ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ६० लाख लगानीमा भेडापालन शुरू

२०७७ असार, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्काबाङका देवान छन्त्यालले रू. ६० लाख लगानी गरेर भेडापालन शुरू गरेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनले कम्प्युटरमार्फत गरिने आरामदायी काम पाएका थिए । तर, विदेशमा बगाउने पसिना देशमै बगाउँदा दीर्घकालीन लाभ हुने महसुस गरेको बताउने उनले नेपाल फर्किएर धवलागिरि हिमालको फेदीमा लाखौं लगानी गरेर भेडापालन व्यवसाय सञ्चालन गरिरहेका छन् ।

मल्काबाङको खर्कमा १ वर्षअघि रू. ६० लाख लगानीमा भेडापालन शुरू गरेका छन्त्यालको दैनिकी अहिले कम्प्युटरको किबोर्डमा नभइ भेडाहरूको हुलसँगै धवलागिरि आधार शिविरको चरन क्षेत्रमा बित्ने गरेको छ । भेडीगोठमा रहेका भेडाबाख्रालाई चरन क्षेत्रमा लैजाने, वन्यजन्तुबाट जोगाउन रेखदेख गर्ने र भेडाबाख्रालाई बजारीकरण गर्ने उनको अहिलको दैनिकी हो । ६ महीनादेखि व्यावसायिक भेडाबाख्रा पालन शुरू गरेका छन्त्यालले भेडीगोठलाई अहिले धवलागिरि हिमालको फेदतिर लगेका छन् ।

वर्षायाम शुरू भएसँगै चरनका लागि हिमालको काखमा गोठ पु¥याएको उनी बताउँछन् । उनको गोठमा अहिले करीब ४५० ओटा भेडाबाख्रा छन् । रू. ४० लाख लगानीमा ३५० ओटा भेडाबाख्रा खरीद गरी व्यवसाय शुरू गरेका छन्त्यालले अहिले रू. २० लाख लगानी थप गरेर भेडाबाख्राको संख्या बढाएका छन् । ‘हिउँदमा बेंशी झारिएका भेडीगोठ अहिले लेकमा छन्, चरनका लागि हिमालकै फेदसम्म गोठ पुर्‍याउनुपर्छ । जंगल, भीरपहरा र बुकी गोठका साथी हुन्’, छन्त्यालले भने । तल्लो क्षेत्रमा रहेका भेडीगोठ च्यामली, चौरवन, रिखार, रिरु, बाँझो बुकी हुँदै धवलागिरि हिमालको बेसक्याम्पमा समेत पुर्‍याइएको छ ।

चौरवनदेखि बेसक्याम्पसम्मको भूगोल कठिन र जोखिमपूर्ण रहेकाले भेडीगोठका भेडाबाख्रासँगै गोठका सामग्री ओसारपसारमा गोठालाहरूलाई सकस हुने गरेको छ । गाउँदेखि च्यामलीसम्म खच्चडमार्फत गोठमा खाद्यान्न लगायत सामग्री पुर्‍याउने गरिए पनि त्यहाँदेखि माथि भने मानिसले नै बोकेर हिउँ छिचोल्दै सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । घनघोर जंगल पार गरेर हिमालको फेदीको स्वतन्त्र फाँटमा चरन गर्दै गरेका भेडाबाख्राको लर्कोको सुन्दर दृष्यले भेडीगोठको दुःखलाई भुलाइदिने गरेको उनी बताउँछन् ।

‘दुई दशक भन्दा बढी समय विदेशमा बिताएँ, पुर्खाहरूकै पेशालाई व्यावसायिक बनाउन सकिन्छ कि भनेर ठूलो लगानीमा जोखिम मोलेर भेडाबाख्रा पाल्न थालेको हुँ, गोठमा हुने सबै सकसलाई सहर्ष स्वीकार गरेको छु’, उनले भने । गोठमा बिताउने बाहेकको समयलाई आप्mनो पुरानै पेशा कम्प्युटर डिजाइनिङमा समेत लगाउने गरेको उनी बताउँछन् ।

