ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खिम्ती जलविद्युत् आयोजना : मिति पुग्यो, तर टुंगिएन स्वामित्व हस्तान्तरणको विषय

संयुक्त कम्पनी स्थापना हुन नै बाँकी, नयाँ पीपीए पनि अन्योलमा

२०७७ असार, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल सरकार र प्रवर्द्धक कम्पनी हिमाल पावर लिमिटेडको पूर्वसहमति अनुसार ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व शनिवार (असार २७) बाट नेपाल विद्युत् प्राधिकरणमा आउनुपर्ने थियो । तर, प्राधिकरण र हिमाल पावरबीच आयोजनाको स्वामित्व हस्तान्तरण बारेमा ठोस सहमति भइनसक्दा त्यसो हुन सकेन ।

खिम्तीको व्यावसायिक उत्पादन शुरू भएको २० वर्षपछि सो आयोजनाको ५० प्रतिशत शेयर विद्युत् प्राधिकरणमा हस्तान्तरण हुने सरकार र प्रवर्द्धक कम्पनीबीचको सम्झौतामा उल्लेख छ । शुक्रवार सो आयोजनाबाट विद्युत् उत्पादन भएको २० वर्ष पुग्यो ।

तर, कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण दुवै पक्षबीच शेयर हस्तान्तरणका बारेमा आवश्यक काम गर्न नसकिँदा विधिवत् रूपमा हस्तान्तरण हुन नसकेको हो ।

विदेशमा रहेका हिमाल पावर लिमिटेडका उच्च कर्मचारीहरू बन्दाबन्दीका कारण नेपाल आउन पाएका छैनन् । प्राधिकरण र उनीहरूबीच भर्चुअल्ली छलफल भए पनि हस्तान्तरणका बारेमा टुंगोमा पुग्न नसकेको प्राधिकरणले बताएको छ ।

बन्दाबन्दीका कारण प्राधिकरणले चैतयता नेपालमै गर्नुपर्ने काम पनि गर्न नसक्दा पूर्वनिर्धारित समयमै स्वामित्व हस्तान्तरणको प्रक्रिया पूरा हुन नसकेको ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले बताए ।

स्वामित्व हस्तान्तरणको प्रक्रियालाई टुंगोमा लगाउन प्राधिकरण र प्रवद्र्धक कम्पनी दुवैको स्वामित्व हुने गरी संयुक्त कम्पनी स्थापना गर्नुपर्ने थियो । तर, संयुक्त स्वामित्वको कम्पनी अझै पनि स्थापना हुन सकेको छैन । साथै, विद्युत् खरीदविक्री दर सम्झौता (पीपीए), आयोजनाको सञ्चालन, आयोजना सम्झौतालगायत विषयमा पनि नयाँ सम्झौतासमेत हुनुपर्ने थियो ।

यी विषयमा अझै दुई पक्षबीच सहमति भइनसकेको बताइएको छ ।

स्रोतका अनुसार अहिले पीपीएका विषयमा नै प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच सहमति हुनसकेको छैन । हिमाल पावरले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षात्मा ४ रुपैयाँ ८० पैसामा पीपीए गरिनुपर्ने माग राखेको छ । तर, प्राधिकरणले भने सधैंभरि एउटै दर हुने गरी न्यूनतम दरमा पीपीए गर्ने अडान राखेको छ ।

त्यस्तै, संयुक्त कम्पनीको सञ्चालक समितिको सम्बन्धमा पनि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी यी विषय अझै छलफलकै क्रममा रहेको बताउँछन् । यसका लागि ऊर्जा मन्त्रालयमा हालै एक संयुक्त सचिवस्तरीय समिति गठन गरिएको तथा सोही समितिले नै यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

प्राधिकरणले स्वामित्व हस्तान्तरणका लािग विभिन्न विषयमा चार समिति बनाएर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो । पीपीए, सम्पत्ति हस्तान्तरण समिति, वित्तीय विश्लेषण समितिलगायत विषयमा उक्त समितिहरूले तयार गरेको प्रतिवेदन प्राधिकरणको बोर्डबाट पारित भइसकेको छ ।

संयुक्त लगानी कम्पनी गठन र नयाँ पीपीए नभएसम्मका लागि भने खिम्तीको उत्पादन जारी राख्न अन्तरिम सम्झौता गरिएको छ । शनिवारदेखि नै आयोजना सञ्चालन, पीपीएलगायत विषयमा भएको म्याद सकिएको छ । त्यसैले अन्तरिम सम्झौता गरेर आयोजना सञ्चालन गर्न लागिएको हो । ‘यसअघि भएको पीपीए शनिवारदेखि नै समाप्त भएको छ । पीपीएलगायत विषयमा अहिले दुई पक्षबीच छलफल भइरहेको छ,’ प्राधिकरणका प्र्रवक्ता अधिकारीले भने ।

प्राधिकरणले यसअघि खिम्ती आयोजनासँग डलरमा पीपीए गरेको थियो । फलस्वरूप डलरको मूल्यमा आउने परिवर्तनका कारण प्राधिकरणले प्रतियुनिट २४ रुपैयाँसम्म कम्पनीलाई भुक्तानी गरेको थियो । यिनै कारणले खिम्ती आयोजना विवादितसमेत बनेको थियो । अब खिम्तीको पीपीए नेपाली रुपैयाँमा नै हुनेछ ।

हिमाल पावरले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको खिम्ती आयोजना नेपालमा निजीक्षेत्रको लगानीमा निर्माण गरिएको पहिलो जलविद्युत् आयोजना हो । यसमा बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको लगानी छ । प्रवद्र्धक कम्पनीसँगको सम्झौताअनुसार अबको ३० वर्षपछि सो आयोजनाको शतप्रतिशत स्वामित्व प्राधिकरणको नै हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)