ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन : म्युनिख इन्टरनेशनल एयरपोर्टले दिएको प्रस्ताव रद्द गर्न सिफारिस

२०७७ असार, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेशनल एयरपोर्टद्वारा प्रस्तुत प्रस्ताव रद्द गर्न सिफारिस गरिएको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टले भैरहवा विमानस्थल सञ्चालनका लागि पेश गरेको प्रस्तावमा कानूनी जटिलताहरू देखिएपछि रद्द गर्न सिफारिस गरिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ ।

गतवर्ष जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालनका लागि कम्पनीको छनोट खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौता (जीटुजी) मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सरकारको सो निर्णयपछि म्युनिख एयरपोर्टले भैरहवा विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो । म्युनिखले भैरहवा विमानस्थल सञ्चालनको जिम्मा आफूलाई ५० वर्षका लागि दिन प्रस्ताव गरेको थियो ।

म्युनिखको प्रस्तावका प्राविधिक रूपमा उपयुक्त देखिए पनि कानूनी जटिलता र अस्पष्टताका बीच उसको प्रस्ताव रद्द गर्न सरकारलाई सिफारिश गरिएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । लामिछाने विमानस्थल सञ्चालनको जिम्मेवारी दिने विषयमा मन्त्रालयले गठन गरेको समितिका संयोजक हुन् । सो समितिमा नागरिक उड्डयन प्राधिकरण, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता छ ।

समितिले म्युनिखको प्रस्तावको मूल्यांकन गरी रद्द गर्न केही दिनअघि मात्रै सरकारलाई सिफारिश गरेको लामिछानेले बताए । ‘हाम्रो समितिले अध्ययन ग¥यो । प्राविधिक रूपमा म्युनिख हाम्रा लागि उपयुक्त देखिए पनि नेपालका विद्यमान कानूनी जटिलतालाई हेरेर रद्द गरिएको हो । अब के गर्ने सरकारले थप निर्णय गर्ला,’ उनले भने ।

सहसचिव लामिछानेका अनुसार सरकारले जीटुजीमार्फत प्रस्ताव आह्वान गरेकोमा एउटामात्र प्रस्ताव आएको तथा सार्वजनिक खरीद ऐनका कतिपय प्रावधानले तत्काल प्रस्ताव स्वीकार गर्न सक्ने अवस्था नदेखिएको हो ।

‘कुनै पनि प्रस्ताव पहिले कानूनी कसीमा ठीक छ कि छैन भन्ने कुरा महŒवपूर्ण हुने भएकाले म्युनिखको प्रस्ताव रद्द गरिएको हो,’ उनले भने ।

सन् २०१९ को डिसेम्बर महीनासम्म निर्माण सम्पन्न गरी २०२० को मार्च महीनामा विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने सरकारको तयारी रहे पनि कोरोना महामारीका कारण सो हुन नसक्ने देखिसकिएको छ ।

सन् २०२० को अन्त्यसम्ममा काम सकी २०२१ को मार्चसम्म उडानमा जान सकिने गरी तयारी भइरहेको पर्यटन मन्त्री योगेश भट्टराई बताउँछन् । ‘कोरोनाले हामीलाई निश्चित रूपमा पछि धकेलेको छ । तर पनि सन् २०२० को डिसेम्बर महीनामा विमानस्थल निर्माणको काम सकिने र त्यसको ३ महीनापछि अर्थात् मार्च २०२१ बाट व्यावसायिक उडान शुरू गर्ने छाैं,’ उनले भने ।

विमानस्थल सञ्चालनका लागि जर्मनीबाहेक अन्य मुलुकबाट प्रस्ताव नआएकाले उसैले पाउने सम्भावना बढी रहेको थियो । तर, उसको प्रस्ताव रद्द भएपछि अब कसरी अगाडि बढ्ने भन्नेमा अन्योल छ । सहसचिव लामिछाने भने तत्काल कोही नआए पनि सरकारले आप्mनै स्रोत र जनशक्तिबाट विमानस्थल सञ्चालन गर्न सक्ने बताउँछन् । ‘म्युनिख आउँदा पक्कै पनि विश्वव्यापी बजारीकरण र विस्तारका लागि सहज हुने नै थियो । तर, कोरोनाले तत्काललाई त्यो सम्भावना टरेको अवस्थामा हामीले आफै सञ्चालनको तयारी गर्नुपर्छ,’ उनले भने ।

कोरोनाका कारण निर्माण अवधिको म्याद थप
विमानस्थल निर्माणको ठेक्का पाएको चीनको सरकारी कम्पनी नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्शन ग्रूपले सन् २०१७ डिसेम्बरमै काम सम्पन्न गर्नुपर्ने थियो । तर, विभिन्न कारणले पटकपटक म्याद थप्दै आएकोमा कोरोना महामारीका कारण फेरि पनि निर्माण अवधिको म्याद थप गरिएको छ । मन्त्रालयका अनुसार हाल विमानस्थलमा ९१ प्रतिशत काम सम्पन्न भएको र बन्दाबन्दीको अवधिमा धावनमार्ग र पार्किङ क्षेत्र जोड्ने लिंक ट्याक्सी वे निर्माण सम्पन्न भएको छ । धावनमार्ग लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले बताए । त्यसैगरी बन्दाबन्दीको अवधिमा टर्मिनल भवनमा एयर कन्डिसनिङ जडान गर्नेसम्बन्धी कार्य शुरू भएको छ भने साजसज्जाको काम जारी छ । हाल विमानस्थल निर्माणमा २९ जना चिनियाँसहित २७५ जना कामदार परिचालित छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)