छन्त्यालको भेडीगोठमा काम गर्दै आएका याम गौचनले परम्परागत रूपमा हुँदै आएको भेडाबाख्रा पालनमा युवाहरूको आकर्षण बढ्नुलाई सकारात्मक मान्छन् । ‘भेडीगोठ क्रमशः हराउँदै जान थालेको छ । हामी बुढापाका मात्रै गोठाला छौं, युवाहरू सबै शहर र विदेशतिर जान्छन्, भेडीगोठको निरन्तरताका लागि युवाहरूको आगमनले हामीलाई हौसला थपिएको छ’, दुई दशकदेखि भेडीगोठाला काम आएका गौचनले भने ।

छन्त्यालको भेडीगोठमा अहिले २ जना गोठाला छन् । भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन् । ‘गोठ र चरन क्षेत्रमा जंगली जनावरबाट जोगाउन कुकुर नै प्रमुख सारथी हो, कुकुरबिना यसरी गोठ बस्न नै सकिँदैन’, गोठाला गौचनले अनुभव सुनाए ।

‘वनको नीति चरीचरन विरुद्ध’
पछिल्लो समय सामुदायिक वनको नीतिका कारण भने भेडापालनमा समस्या भएको गौचनको गुनासो छ । खुला चरनको अभावले म्याग्दीका धवलागिरि र अन्नपूर्ण क्षेत्रमा ठूलो संख्यामा भेडीगोठ घटेका छन् । जिल्लाको तल्लो भेगमा सामुदायिक वन उपभोक्ता समूहले चरन क्षेत्र उपलब्ध नगराउँदा समस्या भएको व्यवसायीको गुनासो छ ।
‘सबै क्षेत्रमा भेडा डुलाउन पाए राम्रो हुन्थ्यो’, गौचनले भने, ‘केही सामुदायिक वनमा चरीचरनमा रोक लागेको छ ।’ यस्तै भेडापालकसँग प्रत्येक सामुदायिक वनले रू. ५०० देखि रू. ३ हजारसम्म वार्षिक राजस्व उठाउने गरेको उनको भनाइ छ । सरकारले नै वनको नीति परिवर्तन गरेर सामुदायिक वनक्षेत्र चरीचरनका लागि खुला बनाइदिनुपर्ने उनीहरूको माग छ ।

रोग लागे बेनी दौडिनुपर्ने बाध्यता
४५० ओटा भेडालाई दैनिक रूपमा रेखदेख गर्न छन्त्याललाई निकै सास्ती छ । एउटा गोठालासँगै छन्त्याल पनि अधिकांश समय भेडाहरूसँगै गोठ र चरन क्षेत्रमा नै व्यस्त देखिन्छन् । तर, भेडालाई रोग लाग्दा भने छन्त्याल औषधि लिनका लागि दुई दिन लगाएर सदरमुकाम बेनी धाउन बाध्य हुन्छन् । भेडामा देखिने नाम्ले र फनफने जस्ता रोगले पनि समस्या हुने गरेको छन्त्याल बताउँछन् । पशुचिकित्सक नजिक नहुँदा २ दिन सदरमुकाम बेनी वा दरवाङ औषधि किन्न धाउनुपर्ने
बाध्यता उनको छ ।

ऊनका सामग्रीको विदेशमा माग
जिल्लामा भेडाको ऊनबाट बनेका राडीपाखी स्वदेशी बजारका साथै विदेशमा समेत निकासी हुने गरेको छ । चीन, भारतलगायत देशमा यसको माग हुने गरेको भेडापालक कृषकहरूले बताएका छन् । यद्यपि, भेडापालन घट्दै गएकाले मागअनुसार उत्पादन हुन नसकेको उनीहरूको भनाइ छ । भेडाको ऊनबाट बनेका राडी आतिथ्य सत्कारमा बढी प्रयोग हुने गर्छ । साथै चिसोबाट बच्न यसलाई तन्नाको रूपमा ओछ्याउने र सिरकको रूपमा ओढ्न समेत प्रायेग गरिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)