ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सवारी नचलाउन महासंघको सर्कुलर

साझाका बस साउन १ देखि चल्ने

२०७७ असार, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि यातायात व्यवसायीको छाता संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आबद्ध सदस्य कम्पनीलाई सार्वजनिक यातायात सञ्चालन नगर्न सर्कुलर जारी गरेको छ । मन्त्रिपरिषद्को निर्णयले शुक्रवारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।

शुक्रवार आकस्मिक बैठक बसी महासंघले यातायात क्षेत्रका समस्या सम्बोधन नभएसम्म गाडी नचलाउने निर्णय गरेको हो । देशव्यापी लकडाउनसँगै १०९ दिनदेखि यातायात बन्द भएकोमा खर्बौंको लगानी रहेको यातायात क्षेत्र धराशयी भएकोमा सरकारले यातायात क्षेत्रको समस्या नबुझेको आरोप व्यवसायीको छ । देशभर करीब ३ लाख यात्रुवाहक सवारी रहेका छन् । खर्बौंको लगानी रहेको यातायात क्षेत्र लामो समय बन्द हुँदा उत्पन्न समस्यालाई सम्बोधन गरी सरकारले राहत उपलब्ध गराउनुपर्ने माग व्यवसायीको रहेको छ ।

लामो समयको बन्दले यातायात क्षेत्र विनाराहत पुनःसञ्चालन गर्नै नसकिने अवस्थामा पुगेकाले लकडाउन अवधिभरको बैंक किस्ता स्थगन, ब्याज मिनाह, पुनर्कर्जाको व्यवस्था, स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था, सवारी निर्मलीकरणका लागि टनेलको व्यवस्थालगायत माग महासंघले सरकारसमक्ष राखेको छ । चालक÷सहचालकको कोरोना स्वास्थ्य बीमा र तलब, भत्ता, इन्धनलगायतको दैनिक खर्चको सुनिश्चितता सरकारले गर्नुपर्ने माग व्यवसायीको छ ।

लकडाउनपछि विभिन्न समयमा व्यवसायीले सरोकारवाला निकायसँग भेटेर यातायात सञ्चालनका लागि सुझाव दिए पनि ती सुझावलाई सम्बोधन नगरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘हामीले यातायात कसरी सञ्चालन गर्न सकिन्छ र केके राहत उपलब्ध गराउनुपर्छ भनेर सरकारलाई बारम्बार सुझाव दिएका छौं तर सरकारले त्यो सुनेन,’ उनले भने । सरकारले जेठ अन्तिम साताको मन्त्रिपरिषद्को निर्णयमार्फत निजी सवारीसाधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेसँगै सार्वजनिक यातायात सञ्चालन गर्न दिन व्यवसायीले माग गरेका थिए ।

जेठ पहिलो साता नै सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायीसँग छलफल गरी सरकारले सार्वजनिक यातायात सञ्चालनको कार्यविधि बनाएको थियो । तर, व्यवसायीले त्यस कार्यविधिअनुसार सवारी सञ्चालन गर्न नसक्ने बताउँदै आएका थिए ।

सरकारले शुक्रवारदेखि नै सीट क्षमताभन्दा आधा मात्र यात्रु राखेर सुरक्षाका मापदण्ड अपनाई साबिकको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिएर यातायात सञ्चालन गर्न सक्ने बताएको थियो । सामाजिक दूरी कायम गर्दा सीट क्षमताको आधा र सीटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउने, ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्ने, यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने शर्त सरकारले राखेको छ । चालक÷सहचालकले मास्कका साथ भाइजर र पञ्जा पनि अनिवार्य लगाउनुपर्ने आदि सुरक्षाका उपाय अपनाउनुपर्ने सरकारले बताएको थियो । तर, यी सबै शर्त पालना गर्ने हो भने राहतविना सवारी सञ्चालन गर्न नसकिने महासंघका अध्यक्ष योगेन्द्रबहादुर कर्माचार्यले बताए । सरकारलाई यसबारे जानकारी गराइसकेको उनको भनाइ छ ।

महासंघले आफू आबद्ध २९४ ओटा कम्पनीलाई बस सञ्चालन नगर्न सर्कुलर गरे पनि सरकारी स्वामित्वको साझा यातायातले भने साउन १ गतेदेखि यातायात सञ्चालनको तयारी गरेको छ । ९९ प्रतिशत सरकारी स्वामित्व रहेको साझाले बस सञ्चालनका लागि मर्मतसम्भार र स्वास्थ्य सुरक्षालगायतको तयारी शुरू गरेको हो । साझासँग जम्मा ७१ ओटा बस रहेकोमा तीमध्ये चारओटा बस लामो दूरीमा र बाँकी काठमाडौं उपत्यकामा चल्छन् । लकडाउनका कारण बसको ब्याट्री डाउन भएको र कतिपय बसको कन्डिशन बिग्रिएकाले मर्मत गरी साउन १ गतेबाट सञ्चालन गर्नेगरी तयारी गरेको साझाका कार्यकारी निर्देशक भूषण तुलाधरले बताए । ‘एकैपटक सबै बस सञ्चालन हुँदैनन्, हामी विभिन्न चरण बनाएर साउनभरिमा सबै बस सञ्चालन गर्नेगरी तयारी गरिरहेका र्छौं,’ उनले भने ।

यसैबीच महासंघ र तीनओटा यातायात सम्बद्ध मजदूर संगठनको शनिवार ललितपुरमा बसेको संयुक्त बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदूर संघका कार्यवाहक अध्यक्ष दीपक केसी छन् ।

महासंघका अध्यक्ष कर्माचार्यका अनुसार कार्यदलले सरकारसँग यातायात क्षेत्रका लागि राहत मागका साथ सुरक्षित रूपमा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि पनि प्रस्ताव राख्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)