमा आधारित साना उद्योग स्थापनाका लागि ३ करोड ५२ लाख अनुदान उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै पर्यटन क्षेत्रमा देखिएको शिथिलता अन्त्य गरी रोजगारी र आम्दानी बढाउने उद्देश्यले प्रदेश सरकारले ३२ स्थानमा ‘एक निर्वाचन क्षेत्र एक धार्मिक गन्तव्य’ कार्यक्रम अघि सारेको छ । यो कार्यक्रमका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयन गर्नेगरी स्थानीय कच्चापदार्थ, ज्ञान र शीपमा आधारित साना तथा मझौला उद्योग स्थापनाका लागि पनि अनुदानको व्यवस्था गरिएको छ । नवीन उद्योग स्थापना गर्न चाहने उद्योगी व्यवसायीलाई पूँजीस्वरूप अनुदान सहायता उपलब्ध गराउन ३ करोड २० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।

प्रदेशभित्र प्रचुर सम्भावना रहेको जडीबुटीको व्यावसायिक संकलन, उत्पादन र बजारीकरणका लागि प्रदेश सरकार, जडीबुटी विकास कम्पनी लिमिटेड र निजीक्षेत्रको सहलगानीमा कञ्चनपुरमा जडीबुटी प्रशोधन कम्पनी स्थापना गर्न चालू आर्थिक वर्षमा आपसी सम्झौताको काम सम्पन्न गरिएको उझोग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले बताइन् । आगामी आर्थिक वर्षमा सो कम्पनी सञ्चालनको ल्याउने गरी उक्त कम्पनीमा शेयरबापत १२ करोड विनियोजन गरिएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)