ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्नबाली भन्दा फलफूल खेतीप्रति किसान आकर्षित

२०७७ असार, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । पछिल्लो समय म्याग्दीका किसानहरू अन्नबाली छोडेर व्यावसायिक रूपमा फलफूल र तरकारी खेतीतर्र्फ आकर्षित भएका छन् । परम्परागत रूपमा धान, मकै, गहुँ र कोदोलगायत खेती गर्दै आएका किसानहरूले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला, कागती, ओखर र केरालगायत फलपूmलका बिरुवा लगाउन थालेका छन् ।

एउटा नगरपालिका र ५ ओटा गाउँपालिका रहेको म्याग्दीका सबै स्थानीय तहका किसानहरू पछिल्लो समय अन्नबालीको तुलनामा फलफूल र तरकारी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ । यस वर्ष म्याग्दीका ६ ओटै स्थानीय तहका किसानले ७५ हजार ओटा भन्दा बढी सुन्तला, कागती र १ लाख ओटा भन्दा बढी केराका बिरुवा लगाएका छन् ।

अन्नबालीको तुलनमा कम मेहनत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरू अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानहरू बताउँछन् । यो वर्ष बेनी नगरपालिकामा मात्रै किसानले १६ हजार ओटा सुन्तला र कागतीका बिरुवा रोपेका छन् । त्यस्तै मालिका गाउँपालिकामा १४ हजार, धवलागिरि र रघुगंगामा १५/१५ हजार, अन्नपूर्णमा १२ हजार र मंगला गाउँपालिकामा १३ हजार ओटा सुन्तला, कागती, केरा र ओखरका बिरुवाहरू रोपिएको गाउँपालिकाका कृषि शाखाहरूले बताएका छन् ।

बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, राखु, मरेक, बास्कुना तथा मालिका गाउँपालिकाको बिम, ओखरबोट, देवीस्थान र मंगला गाउँपालिकाको अर्मन, कुहूँ, बरंजाका किसानले तरकारी तथा फलफूल खेती विस्तार गरेका हुन् । यसैगरी रघुगंगा गाउँपालिकाको भगवती, बेगखोला, पिप्ले, अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ र हिस्तान तथा धवलागिरि गाउँपालिकाको ताकम र मुदीका किसानले पनि फलफूल खेती विस्तार गरेका छन् ।

बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले १० मुरी धान फल्ने ३ रोपनी जग्गामा २०० बोट केराका नयाँ बिरुवा लगाएका छन् । त्यसैगरी सोही गाउँका भक्तबहादुर कुँवरले पनि खेत, बारी र पाखो जग्गा गरी ४ रोपनी क्षेत्रफलमा केरा र मेवाका बिरुवा लगाएको बताए ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकहरूले गत वर्षसम्म मकै र कोदो लगाउँदै आएको बारीमा ७ हजार ओटा सुन्तलाका बिरुवा रोपेका छन् । स्थानीय कृषक धनसरा पुनका अनुसार जनशक्तिको अभावमा बाँझो बस्दै आएको जमीनलाई उपयोगमा ल्याउन गत वर्षदेखि सुन्तला र केरा खेती विस्तार गरिएको हो ।

फलफूल खेतीलाई अन्नबालीको जस्तो स्याहार नचाहिने, गोडमेल धेरै गर्न नपर्ने, धेरै जनशक्तिको पनि आवश्यक नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबाली छोडेर फलफूल खेतीतर्फ लागेको किसानहरूले बताएका छन् । अन्नबालीको खेती गर्दा लगानी नउठ्ने, वर्षभरी खान पनि नपुग्ने, खेती लगाउने समयमा कृषि मजदुरको अभावलगायत झन्झटबाट मुक्ति पाउन वैकल्पिक खेतीपाती अपनाएको उनीहरूको भनाइ छ ।

साविकको जिल्ला कृषि विकास कार्यालयले गत आर्थिक वर्ष जिल्लाका किसानलाई ५० प्रतिशत अनुदानमा २५ हजार ओटा सुन्तलाका बिरुवा वितरण गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)