ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर प्रस्ताव गर्न निजीक्षेत्रलाई आह्वान गर्दै धौवादी

फलामको व्यावसायिक उत्पादन हुन अझै ३ वर्षसम्म लाग्ने

२०७७ असार, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नवलपरासीमा रहेको धौवादी फलाम खानीको सञ्चालन तथा व्यावसायिक उत्पादनका लागि सरकारद्वारा स्थापित धौवादी फलाम कम्पनी लिमिटेडले निजीक्षेत्रलाई शेयर लगानी गर्न प्रस्ताव गर्दै छ । धौवादीले साउनसम्ममा निजीक्षेत्रलाई शेयर लगानीको प्रस्तावको सूचना जारी गर्ने तयारी गरेको छ ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा स्थापना भएको यस कम्पनीमा निजीक्षेत्रको ४५ प्रतिशत शेयर लगानीको प्रावधान राखिएका कारण अहिले कम्पनीले फलामसम्बन्धी काम गर्ने कम्पनीलाई लगानीका लागि प्रस्ताव गर्ने तयारी गरेको हो । कम्पनीमा संघ, प्रदेश र स्थानीय तहको ५५ प्रतिशत शेयर लगानी हुनेछ ।

कम्पनीका सीईओ कृष्णदेव झाले नियमित रूपमा फलाम तथा छड उत्पादन गर्दै आएका निजीक्षेत्रका कम्पनीहरू आफ्नो सम्पर्कमा रहेकाले निजीक्षेत्रको लगानी भित्रने सम्भावना रहेको बताए । केही दिनअघि मात्रै वाणिज्य सचिवसँगै खानी अनुगमनमा गएको बताउँदै झाले भने, ‘१५०० मीटर ड्रिलिङ गर्न परामर्शदातासँग प्रस्ताव आ⋲वान गर्ने तथा सम्भाव्यता अध्ययन गर्न टीओआर बनाउने काम भइरहेको छ ।’

उक्त खानीबाट कति फलाम व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ र कस्तो गुणस्तरको फलाम छ भन्ने विषयमा खानी विभागले चीनमा नमूना पठाई अध्ययन गरेको थियो । सो अध्ययनको पहिलो चरणको प्रतिवेदनले धौवादीबाट व्यावसायिक फलाम उत्पादन हुनसक्ने देखाएको झा बताउँछन् ।

झाका अनुसार व्यावसायिक उत्पादनका लागि अझै सम्भाव्यता अध्ययन गर्न बाँकी छ । ‘कस्ता किसिमका मेशिनरी सामग्री जडान गर्ने तथा कारखाना स्थापनालगायत विषय टुंगोमा पुर्‍याउन अझै केही समय लाग्नेछ,’ उनले भने ।

गत भदौ ४ मा बसेको मन्त्रिपरिषद् बैठकले खानी सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै कम्पनी खोल्न स्वीकृति दिएपछि असोज ९ गते धौवादी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

धौवादीमा १० किलोमीटर लामो फलाम खानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ । धौवादीको फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइ र १०० मीटर गहिराइको छ । देशको सबैभन्दा ठूलो उक्त फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ । सामान्यतया तीन मेट्रिक टन ढुंगा पेल्दा एक मेट्रिक टन फलाम उत्पादन हुनुपर्ने भूगर्भविद् बताउँछन् । धौवादी फलाम खानीबाट फलामे छड र स्टीलका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ बिलेट उत्पादन गर्ने योजना खानी तथा भूगर्भ विभागले अघि सारेको छ ।

खानी विभागका एक अधिकारीले धौवादी खानीबाट व्यावसायिक उत्पादन भने २०८०/८१ देखि शुरू हुनसक्ने बताए ।

तर, सरकारले भने चालू आर्थिक वर्षको बजेट घोषणामा यही वर्षदेखि नै व्यावसायिक रूपमा फलाम उत्पादन गर्ने बताएको थियो । आव २०७७/७८ को बजेटमा धौवादी फलाम खानीबाट उत्पादन शुरू गर्न पहुँचमार्ग निर्माण र मेशिनरी जडान गर्ने कार्य सम्पन्न गरिने उल्लेख गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)