ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना विपत्ति : प्रदेश १ का ४ हजार होटेलको १० अर्ब लगानी जोखिममा

२०७७ असार, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोभिड–१९ को ठूलो असर समग्र पर्यटन क्षेत्र र विशेषगरी होटेल व्यवसायमा पर्दा पूर्वाञ्चलका होटेलहरू क्रमशः बन्द हुन थालेका छन् । २ दशकभन्दा बढी समयदेखि विराटनगरमा सञ्चालित प्रदेश १ कै पुरानो र तीनतारे जेनियल होटेल बन्द भएको छ ।

कोरोना महामारीकै कारण प्रदेशका सबै तहका ४ हजार होटेलमा भएको १० अर्बको लगानी जोखिममा परेको होटेल व्यवसायीहरूको भनाइ छ ।

इस्टर्न स्टार होटेलका सञ्चालक तथा होटेल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष भवीश श्रेष्ठले ४ महीनादेखि विनाआम्दानी होटेलहरू बन्द भए पनि सरकारले यस क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउनेतर्फ कदम नचाल्दा सबै होटेलको अवस्था जेनियलको भन्दा पनि खराब रहेको बताए ।

उनका अनुसार जेनियल होटेल आफ्नै घरमा थियो । तर, अधिकांश होटेल भाडाको घरमा सञ्चालित छन् । होटेल बन्द भए पनि घरको भाडा, बैंकको ब्याज, कर्मचारीको तलबलगायतको भार अहिले होटेल सञ्चालकहरू माथि परेको छ । ‘न सरकार होटेल चलाउन दिन्छ न त राहत नै दिन्छ,’ श्रेष्ठले भने ।

होटेल व्यवसायी श्रेष्ठका अनुसार पर्यटक बस्नलायक होटेलहरू प्रदेश १ मा १ हजार छन् । साना तथा मझौला ३ हजार होटेल छन्, जसमा ६० हजार कामदार प्रत्यक्ष जोडिएका छन् । होटेल स्वागतका सञ्चालक एवं होटेल संघ नेपालका प्रदेश अध्यक्ष राजन श्रेष्ठ होटेलहरूको दुर्दिन शुरू भएको बताउँछन् । सरकारले पर्यटन क्षेत्रलाई बचाउने गरी कार्यक्रम नल्याएकोमा उनी असन्तुष्ट छन् ।

उनी भन्छन्, ‘सरकारले ५ प्रतिशत ब्याजदरमा दिने भनेको ऋणको समेत अहिलेसम्म अत्तोपत्तो छैन ।’

‘कोरोनाको सबैभन्दा बढी प्रभाव परेको अमेरिका र भारतमा समेत स्वास्थ्य सतर्कता र डब्ल्यूएचओको मापदण्डअनुरूप होटेलहरू खुलेका छन्,’ श्रेष्ठले भने, ‘नेपाल सरकार भने चुपचाप बसेकोमा आश्चर्य लागिरहेको छ ।’

असार १ बाट पूर्णरूपमा बन्द भएको ४८ कोठे होटेल जेनियल २२ वर्षअघि सञ्चालनमा आएको थियो । बन्दाबन्दीका कारण चैत ११ गतेदेखि होटेल बन्द रहे पनि मासिक १५ लाख रुपैयाँ सञ्चालन खर्च बेहोरिरहनु परेको सञ्चालक हरिभक्त सिटौलाले बताए । ‘कोरोना विपत्ति कम हुन एक डेढ वर्ष लाग्छ त्यति बेलासम्म धान्ने अवस्था रहेन, त्यसैले असार १ गतेबाट होटेल बन्द गर्ने निर्णयमा पुगेका हौं,’ उनले भने ।

होटेल विक्री गर्ने, भाडामा दिने वा कोरोना विपत्तिपछि सञ्चालन गर्ने भन्ने तीन विकल्पमा निर्णय गर्न बाँकी रहे पनि होटेल पूर्णरूपमा बन्द गरिएको सञ्चालक सिटौलाले बताए ।
इटहरी होटेल व्यवसायी संघका अध्यक्ष जीवन पराजुली सबै होटेल सञ्चालक सडकमा आउने अवस्था पुगेको बताउँछन् । असार मसान्तमा बैंकहरूले साँवा र ब्याज तिर्न ताकेता गरिरहेकाले अहिले सबै व्यवसायी मानसिक तनावमा छन् ।

इटहरीमा ४०० होटेल छन् । पूर्वमै पहिलो पाँचतारे होटेल बन्ने होडमा अगाडि रहेको होटेल गरिमा सञ्चालनको सम्पूर्ण तयारी पूरा गरेर पनि सञ्चालन हुन नसकेको पराजुलीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)