ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असार लागेयता राजस्व असुलीमा सुधार हुँदै

२०७७ असार, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । बन्दाबन्दी खुकुलो बनाइएपछि आर्थिक गतिविधि क्रमशः बढ्दै गएकाले सरकारको राजस्व असुलीमा सुधार देखिएको छ । कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण चैत र वैशाखमा राजस्व संकलन असुली नराम्ररी प्रभावित भएको थियो ।

कोरोना महामारी, बन्दाबन्दी र अर्थतन्त्रमा आएको सुस्तताका कारण सरकारले चालू आर्थिक वर्षको राजस्व लक्ष्य पूरा गर्न नसक्ने स्पष्टै छ । यद्यपि जेठ महीनायता राजस्व संकलनमा क्रमशः सुधार हुँदै गएको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार महीनामा सरकारको दैनिक राजस्व असुली झन्डै ३ अर्ब रुपैयाँ पुग्न थालेको छ । असार २४ गतेसम्ममा सरकारले ७१७ अर्ब राजस्व उठाएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

सरकारले वैशाख र जेठमा क्रमशः १६ अर्ब र ४१ अर्ब राजस्व उठाएको थियो । असार महीनामा मात्रै (२४ गतेसम्म) झन्डै ७० अर्ब राजस्व संकलन भएको छ ।

बन्दाबन्दीका कारण सरकारलाई बुझाउन बाँकी भ्याट, अनुमानित करको दोस्रो किस्ता र अग्रिम कर कट्टीबापतको कर स्वैच्छिक रूपमा निजीक्षेत्रले बुझाएका कारण पनि राजस्व बढेको आन्तरिक राजस्व विभागका अधिकारीहरूको भनाइ छ । पछिल्लो समय बैंक, वित्तीय संस्था, सार्वजनिक संस्थानहरूले दाखिला गर्नुपर्ने राजस्व बुझाउने क्रमसमेत बढेकाले राजस्वमा सुधार देखिएको हो । विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेका अनुसार असारको अन्त्यसम्ममा विभागले मात्रै ५० अर्ब राजस्व उठ्ने अनुमान गरेको छ । ‘हालसम्म करीब ४२ अर्ब राजस्व संकलन भएको छ,’ उनले भने ।

भन्सारतर्फ पनि राजस्व संकलनमा सुधार देखिएको छ । भन्सार विभागका निर्देशक शिशिर घिमिरेका अनुसार पछिल्लो १ हप्तामा दैनिक १ अर्बभन्दा माथि राजस्व संकलन भइरहेको छ । व्यवसायी वातावरण अलि खुकुलो भएकाले पहिलेकै हाराहारीमा भन्सारबाट राजस्व संकलन हुन थालेको घिमिरेले बताए । ‘निजीक्षेत्रले उद्योग सञ्चालनका लागि प्रयत्न गरिरहँदा भन्सार विन्दुबाट कच्चा पदार्थको आयात बढेको देखिन्छ,’ उनले भने ।

रसुवागढी, मेची, तातोपानी, वीरगञ्ज, भैरहवाजस्ता ठूलो राजस्व उठाउने भन्सार कार्यालयहरू निर्बाध रूपमा सञ्चालनमा आएका कारण पनि राजस्वमा वृद्धि भएको भन्सारका अधिकारीहरूको बुझाइ छ । उनीहरूका अनुसार असार २४ सम्म भन्सार विभागले कुल लक्ष्यको ६४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अहिलेकै गतिमा राजस्व संकलन भए असारको अन्त्यसम्ममा ७० प्रतिशतसम्म लक्ष्य प्राप्त हुने निर्देशक घिमिरेले बताए ।

अर्थ मन्त्रालयका अधिकारीहरूले पनि बन्दाबन्दी खुकुलो भएसँगै व्यावसायिक गतिविधि बढ्दा तथा कर तिर्ने वातावरणमा सहजता आउँदा राजस्व संकलनमा सुधार आएको बताए । मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बन्दाबन्दी खुकुलोपछि पछिल्लो समय राजस्व संकलनमा आएको वृद्धिले सरकारलाई साधारण खर्च चलाउनदेखि महामारीविरुद्ध लड्न आर्थिक जोहो गर्न केही सहज बनाएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)