ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाका कारण पर्यटन क्षेत्रमा क्षति : सरकारसँग छैन आधिकारिक तथ्यांक

निजीक्षेत्र भन्छ, नोक्सानी सरकारी आकलनभन्दा निकै बढी

२०७७ असार, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपालमा कोरोना महामारीको सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको छ । मुलुकभरका तारे र गैरतारे होटल सबै बन्द छन्, हवाई उडान ठप्प छ, ट्राभल एजेन्सीमा ताला लागेका छ । तर, यसबाट क्षतिचाहिँ कति भयो त ?

तीन दिनअघि पर्यटन मन्त्री योगेश भट्टराईले बताए, कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनयताको अवधिमा पर्यटन क्षेत्रको मासिक क्षति १० अर्ब रुपैयाँ बराबरको छ । पर्यटन मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले साउन पहिलो सातासम्म समग्र पर्यटन क्षेत्रको क्षति ४१ अर्ब रुपैयाँ बराबरको हुने आकलन गरे ।

तर, यो हचुवा आकलन हो । पर्यटनअन्तर्गत कुनकुन क्षेत्रमा कतिकति क्षति भयो भन्ने विस्तृत आँकडा पर्यटन मन्त्रालयसँगै छैन । कोरोनाकै कारण मुलुकको पर्यटन क्षेत्रमा कतिले रोजगारी गुमाए, यस क्षेत्रमा आबद्ध उद्यमी÷व्यवसायीको ऋण कति छ लगायत आधिकारिक तथ्यांक सरकारसँग अझै छैन ।

मन्त्रालयले नेपाल पर्यटन बोर्डले गरेको अध्ययनका आधारमा नोक्सानीको आकलन गरेर पत्रकार सम्मेलनमा बताएको हो । पर्यटन क्षेत्रमा भएको नोक्सानीको विवरण बनाई अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा पठाइएको दाबी मन्त्री भट्टराईको छ । पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन समिति बनाइएको थियो ।

तर, पर्यटन बोर्डको अध्ययनमा पर्यटन क्षेत्रको लगानी र रोजगारीको सामान्य अध्ययनभन्दा अरू भेटिँदैन । बोर्डले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा कोरोना तथा लकडाउनबाट यस क्षेत्रले कति गुमायो भन्ने तथ्यांक पाइँदैन । बोर्डले गरेको अध्ययनअनुसार नेपालको पर्यटन क्षेत्रमा (हवाइ क्षेत्रसमेत गरी) १० खर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।

बोर्डले पठाएको मोटामोटी विवरणअनुसार नै पर्यटन मन्त्रालयले क्षतिको रकम आकलन गरेको र यसबारे थप अध्ययन भने राष्ट्रिय योजना आयोगले गरिरहेको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ बताउँछन् । पर्यटन क्षेत्रमा परेको क्षति सरकारी दाबीभन्दा निकै बढी रहेको पर्यटनसँग आबद्ध निजी संस्थाहरूको भनाइ छ । निजीक्षेत्रले दिएको तथ्यांकलाई आधार मान्ने हो भने सरकारले गरेको आकलनभन्दा धेरै बढी नोक्सानी पर्यटन क्षेत्रले बेहोरेको छ ।

होटल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह राज्यसँग आधिकारिक तथ्यांकको अभाव हुँदा तथा निजीक्षेत्रसँग उचित समन्वय नहुँदा क्षतिका बारेमा यकिन आँकडा नआएको तर्क गर्र्छन् । ‘हामीसँग आबद्ध संस्थाहरूको हामीसँग आधिकारिक तथ्यांक छ । लकडाउनपछिका ३ महीनामा होटल उद्योगले मासिक दुई अढाई अर्बभन्दा बढीको नोक्सानी बेहोर्‍यो । त्यसको हिसाब गर्दा पनि १० अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोर्नु परेको छ,’ उनले भने ।

आन्तरिक उड्डयनमा पछिल्लो ३ महीनामा ७–१० अर्बका बीचमा नोक्सानी भएको वायुसेवा सञ्चालक संघ नेपालका महासचिव मनोज कार्कीको भनाइ छ । ‘अन्तरराष्ट्रिय उडान तथा सरकारी ध्वजावाहक नेवानिको नोक्सानी जोड्दा यो अझै बढ्ने देखिन्छ,’ उनी भन्छन् ।

त्यस्तै ट्रेकिङ तथा माउन्टेनियरिङ क्षेत्रले १५ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले बताए । रेस्टुराँ तथा बार एशोसिएशन अफ नेपाल (रेबान)ले पनि आफूसँग आबद्ध काठमाडौं, पोखरा र चितवनका गरी ३ हजार ५ सय रेस्टुराँले यस अवधिमा ९–१० अर्ब रुपैयाँ क्षति बेहोरेकोे आकलन गरेको छ । रेबानका अध्यक्ष अरनिको राजभण्डारीले आफूहरूको संस्थासँग आबद्धबाहेक पनि देशैभरका अरू रेस्टुराँलाई समेत जोड्दा नोक्सानीको आँकडा यो भन्दा निकै बढी हुने बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)