ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रसुवागढी नाकामा १६ ओटा मालवाहक ट्रक लोड

व्यवसायीले स्वघोषणा गरेलगत्तै जाँचपास भएर सामान छुट्ने

२०७७ असार, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । विगत ५ महीनादेखि ठप्प रहेको चीनतर्फको रसुवागढी नाका सोमवारदेखि सञ्चालन आएसँगै १६ ओटा मालवाहक ट्रक लोड भएका छन् । सोमवार र मंगलवार गरी ४/४ ओटा कन्टेनरमा चिनियाँ मालवाहक गाडीले विद्युतीय उपकरण, लत्ताकपडा लगायत सामान मितेरी पुलमा ल्याइदिएपछि ती सामान नेपालबाट गएका ट्रकहरूमा लोड गरिएको हो ।

चीनतर्फ रहेका १० जना ड्राइभर र १५ जना कामदारले उक्त सामान लोड गरेका हुन् । चीनसँग भएको समझदारी अनुसार उक्त कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिएको भन्सार कार्यालय रसुवाले जानकारी दिएको छ । सो नाकाबाट दैनिक ५० मालवाहक गाडी भिœयाउने सरकारको तयारी छ ।
व्यवसायीले भन्सार बिन्दुमा स्वघोषणा नगरेकाले जाँचपास गरेर छुटाउने काम भने नभएको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए । उनका अनुसार व्यवसायीले सामानको स्वघोषणा गरे २ दिनभित्र सामान जाँचपास गरेर नाकाबाट छुटाइनेछ ।

‘नाका अब निर्बाध रूपमा सञ्चालनमा आएको छ, भन्सार प्रशासनमा कुनै ढिलासुस्ती छैन,’ उनले बताए । उनका अनुसार केरुङमा करोडौं रुपैयाँ बराबरको मालसामान लोड भएर महीनौंदेखि अड्किएका ३०० गाडी छुटाउने पहिलो चरणमै भन्सारले सहयोग गर्ने तयारी गरिरहेको छ ।

रसुवागढी नाका निर्बाध सञ्चालनमा आएसँगै उद्योगी व्यापारी उत्साहित देखिएका छन् । नेपाल चेम्बर अफ कमर्शका भन्सार सभापति नीरज राईले लामो समयदेखि बन्द नाका निजीक्षेत्रको पहलमा सञ्चालनमा आएसँगै आफूहरूलाई राहत मिल्ने बताए । उनका अनुसार नाकामा रहेका सामानको स्वघोषणा छिट्टै गरेर नेपाल भिœयाइनेछ । अहिले नाकामा आएका सामान विशेषगरी विद्युतीय र लत्ताकपडा रहेको उनको भनाइ छ ।

लामो समयदेखि चीनतर्फको उक्त नाका बन्द हुँदा केही स्वास्थ्य सामग्री सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट आइरहेको थियो । यस्तै नाका बन्द हुँदा चैत, वैशाख र जेठ महिनाको राजस्व संकलन शून्य भएको थियो । उक्त भन्सारबाट अन्य बेला दैनिक करोडौं राजस्व संकलन हुने गरेको थियो ।

रसुवागढी नाकाबाट सामान भित्र्याउन थालिए पनि सर्वसाधारण आवतजावत गर्न भने पाएका छैनन् । रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सबै तयारी पूरा गरेर नाका सञ्चालनमा ल्याइएको र कुनै तयारीको कमी हुन नदिइने बताए । उनका अनुसार स्वास्थ्य परीक्षण, सीमाक्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टाइनजस्ता व्यवस्थापनलाई स्थानीय प्रशासनले पूर्णरूपमा चुस्तदुस्त बनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)